खेलकुद

बेटिसलाई कोपा डेल रेको उपाधि

इकागज |
बैशाख ११, २०७९ आइतबार ११:८ बजे

काठमाडौँ – रियल बेटिसले कोपा डेल रे फुटबलको उपाधि जितेको छ । भ्यालेन्सियालाई पेनाल्टीमा पराजित गर्दै बेटिसले २००५ पछि पहिलो पटक कोपा डेल रे को उपाधि हात पारेको हो ।

निर्धारित तथा अतिरिक्त समयमा दुबै टोली १-१ को बराबरीमा रोकिएपछि खेलको विजेता पेनाल्टी सुटआउटबाट निर्धारण गरिएको थियो । बोर्जा इगलेसियासले खेलको ११ औं मिनेटमा बेटिसलाई अग्रता दिलाएका थिए । तर भ्यालेन्सियाका ह्युरो ड्युरोले ३० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।


पेनाल्टीमा बेटिसका ५ खेलाडीले गोल गर्दा भ्यालेन्सियाका ४ खेलाडीले मात्र गोल गर्न सके । भ्यालेन्सियाका युनुस मुसाहले गोल गर्न नसक्दा बेटिसका जुआन मिरान्डाले विजयी गोल गरेका थिए ।

बेटिसका लागि यो चौथो मुख्य उपाधि हो । यस अघि उसले सन् १९३४-३५ मा ला लिगा र सन् १९७७ र २००५ मा स्पेनिस कपको उपाधि हात पारेको थियो । सन् २०१० पछि पहिलो पटक कोपा डेल रे को फाइनलमा बार्सिलोना वा रियल म्याड्रिड रहेका थिएनन ।


Author

थप समाचार
x