खेलकुद

जिम्बावेसँग नेपाल पराजित

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १४:३२ बजे

काठमाडौँ – नेपालले जिम्बावे 'ए' विरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा ३ विकेटको पराजय भोगेको छ । नेपालले दिएको १ सय ३७ रनको लक्ष्य पाहुना टोली जिम्बावेले २६ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

जिम्बावेको जितमा इनोसेन्ट काइयाले अविजित रहदै सर्वाधिक ४८ रनको योगदान गरे । ब्राड इभान्सले १७ रन जोडे । सेफास झुवओले ३२ तथा रोय काइयाले १४ रनको योगदान गरे ।  


नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २-२ विकेट लिए । सागर ढकाल र सोमपाल कामीले १-१ विकेट लिए ।

यस अघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ३६ रनमात्र जोड्न सक्यो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान गरे ।

कुशल भुर्तेलले १९ तथा दिपेन्द्र सिंह ऐरीले १८ रन जोडे । आशिफ शेख र आरिफ शेखले समान ५-५ रन बनाउदा रोहित पौडेलले ३ र आदिल आलम २ रनमा आउट भए । सुशान भारी शून्य रनमा आउट भए । करण केसीले २५, कप्तान सन्दीप लामिछानेले ४ तथा सागर ढकालले १ रन जोडे ।

जिम्बावेका लागि ब्राड इभान्सले ४ तथा भिक्टर न्याउची, ब्रान्डन माभुटा र सेफास झुवाओले समान २-२ विकेट लिए ।

नेपाल र जिम्बावे 'ए' बीच तीन खेलको एकदिवसीय सिरिज हुँदैछ ।


Author

थप समाचार
x