खेलकुद

खेलाडीलाई खेल्न योग्य वातावरण बनाउन पूर्व कप्तान अनिलको आग्रह

इकागज |
बैशाख १७, २०७९ शनिबार ११:२५ बजे

काठमाडौँ –  नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले नेपाली फुटबल खेलाडीलाई खेल्न योग्य वातावरण बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडीबीच जारी  विवादको बारेमा अवगत रहेको भन्दै अनिलले विवाद छिटो भन्दा छिटो सुल्झाइ खेलाडीलाई खेल्न योग्य वातावरण बनाउन अनुरोध गरेका हुन् ।


'अब्दुल्लाह अलमुताइरी एक अब्बल प्रशिक्षक हुनुहुन्छ, यो विषयमा सायदै दुई मत होला । तर देशको इज्जत र प्रतिष्ठाको निमित्त आफ्नो घर परिवार त्यागेर रगत पसिना बगाएका हामी खेलाडीहरू पनि अनावश्यक विवाद सिर्जना गर्न कहिले पनि चाहदैनौँ,' उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले यस्ता समस्या आन्तरिक रुपमै सुल्झाएको भए यस्तो दिन नआउने समेत जनाए । 

'यो घटनाले भावी पिढीका लागि पनि नकारात्मक सन्देश गएको छ र यसमा पराजय मात्र फुटबलको हुनेछ । एक पुर्व कप्तानको नाताले यो विवाद छिटो भन्दा छिटो सुल्झाइ खेलाडीलाई खेल्न योग्य वातावरण बनाइ दिनहुन म सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछु,' अनिलले लेखेका छन् ।

अनिलले समर्थकलाई दुईपक्षीय कुरा नबुझी कसैलाई पनि गाली गलौज नगर्न समेत अग्रह गरेका छन् ।
 


Author

थप समाचार
x