खेलकुद

राष्ट्रिय फुटबल टोलीको घटना छानविन गर्न खेलाडी संघको माग

इकागज |
बैशाख १९, २०७९ सोमबार १५:३५ बजे

काठमाडौँ – अखिल नेपाल फुटबल खेलाडी संघले नेपाली फुटबलमा उत्पन्न विवादको उचित छानविन गर्न तथा दोषीलाई कारवाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) सँग माग गरेको छ । खेलाडी संघले सोमबार एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पालाई पत्र लेख्दै विवादको उचित छानविन गर्न तथा दोषीलाई कारवाही गर्न माग गरेको हो ।

खेलाडी संघका अध्यक्ष विक्रम लामाले हस्ताक्षर गरेको पत्रमा राष्ट्रिय फुटबल टोलीका १० खेलाडीले एएफसी एसियन कपको तयारीमा रहेको अवस्थामा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबाट नै क्याम्प छोड्न निर्देशन दिएको जानकारी पाएको उल्लेख छ ।


'तर सार्वजनिक संचारमाध्ममा भने राष्ट्रिय टोलीका व्यवस्थापले खेलाडीको विषयमा गलत टिप्पणी दिएको र त्यसले खेलाडीमा परेको असरले हामी एकदम दुखित छौं,' पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा उल्लेख भएअनुसार प्रशिक्षणका दौरान टोलीको नेतृत्व गरीरहेका रोहित चन्दले प्रशिक्षकको प्रश्न पश्चात जायज माग राख्दा उनीसँग प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गरेको व्यवहारप्रति खेलाडीले असन्तुष्टि जनाएका थिए । तर एक खेलाडी मात्र नभएर सामान्य व्यक्तिले दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत आवश्यकता माग गर्दा क्याम्प छोड्न भनेपछि खेलाडीले क्याम्प छोडेको समेत उल्लेख छ ।

खेलाडीले क्याम्प छोड्नुअघि स्वयं प्रशिक्षक अलमुताइरी, सहायक प्रशिक्षक किरण श्रेष्ठ, गोलरक्षक प्रशिक्षक विकास मल्ल र सहायक व्यवस्थापक कृष्णभक्त मानन्धरलाई जानकारी गराएको पनि अवगत गराएको पत्र एन्फा अध्यक्षलाई पठाइएको छ ।

'खेलाडीले सधै राष्ट्रिय टोलीलाई प्रमुख प्राथमिकतामा राख्दै आएका छन् । राष्ट्रिय टोलीको अवस्थाबारे खेलाडीहरुले व्यवस्थापनसँग पटक पटक कुरा राख्दा समेत नेतृत्वबाट उचित सम्बोधन नभएको हामीले जानकारी पाएका छौं । यसरि खेलाडीहरुमाथि सार्वजनिक रुपमा झुटो आरोप लगाएर खेलाडीको मान मर्यादामा आंच पुग्ने अभिव्यक्ति दिने र कदम चाल्ने व्यक्तिहरु खेलाडी मात्र नभएर समग्र फुटबल विकासमा बाधक हुन् । एन्फाले यस विषयमा उचित छानविन गरेर दोषीलाई कारवाही गरोस भन्ने हामीले माग राखेका छौं ।'

यस गम्भीर विषयलाई एन्फाले प्राथमिकतामा राखेर चाडो भन्दा चाडो उचित कदम अघि खेलाडी संघको अपेक्षा रहेको छ ।


Author

थप समाचार
x