खेलकुद

विवादै विवादले घेरिएका अलमुताइरी

इकागज |
बैशाख १६, २०७९ शुक्रबार १४:३७ बजे

२०७७ चैतमा नेपाल राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा नियुक्त भएपछि अब्दुल्लाहअलमुताइरीको एउटै नारा थियो 'वान टिम, जय नेपाल ।' तर उनी एकपछि अर्को विवादमा लागिरहे । 

प्रशिक्षक नियुक्त भएको चार महिना नबित्दै गत वर्ष साउन १० मा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरे । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरीष्ठ उपाध्यक्ष पंकज नेमवाङका कारण राजीनामा दिन बाध्य भएको दावी गरे । 


उक्त विवाद राष्ट्रिय खेलकुद परिषद र खेलकुद मन्त्रालय हुँदै छानविन समिति गठन र प्रतिवेदन सार्वजनिक गर्ने काम भए तर दोषी कोही देखिएनन् । अलमुताइरीले राजीनामा पनि दिएनन् । 

त्यो कुनै आधारविना आफूमाथि लगाइएको आरोप रहेको तथा छानविन समितिले पनि उक्त कुरा देखाएको नेमवाङले बताउँछन् । 

त्यसपछि नेपालले गत असोजमा माल्दिभ्समा भएको साफ च्याम्पियनशीपको फाइनल खेल्नुअघि अलमुताइरीले राजीनामा दिने घोषणा गरे । त्यतिमात्र होइन उनले नाम उल्लेख नगरे पनि केही नेपाली खेलकुद पत्रकारले आफूलाई बदनाम गरेर पैसा कमाइरहेको आरोप समेत लगाए । 

तर एन्फाले उनको करार अवधि बढाएर सन् २०२४ सम्मका लागि पुर्यायो । अलमुताइरी पनि खुसी खुसी नेपाली आए । 

नेपाल आएपछि सहिद स्मारक ए डिभिजन लिग चलिरहँदा उनीमाथि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई घाइते हुनेगरी लिगमा नखेल्न दवाब दिएको आरोप लाग्यो । क्लबका प्रशिक्षक र व्यवस्थापकले यसबारे एन्फामै गुनासो गरे । 

लगतै अलमुताइरीले अर्को विवादित अभिव्यक्ति दिदै आफू मैदानमा गएर लिग नहेर्ने तथा टिभीमै हेर्ने जनाए । 

कुनै समय आत्मसमर्पण विकल्प नभएको तथा लड्नु वा मर्नु नै उत्तम हुने अभिव्यक्ति दिएका उनै अलमुताइरीले भने केही दिनअघि पराजित मानसिकता अनुसारको अभिव्यक्ति दिन भ्याए । 

एएफसी एसियन कपको तेस्रो चरणको छनोटका लागि यही वैशाख २ बाट बन्द प्रशिक्षण सुरु भएलगतै आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले नेपाल एसियन कपमा छनोट हुन नसक्ने ठोकुवा गरे । 

बन्द प्रशिक्षणका दौरान अलमुताइरीले केही खेलाडीसँग पत्रकारले प्रश्न सोध्न पाउने भन्दै खेलाडी र पत्रकारलाई केही समय छुट्याए तर पत्रकारको प्रश्न नसक्दै तथा खेलाडीहरुले बोल्न नपाउदै अलमुताइरीले खेलाडीहरुलाई लिएर गए । पत्रकार र खेलाडी दुबै आश्चर्यचकित भए । 

जुनसुकै खेल अगाडी खेल हारे त्यसमा खेलाडीको दोष नहुने तथा त्यसको जिम्मेवारी आफूले लिने बताउने अलमुताइरीले भने यस पटक खेलाडीहरुमाथि नै धावा बोल्दै उनीहरुलाई बन्द प्रशिक्षण नै छाड्न बाध्य बनाए । एन्फा नेतृत्वले समाधान गर्नुपर्ने विषयमा अलमुताइरीले आफै निर्णय लिए । 

खेलाडीहरुले बन्द प्रशिक्षणका लागि व्यवस्थापन राम्रो नभएको गुनासो गरेपछि उनी खेलाडीहरुमाथि नै जाइलागेको खेलाडीहरुले बताइरहेका छन् । 

यता एन्फका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ पनि खेलाडीको माग जायज रहेको स्वीकार गर्छन् । 

'होस्टेलमा पानी र खानाको उचित व्यवस्थापन नभएको भन्दै खेलाडीले गरेको माग जायज थियो र उक्त कुरा खेलाडीहरुले प्रशिक्षक र टिम व्यवस्थापकसँगै राख्ने हो । तथा उक्त कुरा प्रशिक्षक र टिम व्यवस्थापकले एन्फा नेतृत्वसँग राख्नु पर्थो । तर नेतृत्वसँग कुरा नगरेर खेलाडलाई जाउ भन्नु खेलाडीका लागि अन्याय भएको हो,' एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेमवाङ बताउछन् । उनले एन्फाले यस विवादको समाधान निकाल्नु पर्ने समेत जनाए । 

यति हुँदाहुँदै पनि विवाद समाधान नगरि अलमुताइरी निर्धक बन्द प्रशिक्षण गराइरहेका छन् ।
 


Author

थप समाचार
x