खेलकुद

किर्गिस्तानविरुद्ध नेपालको रणनीति :  मिडफिल्ड र डिफेन्समा जोड

इकागज |
चैत १२, २०७७ बिहीबार १७:३० बजे

काठमाडौं :  किर्गिस्तानविरुद्ध पहिलो खेल खेल्न गइरहेको नेपालले ४–४–२ को रणनीति अनुसार खेल्ने भएको छ । प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा प्लेइङ सेट सार्वजनिक गर्दै नेपालको मिडफिल्ड र डिफेन्समा जोड रहने संकेत दिएका छन् । 

यसअघि मिडफिल्डमा खेल्दै आएका रोहित चन्द किर्गिस्तान विरुद्धको खेलमा डिफेन्सको भूमिकामा छन् । उनलाई सेन्टर डिफेन्समा अनन्त तामाङ र राइट ब्याकमा दिनेश राजवंशी र लेफ्टमा रञ्जित धिमालले साथ दिनेछन् । 


किर्गिस्तानले बंगलादेशसँगको खेलमा काउन्टर अट्याकमा निकै राम्रा अवसर सिर्जना गरेको थियो । किर्गिस्तानको यही स्ट्रेन्थलाई मध्यनजर गर्दै प्रशिक्षक महर्जनले डिफेन्सलाई मजबुत बनाउने रणनीति लिएको अनुमान गर्न सकिन्छ । 

नेपालले यो खेलमा दुई स्ट्राइकरका साथ खेल्ने रणनीति बनाएको छ । आज नेपालको तर्फबाट आक्रमणको जिम्मेवारी अन्जन बिष्ट र अभिषेक रिजालले सम्हाल्नेछन् । 
प्रशिक्षक महर्जनले अन्जनको भूमिका पनि यो खेलका लागि परिवर्तन गरेका हुन् । यसअघि अन्जनले नेपालको प्रतिनिधित्व गर्दा धेरै खेल अट्याकिङ मिडफिल्डरको रुपमा खेलेका छन् । तर आज भने अन्जनले स्ट्राइकरको भूमिका निर्वाह गर्नेछन् । 

किर्गिस्तानको यो यु–२३ टिम हो । किर्गिस्तानले यसअघि बंगलादेशसँग पहिलो खेल खेलिसकेको छ ।  बंगलादेशसँगको पहिलो खेलमा किर्गिस्तान १–० ले पराजित भएको थियो ।  


Author

थप समाचार
x