प्रदीप र सलोनीलाई टेनिस सिंगल्सको उपाधि
काठमाडौँ - प्रदीप खड्का र सलोनी तामाङले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्सतर्फको उपाधि हात पारेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको पुरुषतर्फको फाइनलमा प्रदीपले प्रणव खनाललाई ६–२ र ६–३ को सोझो सेटमा पाखा लगाउदै उपाधि जिते । महिलातर्फको फाइनलमा सलोनीले अभिलाषा विष्टलाई ६–०, २–६ र ६–० को सेटमा पराजित गरिन् ।
समग्र करियरमा प्रदीपको यो चौथों तथा सलोनीको पाँचौं सिंगल्स उपाधि हो । प्रदीप र सलोनीको जोडीले मिक्स डबल्सको पनि उपाधि जितेको थियो । प्रणव र अभिलाषाको जोडी उपविजेतामै सीमित भएको थियो । पुरुष र महिला सिंगल्सका विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १०-१० हजार प्राप्त गरे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले कमल भण्डारीलाई ६–२ र ६–२ को सेटमा पराजित गर्दै पहिलो स्थान हात पारे । ३५ वर्षमाथि पुरुष डबल्समा दावा शेर्पा र जितेन्द्र परियारको जोडी शीर्ष स्थानमा रहे । उक्त जोडीले फाइनलमा कमल भण्डारी र सुमित मैनालीको जोडीलाई ६–२ र ६–४ ले पाखा लगाए ।
४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घलेको जोडीले यज्ञबहादुर भण्डारी र रोहित सुनुवारको जोडीलाई ४–६, ६–४ र १०–७ ले पराजित गर्दै उपाधि हात पारे ।
भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्सको उपाधि कमल थापाले जिते । दीपकमान श्रेष्ठ ‘रिटायर्ड हर्ट’ भएपछि थापा विजेता भए । ५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङले निरञ्जनकुमार श्रेष्ठमाथि ६–२ र ६–० को सहज जित निकाले ।
काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मुख्य प्रायोजन सिटिजन्स बैंक रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया