खेलकुद

हालान्डलाई नयाँ अग्वेरो बनाउने सिटीको चाहना

इकागज |
चैत १२, २०७७ बिहीबार ६:३७ बजे

काठमाडौँ : म्यानचेस्टर सिटीको इतिहासमा सर्जियो अग्वेरोले जति गोल कसैले गरेको छैन । अर्जेन्टिनाका फरवार्ड अग्वेरोले सिटीको जर्सीमा तीन सय ८४ खेल खेल्दा दुई सय ५७ गोल गरेका छन् । क्लबको उच्च गोलकर्ता भएपनि अग्वेरो अब सिटीको प्रमुख स्ट्राइकर रहेनन् ।

अग्वेरो ३२ वर्षका भए । प्रिमियर लिगमा उनको यो अन्तिम सिजन हुनसक्छ । किनभने सिटीसँगको उनको सम्झौँता आउँदो जुन ३० मा सकिँदैछ । सिटीले उनलाई नयाँ सम्झौता प्रस्ताव गरेको छैन । त्यसकारण उनको बर्हिगमनको मिति नजिकिँदै गर्दा, प्रशिक्षक पेप ग्वार्डिओला नयाँ स्ट्राइकरको खोजीमा छन् । जसले अग्वेरोले जस्तै निरन्तर गोल गर्न सकोस । 


युरोपियन क्लब फुटबलमा औँलामा गन्‍न सकिने स्ट्राइकर छन्, जसले अग्वेरोले सिटीमा त्याग्ने जिम्मेवारी बहन गर्न सक्छ । त्यस किसिमको प्रतिभा भएका केही खेलाडीमा एर्लिङ हालान्ड पनि एक हुन् । जो हाल बोरुसिया डर्टमन्डमा छन् । उनले अगामी सरुवा बजारमा युरोपको अर्को ठूलो क्लब रोज्ने अनुमान गरिएको छ । जर्मनीको डर्टमन्ड, स्टार बेच्ने क्लब हो । त्यसकारण डर्टमन्डलाई हालान्ड बेच्न कुनै आपत्ति छैन । तर हालान्डको उचित मूल्य आएमा मात्रै । 

जर्मन अखबारहरूको खबर पत्याउने हो भने, नर्वेजियन युवा स्ट्राइकरको मूल्य हो १० करोड पाउण्ड । सिटीका लागि हालान्ड जस्ता खेलाडीका लागि उल्लेखित रकम खर्च गर्न समस्या छैन । त्यसो भए समस्या के त ? प्रतिस्पर्धा । त्यो पनि अर्को धनी क्लब रियल म्याड्रिडबाट । अनि उता इंगल्यान्डकै अर्को धनी क्लब चेल्सीले पनि हालान्ड खरिद गर्ने इच्छा देखाएको छ । त्यसैले सिटीका लागि हालान्ड प्राप्तीको बाटो कठिन छ । अर्को वाक्यमा भन्दा, २० वर्षिय स्ट्राइकर अनुबन्ध गर्न युरोपका तीन धनी क्लब भिड्नेछन् । 

डर्टमन्ड बुन्डेसलिगाको उपाधि दौडमा छैन । शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना पूरै नसकिए पनि उ सहज अवस्थामा छैन । त्यसमाथि कोरोना-१९ ले ल्याएको आर्थिक समस्याले डर्टमन्ड जेलिएको छ । अनि हालान्ड आफैँ पनि ठूलो क्लबको प्रस्तावप्रति लालयित हुने सम्भावना नकार्न सकिने अवस्था छैन । 

त्यसो त डर्टमन्डले हालान्डलाई प्रतिस्थापन गर्न सक्ने खेलाडीको खोजी सुरु गरिसकेको छैन । समर्थक निराश नहुन भनेर डर्टमन्डले हालान्डलाई बेच्ने घोषणा नगरिसकेको हो । तर आउँदो सरुवा बजारमा सिटी र रियलले प्रस्ताव राखेमा डर्टमन्डसँग विकल्प हुनेछैन ।

अग्वेरो ३२ वर्षका भए । प्रिमियर लिगमा उनको यो अन्तिम सिजन हुनसक्छ । किनभने सिटीसँगको अग्वेरोको सम्झौँता आउँदो जुन ३० मा सकिँदैछ । सिटीले उनलाई नयाँ सम्झौता प्रस्ताव गरेको छैन ।

फेरि अग्वेरोतर्फ फर्किउ । अग्वेरोले सिटीका लागि १० सिजन खेल्दा क्लबलाई चार पटक लिग जित्न मद्दत गरेका छन् । चोट र कोभिड-१९ संक्रमणका कारण यस सिजन धेरै खेल गुमाए पनि उनको प्रतिभामाथि शंका गर्ने ठाउँ छैन । इंग्लिस प्रिमियर लिगका पछिल्ला आठ खेलमध्ये पाँचमा उनी बेन्चमै रहे । गत साता फुलहमसँगको खेलमा भने उनी सुरुवाती एघारमा परे । एक गोल पनि गरे । फुलहमविरुद्धको गोलले अग्वेरो अझैँ पनि उच्च स्तरको लिगमा खेल्न सक्षम छन् भन्‍ने सन्देश दिएको छ ।  

अग्वेरो बाहेक अर्का खेलाडीले पनि यस पटक सिटी छाड्न सक्छन् । ती हुन, रियाद माहरेज । अल्जेरियाका माहरेज सन् २०१८ मा सिटी आइपुगेका हुन् । लेस्टर सिटीमा प्रिमियर लिग जितेका माहरेजले सिटीमा अर्को लिग पदक थपे । यस सिजन २३ लिग खेलमा नौ गोल गरेका माहरेज सिटी छाड्न चाहन्छन् भन्‍ने बखर बेलायती अखबारहरूले लेखेका छन् । 

माहरेजको सिटीसँगको सम्झौता जुन, २०२३ मा सकिँदैछ । सिटीले माहरेजलाई नयाँ सम्झौताको प्रस्ताव गरेको छ । तर ३० वर्षिय विङ्गरले सिटीलाई कुनै जवाफ दिएका छैनन् । एकैपटक दुई स्थापित खेलाडीले क्लब छाड्दा टिममा कस्तो असर पर्छ भन्‍ने विषयमा सिटी अन्जान छैन । तर कतिपय अवस्थामा क्लबले हार मान्‍नुपर्ने अवस्था पनि आउँछ । 

उता टोटनहम पनि आफ्ना मुख्य खेलाडीमध्येका एकले क्लब छाड्ने घोषणा गरेकाले चिन्तामा छ । सन् २०१२ मा टोटनहम आएका गोलरक्षक ह्युगो लोरिसले लन्डन क्लब छाड्ने निर्णय गरिसकेका छन् । प्रिमियर लिगमा संर्घष गरिरहेको टोटनहम युरोपा लिगबाट पनि बाहिरिसकेको छ । यस्तोमा क्लब कप्तानले गरेको निर्णयले टोटनहम पक्कै पनि खुशी छैन ।   

लोरिस लियोनबाट टोटनहम आएका हुन् । तर उनी लियोन भन्दा अगाडि निसमा थिए । जहाँबाट उनको करियर सुरुवात भएको थियो । लोरिस फ्रि-एजेन्टका रुपमा निस फर्कन चाहन्छन् । निसले फ्रेन्च लिग वानमा औसत प्रदर्शन मात्रै गर्न सकेको छ । लोरिस जस्ता अनुभवी खेलाडी टिममा भए निसले लिग स्थानमा सुधार गर्नसक्ने अपेक्षा फ्रेन्च क्लब प्रशासनको छ । त्यसो त लोरिसलाई पनि घर फर्केर करियर समापन गर्ने इच्छा छ ।


Author

थप समाचार
x