राष्ट्रिय बक्सिङः भूपेन्द्र र पुरन फाइनलमा
काठमाडौं – नेपाल पुलिस क्लबका भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बसन्तपुर डबलीमा शुक्रबार भएको पुरुष ६३ केजी तौल समूहको फाइनलमा एपीएफका सोनम सार्कीलाई पराजित गर्दै भूपेन्द्रले फाइनलमा स्थान बनाएका हुन् । उनी १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी हुन् । यही तौल समूहमा त्रिभुवन आर्मी क्लबका पुरन सुनारले लुम्बिनी प्रदेशका अनिल पुन मगरलाई हराउँदै भूपेन्द्रसँगको उपाधि भिडन्त पक्का गरे ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरी र एपीएफका प्रदीप महर्जनले फाइनलमा स्थान बनाए । प्रेमले पुलिसका चन्द्रबहादुर थापा र प्रदीपले मधेस प्रदेशका मदनकृष्ण डंगोलले पाखा लगाए । पुरुषकै ५७ केजीमा आर्मीका इन्द्र सुनारले पुलिसका शम्भु राजवंशी र एपीएफका पुरन राईले गण्डकी प्रदेशका सौगात कुमाललाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।
पुरुषकै ६९ केजी तौल समूहमा पुलिसका सनिल शाही र आर्मीका दनबहादुर दर्लामीले उपाधि भिडन्त पक्का गरे । १३औं सागका स्वर्ण विजेता सनिलले सुदूरपश्चिम प्रदेशका भरत चन्द र दनबहादुरले बागमती प्रदेशका शिरिस खनाललाई पराजित गरे । पुरुषको ७५ केजीमा आर्मीका दीपेश लामाले मधेस प्रदेशका कोशिश श्रेष्ठ र प्रदेश १ का सनम गुरुङले कर्णाली प्रदेशका दिल राज भण्डारीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।
८१ क्ेजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठ र सुदूरपश्चिमका श्यामबहादुर महताले उपाधि भिडन्त पक्का गरे । दीपकले प्रदेश १ का प्रसाङ लिम्बू र श्यामले बागमती प्रदेशका रोशन स्याङ्तानलाई पराजित गरे । पुरषकै ९१ केजी तौल समूहमा एपीएफका रविन नेपाल र आर्मीका गणेश प्रधानले उपाधि भिडन्त पक्का गरे । रविनले गण्डकी प्रदेशका किरण विक र गणेशले प्रदेश १ का प्रसिश रुचाललाई स्तब्ध बनाए ।
महिलाको ५१ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्मा र आर्मीकी मीनु गुरुङले उपाधि भिडन्त पक्का गरे । दिवानाले एपीएफकी सञ्जुमाया थिङ र मीनुले लुम्बिनी प्रदेशकी माया खत्रीलाई पराजित गरे । महिलाकै ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी नङ्जा बुढामगर र पुलिसकी निशा तामाङले प्रदेश १ की सुस्मिता राईलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरे ।
महिलाकै ६० केजीमा आर्मीकी संगीता दंगाल र एपीएफकी संगीता सुनारले फाइनलमा स्थान बनाए । दंगालले बागमती प्रदेशकी शशीकला राई र सुनारले प्रदेश १ की नारिका राई पराजित गरे । महिला ६९ केजी तौल समूहमा एपीएफकी विनिता थापा मगरले लुम्बिनी प्रदेशकी जुनमाया थारु र आर्मीकी पुनम रावलले मधेशस प्रदेशकी अपराजिता गोतानीलाई हराउँदै फाइनलमा स्थान बनाए । महिलाकै ७५ केजी तौल समूहमा एपीएफकी सरस्वती राना र आर्मीकी निरु गुरुङ फाइनलमा पुगे । सरस्वतीले मधेस प्रदेशकी पूजा गुप्ता र निरुले प्रदेश १ की त्रिशा लिम्बूलाई पराजित गरे ।
प्रतियोगितामा पुरुषतर्फ ७ र महिलामा ५ गरी १२ स्पर्धा समावेश छन् । सातै प्रदेश र तीन विभागीय टोली आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडीकोे सहभागिता रहेको छ । प्रत्येक स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुने २ खेलाडीले समान ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया