खेलकुद

राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

इकागज |
बैशाख २४, २०७९ शनिबार १०:१९ बजे

काठमाडौँ – आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट शनिबार सार्वजनिक भएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भएको कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेका हुन् । 

भोलानाथ पौडेले निर्माण गरेको लोगो र मस्कट छनोट गरिएको छ । एकेन्द्र कुवँर नेतृत्वको छनोट समितिले लोगो र मस्कट छनोट गरेको हो । नवौं राष्ट्रिय खेलकुदका लागि राखेपले नारा, लोगो र मस्कट निर्माणका लागि सार्वजनिक आह्वान गरेको थियो ।


त्यसैगरी, सुयोग्य राज काफ्लेले बनाएको ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारालाई समेत छनोट गरिएको छ । छनोट समितिले ३ वटा मस्कट, १३ वटा लोगो र ७ वटा नारा प्राप्त गरेको थियो ।

नवौं राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनी खेलसहित ३६ खेल समावेश गरिएका छन् । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम र एनआरएन गरी जम्मा ११ टिमको सहभागिता रहने छ ।


Author

थप समाचार
x