खेलकुद

मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप : एपीएफ फाइनलमा

इकागज |
बैशाख ७, २०७९ बुधबार २१:६ बजे

धनगढी – विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ  

बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्बलाई हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो । 


एपीएफले आर्मीलाई ३–२ ले हराउँदै फाईनलको यात्रा तय गर्न सफल रह्यो । एपीएफलाई उपाधि नजिक पुराउन सरु लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक/एक गोल गरेपनि हारबाट बचाउन सकेन ।

एपीएफका लागि सरुले पहिलो हाफको २३ औं मिनेटमा पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन् । त्यसको ११ मिनेटपछि खेलको ३४ औं मिनेटमा सरुले नै व्यक्तीगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाइन् । पहिलो हाफमा २–० ले अगाडी रहेको एपिएफले दोस्रो हाफमा गोल थप्यो । 

खेलको ७१ औं मिनेटमा सावित्राले गोल गर्दै अग्रता तेब्बर बनाइन् । खेलको ८७ औं मिनेटमा आर्मीका लागि सपना लामाले गोल गर्दै अग्रता घटाइन् । अतिरिक्त समयको ९२ औं मिनेटमा आर्मीका लागि हेमा चौधरीले अर्को गोल गर्दै गोल अन्तरलाई एकमा झारिन्  । 

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी एपीएफकी सरु लिम्बु प्लेयर अफ द म्याच भइन् । उनले नगद ५ हजार सहित ट्रफी पाइन् । 

वनदेवी युवा क्लबको आयोजनमा भइरहेको प्रतियोगिता अन्तर्गत विहीबार दोस्रो सेमिफाईनल खेल आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लबबीच हुने छ ।


Author

थप समाचार
x