खेलकुद

पन्तको खेल भावनाविपरीत कार्य

इकागज |
बैशाख १०, २०७९ शनिबार १०:३६ बजे

काठमाडौँ – राजस्थान रोयल्सले दिल्ली क्यापिट्ल्समाथि १५ रनको जित हात पार्दा जोस बटलरले शतकीय पारी खेले । इंग्ल्याण्डका ब्याट्सम्यान बटलरले ६५ बलमा १ सय १६ रन जोड्दा उनी चर्चाको शिखरमा पुगे ।

तर अर्कोतर्फ दिल्लीका कप्तान रिषभ पन्तले भने खेलको अन्तिम समयमा भने आफ्नो आवेगलाई रोक्न सकेनन् ।


पन्तले मैदानमा रहेका अम्पायरहरूले कम्मरभन्दा माथि फालिएको बल जाँच नगरेको भन्दै रिसाए । स्पष्ट रूपमा निराश देखिएका पन्तले आफ्ना ब्याट्सम्यानहरूलाई बाहिर आउन इशारा गरे, जबकि सहायक प्रशिक्षक शेन वाटसनले मध्यस्थता गर्ने प्रयास गरेका थिए ।

अझ दिल्लीका एक प्रशिक्षक प्रवीण अमरे खेल मैदानमा गए तर मैदानमा रहेका अम्पायरहरूले उनलाई फिर्ता जान भनेका थिए ।

केभिन पिटरसनले पन्तको व्यवहार स्वीकार्य नभएको बताए । इंग्ल्याण्डका पूर्व ब्याट्सम्यान पिटरसनले प्रशिक्षक रिक्की पोन्टिङ भएको भए यस्तो अवस्था नआउने दाबी गरे ।

बटलर र पन्तबीच पनि कुराकानी भएको देखिएको थियो ।

परिवारका एक जनालाई कोभिड भएपछि पोन्टिङ खेलका लागि आएका थिएनन् ।

यता भारतका पूर्व कप्तान मोहम्मद अजरुदिनले पनि पन्तको कार्य खेल भावनाविपरीत भएको प्रतिक्रिया दिए ।

 


Author

थप समाचार
x