विद्राेही खेलाडीले एएफसी छनोट खेल्न नपाउने, कारबाही नगर्न एन्फासँग अलमुताइरीको आग्रह
काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षण छाडेका खेलाडीहरुले एएफसी एसियन कप छनोट खेल्न नपाउने स्पष्ट पारेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई आइतबार पत्र खेल्दै अलमुताइरीले उक्त खेलाडीहरुले एसियन कपको तेस्रो चरणको छनोट खेल्न नपाउने स्पष्ट पारेका हुन् ।
कुवेतमा हुने छनोट अन्तर्गत नेपालले जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत तथा जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्ने तालिका रहेको छ ।
उनले प्रतियोगितामा नेपालको प्रदर्शनको जिम्मा आफुले लिने समेत बताए ।
यसैबीच, प्रशिक्षक अलमुताइरीले आफूविरुद्ध विद्रोह गरेका खेलाडीहरुलाई कारवाही नगर्न एन्फासँग आग्रह गरेका छन् ।
'मेराविरुद्ध खेलाडीहरुले गरेको निन्दनीय टिप्पणीका लागि माफ गर्नुहोला । मेरो विन्रम अनुरोध के छ भने खेलाडीहरुलाई कारवाही नगर्नुहोला,' अलमुताइरीले पत्रमा लेखेका छन् ।
अलमुताइरीले भारी मनले नेपाली फुटबलमा विकास भएको घटनाक्रमबारे लेख्न बाध्य भएको उल्लेख गरेका छन् ।
'राष्ट्रिय क्याम्पका केही खेलाडीले ममाथि सार्वजनिक रूपमा आरोप लगाएको मैले बुझेको छु । म राष्ट्रिय टोलीका सबै खेलाडीहरूको अभिभावकको रूपमा युवा रगतको आवेगलाई बुझ्न सक्छु जसले असहज अवस्था निम्त्यायो । खेलाडीहरूको एकतर्फी कार्यले मलाई गहिरो चोट पुर्याएको छ किनभने मेरो हृदयमा सधैं नेपाली राष्ट्रिय फुटबलको हित रहेको छ । र, मलाई विश्वास छ कि नेपाली राष्ट्रिय फुटबल टोलीमा मैले उल्लेख्य प्रगति गरेको छु र यसलाई म निरन्तरता दिन चाहन्छु भन्नेमा मेरो दृढ विश्वास छ,' अलमुताइरीले पत्रमा लेखेका छन् ।
उनले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक र प्रमुख छनोटकर्ताको हैसियतले टोली निर्माण गर्ने अधिकार र जिम्मेवारी दुवै आफूमा रहेको तथा नेपाली राष्ट्रिय टोलीका लागि सम्भावित उत्कृष्ट टिम छनोट गर्ने जिम्मेवारी पनि आफ्नै रहेको उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया