मिलन स्मृति राष्ट्रिय टेबलटेनिस जेठ ७ बाट
काठमाडौं – पूर्व राष्ट्रिय टेबलटेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता जेठ ७ देखि ९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । आयोजक स्पिन इभेन्ट्स प्रालिले काठमाडौमा आईतबार पत्रकार सम्मेलन गरी प्रतियागिताबारे जानकारी गराएको हो ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, आर्मी, एपीएफ, विभिन्न जिल्ला तथा क्लबका करिब ४ सय खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्स (१८ वर्ष मुनी) , जुनियर गर्ल्स सिंगल्स (१८ वर्ष मुनी), क्याडेट ब्वाइज सिंगल्स (१५ वर्ष मुनी), क्याडेट गर्ल्स सिंगल्स (१५ वर्ष मुनी), ब्वाइज सिंगल्स (१२ वर्ष मुनि), गर्ल्स सिंगल्स (१२ वर्ष मुनि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि) गरेर ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
जुनियर ब्वाइज र गर्ल्स तथा क्याडेट ब्वाइज र गर्ल्सको विजेताले २० हजार, दोस्रो हुनेले १० हजार र सेमिफाइनलमा पराजित हुनेले ५ हजार पाउने छन् । १२ वर्ष मुनि ब्वाइज र गर्ल्स सिंगल्स तथा भेट्रानतर्फको विजेताले १० हजार, दोस्रोले ५ हजार र सेमिफाइनल पराजित हुनेले २ हजार ५ सय पाउने छन् ।
प्रतियोगितालाई अमेरिकामा व्यवसाय गर्दै आएका पुर्व खेलाडी सर्बन चिपालुले मुख्य प्रायोजन गर्ने स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्यले बताए । प्रतियोगितालाई अखिल नेपाल टेबल टेनिस संघले प्राविधिक सहयोग गर्ने संघका अध्यक्ष चतुरानन्द राजवैद्यले बताए । उनले प्रतियोगिता खेलाडी पहिचान गर्ने माध्यम पनि हुने जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया