रुटः जसले रन बनाए, जित हात पारे तर उपलब्धि छाँयामा
काठमाडौँ – रन पनि बनाए, प्रसिद्ध जित पनि हात पारे, तर चिरप्रतिद्धन्दी अष्ट्रेलियाविरुद्धको लज्जास्पद हारका कारण उनको उपलब्धि भने छाँयामा पर्ने देखिन्छ । उनी हुन् इंग्ल्यान्डका पूर्व टेष्ट कप्तान जोए रुट ।
रुटले गत शुक्रबार इंग्ल्यान्डको टेष्ट क्रिकेट टिमको कप्तानबाट राजिनामा दिए । कप्तानको जिम्मेवारीले ठूलो असर गरेको भन्दै रुटले कप्तानी छाडेका थिए । जबकी केही समय अघि भने उनले कप्तान बनिराख्ने धारणा व्यक्त गरेका थिए ।
खासमा सन् २०१७ मा कप्तानको भूमिकामा आएका तथा विभिन्न सफलता तथा असफलता हात पारेका रुटको विरासतबारे विश्लेषण गर्नु त्यति सजिलो काम भने होइन् ।
रुट इंग्ल्यान्डका लागि टेष्टमा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा पर्छन् । साथै कप्तानको रुपमा टेष्ट क्रिकेटमा सबै भन्दा बढी ५ हजार २ सय ९५ रन बनाएका छन् ।
रुटले कप्तानको रुपमा इंग्ल्यान्डका लागि सबै भन्दा बढी २७ टेष्ट खेल जितेका छन् तर सबै भन्दा बढी २६ टेष्ट खेलमा पराजय पनि भोगेका छन् । ती सबै पराजयमध्ये इंग्ल्यान्डका लागि हालसालै अष्ट्रेलियाविरुद्धको ५ खेलको टेष्ट सिरिजमा भोगेको ४–० को पराजयले समग्र इंल्यान्डलाई नै लज्जित बनाएको थियो ।
एलेस्टर कुकको स्थानमा कप्तानी गर्न आएका रुटले सुरुवातमै सफलता हात पारेका थिए । उनले कप्तानी गरेको पहिलो खेलमै २०१७ मा लड्र्स मैदानमा दक्षिण अफ्रिकाविरुद्ध १ सय ९० रन बनाए । इंग्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको टेष्ट ३–१ ले जित्यो । उनले सिरिजमा ४ सय ६१ रन समेत जोडे जुन सिरिजका लागि सर्वाधिक रन थियो ।
तर उनको त्यो सफलता भने लामो समय टिकेन् किनभने २०१७–१८ मा इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको एसेस टेष्ट सिरिज ४–० ले हार्न पुग्यो । त्यसपछि न्यूजिल्यान्डविरुद्धको टेष्ट सिरिज समेत हार्न पुग्यो ।
सन् २०१८ मा टेष्ट नम्बर १ रहेको भारतलाई ४–१ ले पराजित गरेर रुट पुन लयमा फर्किए र लगतै श्रीलंकाविरुद्धको टेष्ट सिरिज क्लिनस्विप गरे । केही समयपछि नै इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको सिरिज हार्यो ।
रुट कप्तान बन्नु अघि इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको एसेस सिरिज ५ पटक जितेको थियो । तर रुटको कप्तानीमा तीन टेष्ट सिरिज अन्तर्गत १५ खेलमध्ये केवल २ खेल मात्र जित्यो । अन्तिम पटक एसेस सिरिजको नजिताले भने रुटलाई असफल कप्तानको रुपमा व्याख्या गरियो ।
एजेन्सीकाे सहयाेगमा ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया