खेलकुद

एसियाडका लागि खेलाडीको अन्तिम सूची जुन अन्तिम साता पठाइने

इकागज |
बैशाख १०, २०७९ शनिबार १६:४४ बजे

काठमाडौँ -  नेपाल ओलम्पिक कमिटी (एनओसी ) ले १९ औँ एसियन गेम्स (एसियाड) का लागि नेपाली खेलाडीको अन्तिम सूची जुन महिनाको अन्तिम साता पठाउने भएको छ ।

चीनको हाङचोउमा सेप्टेम्बर १० देखि २५ तारिखसम्म आयोजना हुने एसियन गेम्सका लागि नेपालले खेलाडीको अन्तिम नामावली जुन अन्तिम साता पठाउने एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठले बताए ।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले नेपालले १९ औँ एसियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्ने टुङ्गो लगाइसकेको छ ।

नेपालले एसियन गेम्समा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, भलिबल महिला, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसतर्फ सहभागिता जनाउने छ ।

तर अन्तिम नामावली पठाउनु भन्दा पहिले यसका लागि मे महिनाको पहिलो सातासम्म खेलाडीको दर्ता भने गरिसक्नु पर्नेछ । श्रेष्ठका अनुसार मे पहिलो साता खेलाडीको लामो सूची एसियन गेम्सका लागि पठाइने छ ।

जसमा एउटा खेलबाट व्यक्तिगत प्रतिस्पर्धामा छनोटबाट एक खेलाडी पठाउनुपर्ने स्थानमा उत्कृष्ट रहेका ४ पुरुष र ४ महिला खेलाडीको नाम पठाइने छ । यसका लागि खेलसंस्थाहरूले अबको केही दिनभित्रै खेलाडी छनोट गरिसक्नु पर्ने हुन्छ ।


Author

थप समाचार
x