खेलकुद

उमेशले जिते १६ औँ धर्मश्री बडिबिल्डिङको उपाधि

इकागज |
बैशाख २५, २०७९ आइतबार १३:३१ बजे

काठमाडौँ - झापाका उमेश राईले १६ औं धर्मश्री बडि बिल्डिङको उपाधि जितेका छन् । एनआरके फिटनेशका राईले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् ।

राईले उपाधिसहित नगद १० लाख, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । धिमालले उपविजेता भए वापत नगद ५ लाख हात पारे । मसल्स एण्ड फिटनेश, नयाँबजारका कृष्ण बहादुर सूर्यवंशी तृत्य भए ।


उनले नगद २ लाख प्राप्त गरे । चौंथो भएका बिलिजेण्ड शेप फिटनेश, खुसिवुका सन्जम सागर शाक्यले १ लाख ५० हजार, पाँचौ भएका प्लानेट फिटनेश ईटहरीका पुष्प शंकरले १ लाख र छैटौँ भएका आयोजक नेपाल ब्यायाम मन्दिरका डेभिड बलामीले ९० हजार प्राप्त गरे ।

यस्तै अन्तिम तथा सातौं स्थानमा रहेका आयोजक संस्थाकै राजु राईले ८० हजार प्राप्त गरे । नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा उमेश राई ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधीको ओभर अल राउण्डमा प्रवेश गरेका थिए ।

यस्तै धिमाल ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पारेका थिए । सूर्यवंशीले ७५ केजी तौल समूहमा प्रथम भएका थिए । प्रतियोगितामा ७ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहमा विजेता भएका खेलाडीहरुले अन्तिम चरणमा धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।

१६ औं धर्मश्रीकै दौरान पहिलो पटक आयोजना गरिएको पुरुष तथा महिला फिजिकको पुरुष तर्फ आयोजक नेपाल ब्यायाम मन्दिरका आश्वत स्थापित र महिला तर्फ द फिटनेश टेम्पल, भक्तपुरकी जासमिन लामा विजयी भए । विजयी खेलाडीहरुले नगद २ लाख सहित मेडल प्राप्त गरे ।


Author

थप समाचार
x