चेल्सीले वेम्बलीमा फाइनल जित्ने समय आएको माउन्टको भनाई
काठमाडौँ – चेल्सीका मिडफिल्डर मासोन माउन्टले वेम्बली स्टेडियममा ठूला प्रतियोगिताको फाइनलमा भोग्नु परेको पराजयको सिलसिलालाई तोड्न टिमका सदस्यहरुसँग आह्वान गरेका छन् । माउन्टले अर्को महिना एफए कपको फाइनलमा लिभरपुलविरुद्ध खेल्दा उसँग लिग कपमा ब्योहोरेको पराजयको बदला लिन समेत आह्वान गरेका छन् ।
क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै चेल्सी लगातार तेस्रो पटक एफए कपको फाइनलमा प्रवेश गरेको हो । चेल्सीलाई जित दिलाउन माउन्टले एक गोल गरेका थिए ।
सन् २०१८ मा म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै एफए कपको उपाधि जितेको चेल्सी भने त्यसपछि दुई पटक फाइनलमा लेस्टर सिटी र आर्सनलसँग पराजित हुन पुग्यो ।
त्यसैगरी फेब्रुअरीमा भएको लिग कपको फाइनलमा चेल्सीले लिभरपुलविरुद्ध पराजय भोगेको थियो । यस अघि सन् २०१९ को लिग कपको फाइनलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई पराजित गरेको थियो ।
२३ वर्षीय माउन्टले आफ्ना लागि वेम्बलीमा ५ औं फाइनल भएको तथा आफूले ५ वटै फाइनलमा पराजय भोगेको बताउदै अहिलेको समय वेम्बलीमा उपाधि जित्ने रहेको जनाए । इंग्ल्यान्ड राष्ट्रिय टिमका खेलाडी समेत रहेको माउन्टले २०२० युरो कपको फाइनलमा इटालीविरुद्ध पराजय भोगेका थिए ।
मे १४ तारिखमा चेल्सी र लिभरपुल एफए कपको फाइनल खेल्दै एकै सिजनमा एफए कप र लिग कपको फाइनल खेल्ने १९९२–९३ पछि पहिलो दुई टिम हुनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया