खेलकुद

विवाद समाधानका लागि एन्फा कार्यसमिति बैठक माग

इकागज |
बैशाख १६, २०७९ शुक्रबार १६:१८ बजे

काठमाडौँ -  नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक र खेलाडीबीच देखिएको विवादका सम्बन्धमा छलफलका लागि अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङसहित ४ जनाले एन्फा कार्यसमितिको बैठकको माग गरेका छन् ।

प्रशिक्षक अब्लुल्लाह अलमुताइरी र टिमबाट बिहिरिएका खेलाडीको विवाद समाधानका लागि शुक्रबार नेम्वाङसहित उपाध्यक्ष कृष्ण बहादुर थापा, उपाध्यक्ष वीर बहादुर खड्का र कार्यसमिति सदस्य दावा लामाले संयुक्त रुपमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग बैठक राख्न माग गरेका हुन् ।


'एसियन कप छनोट चरणको तयारीमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीहरु र मुख्य प्रशिक्षक बीच उत्पन्न विवाद अत्यन्त संवेदनशील भएकोले तत्काल बैठक बसी निर्णय गर्नुपर्ने भएको हुँदा अखिल नेपाल फुटबल संघको केन्द्रिय कार्यसमित बैठक यथाशिघ्र बस्नका लागि अनुरोध गर्दैछौं,' पत्रमा लेखिएको छ ।

एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले राम्रो सुविधाको माग गरेपछि अलमुताइरीले खेलाडीहरुलाई प्रशिक्षण छाडेर जान दवाव दिएका थिए । 
यता एन्फका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ खेलाडीको माग जायज रहेको इकागजलाई बताए । 

'होस्टेलमा पानी र खानाको उचित व्यवस्थापन नभएको भन्दै खेलाडीले गरेको माग जायज थियो र उक्त कुरा खेलाडीहरुले प्रशिक्षक र टिम व्यवस्थापकसँगै राख्ने हो । तथा उक्त कुरा प्रशिक्षक र टिम व्यवस्थापकले एन्फा नेतृत्वसँग राख्नु पर्थो । तर नेतृत्वसँग कुरा नगरेर खेलाडलाई जाउ भन्नु खेलाडीका लागि अन्याय भएको हो,' एन्फका वरिष्ठ उपाध्यक्ष पंकज नेमवाङले बताए । 

उनले एन्फाले यस विवादको समाधान निकाल्नु पर्ने समेत जनाए । 
 


Author

थप समाचार
x