खेलकुद

एसियाडका लागि भारोत्तोलनका १६, कुस्तीका १५ खेलाडी छनोट

इकागज |
बैशाख १७, २०७९ शनिबार १७:२१ बजे

काठमाडौँ – १९ औँ एसियन गेम्सका भारोत्तोलनबाट प्रारम्भिक चरणमा समान ८ पुरुष र ८ महिला गरी १६ खेलाडी छनोट भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा नेपाल भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष ६१ केजीमा त्रिभुवन आर्मी क्लबका तुलाराम महतो छनोट भए ।


६७ केजीतर्फ नेपाल पुलिस क्लबका प्रकाश केसी तथा ७३ केजीमा आर्मीका राजु चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी छनोट भए । ८१ केजीमा कञ्चनपुरका विकास भट्ट र ९६ केजीमा पुलिसका विशालसिंह विष्ट प्रारम्भिक चरणका लागि छानिए । १०९ केजीमुनि कञ्चनपुरका सुभाष उपाध्याय तथा १०९ केजीमाथि पुलिसका सागर भण्डारी छनोट भए ।

यता महिलाको ४९ केजीमा पुलिसकी संगिता राई र आर्मीकी मनीषा रानाभाट चुनिए । ५५ केजीमा बाँकेकी सन्जु चौधरी तथा  ६४ केजीमा आर्मीकी कमला श्रेष्ठ र आर्मीकै शारदा चौधरी पनि प्रारम्भिक चरणका लागि छनोट भए । ७६ केजीमा पुलिसकी जुनुमाया छन्त्याल, ८७ केजीमुनि पुलिसकी तारादेवी पुन तथा ८७ केजीमाथि प्रहरीकी विद्या राई छानिए ।

प्रतियोगितामा क्लिन एन्ड जर्क, स्न्याच र कुलमा गरी पुरुष र महिलामा ७–७ गरी १४ नयाँ राष्ट्रिय कीर्तिमान बने । पुरुषमा विकास भट्टले १, विशालसिंह विष्टले २, सुभाष उपाध्यायले ३ र सागर भण्डारीले १ कीर्तिमान बनाए । महिलामा सन्जु चौधरीले १ तथा तारादेवी पुन र विद्या राईले समान ३ राष्ट्रिय कीर्तिमान कायम गरे ।

कुस्ती छनोट

कुस्तीमा ७ पुरुष र ८ महिला गरी १५ खेलाडी पहिलो चरणका लागि छनोट भए । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ८६ केजीमा आर्मीका आदित्यराज यादव, पुलिसका दीपेश राउत कंकर र आर्मीका वीरेन्द्रसिंह साउद तथा ७४ केजीमा आर्मीका सुरेश चुनारा, पुलिसका गंगाराम चमार, बाँकेका फजिल राउत अहिर र पुलिसका धर्मेन्द्रप्रसाद यादव छनोट भए ।

महिला ६२ केजीमा आर्मीकी सुशिला चन्द, आर्मीकै निर्मला जागरी, कञ्चनपुरकी कोमल खत्री र विमला सुनार तथा ५७ केजीमा आर्मीकी शिवाङ्गी दुवे, एपीएफकी अम्बिका भण्डारी, कञ्चनपुरकी मनीषा सिंह र आर्मीकी लक्ष्मी तामाङ छनोट भए ।

एकदिने छनोट प्रतियोगिताको पुरुषमा ८ र महिलामा १२ गरी २० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


Author

थप समाचार
x