खेलकुद

जिम्बावे 'ए' माथि नेपालको शानदार जित

इकागज |
बैशाख २४, २०७९ शनिबार १३:३३ बजे

काठमाडौँ -  जिम्बावे 'ए' विरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले जिम्बावेलाई ९ विकेटले पराजित गरेको हो । जितसँगै तीन खेलको सिरिजमा नेपाल र जिम्बावे १-१ को बराबरीमा पुगेको छ । यसअघि पहिलो खेल जिम्बावेले नेपाललाई ३ विकेटले पराजित गरेको थियो ।

शनिबारको खेलमा ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रनको योगदान गरे । आशिफ शेखले अविजित ३४ रन जोडे । विनोद भण्डारीले ४ रन बनाए ।  जिम्बावेका ब्रान्डन माभुटाले १ विकेट लिए ।


यस अघि टस जितेर पहिले बलिङमा उत्रेको नेपालले जिम्बावेलाई ३१ ओभर ५ बलमा ८७ रनमा समेट्न सफल भयो ।

नेपाललाई पहिलो बलमै सफलता दिलाएका करण केसी तथा सोमपाल कामीले समान ३-३ विकेट हात पारे । कप्तान सन्दीप लामिछाने २ र सागर ढकालले १ विकेट लिए ।

जिम्बावेका लागि जोनाथन काम्पबेलले सर्वाधिक २७ रनको योगदान गरे । ब्राड इभान्सले २० रन जोडे । इनोसेन्ट काइया डकआउट हुँदा सेफास झुवाओले १०, ल्युक जोङवाले ८ तथा टाडिवानासे मारुमानी र रोय कायले समान ४-४ रनमा आउट भए । कप्तान टोनी मुनयोङगा २ र क्लिभ माडान्डे १ रनमा आउट भए ।  


Author

थप समाचार
x