खेलकुद

प्रिमियर लिगमा रोनाल्डोको १०० गोल पूरा, कुन क्लबविरुद्ध कति गोल ?

इकागज |
बैशाख ११, २०७९ आइतबार १७:४६ बजे

काठमाडौँ – पोर्चुगिज स्टार फुटबलर तथा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इंग्लीस प्रिमियर लिगमा एक सय गोल पुरा गरेका छन् ।

लिग अन्तर्गत शनिबार म्यानचेस्टरले आर्सनलविरुद्ध ३-१ ले पराजय भोग्दा रोनाल्डोले एक गोल गरे जुन उनको प्रिमियर लिगमा १०० गोल हो । युनाइटेडमा आएसँगै रोनाल्डोको भविष्यको बारेमा चर्चा परिचर्चा चल्नुका साथै उनले यो उपलब्धि हात पार्नेमा धेरैले आशंका व्यक्त गरेका थिए ।


तर ३७ वर्षीय रोनाल्डोले आफ्ना आलोचकहरुलाई गतिलो जवाफ दिए । उनले २ सय २३ लिग खेल खेल्दै एक सय गोल पुरा गरे । यसको अर्थ करिब करिब प्रत्येक दुई खेलमा एक गोल गर्न सफल भएका छन् ।

यस मध्ये ८४ गोल यस अघि स्पेनिस क्लब रियल म्याड्रिडमा जानु अघि गरेका थिए । १६ गोल भने दोस्रो पटक युनाइटेडमा आएपछि गरेका हुन् ।

रोनाल्डोले एस्टन भिल्ला र टोटनहमविरुद्ध समान ८-८ गोल, अर्सनल, फुलह्याम र न्युकासलविरुद्ध समान ७-७ गोल, बोल्टन, पोर्टसमाउथ, वेस्टह्याम र विगानविरुद्ध समान ६-६ गोल तथा एभर्टनविरुद्ध ४ गोल गरेका छन् ।

रोनाल्डोले हालसम्म ६० ह्याट्रिक समेत गरेका छन् । उनले रियल म्याड्रिडका लागि ४४, पोर्चुगलका लागि १० तथा युनाइटेड र युभेन्टसका लागि समान ३-३ ह्याट्रिक पुरा गरेका छन् ।


Author

थप समाचार
x