खेलकुद

१६ औं धर्मश्रीको फिजिकतर्फ धाँधली भएको प्रतिस्पर्धीहरुको आरोप

इकागज |
बैशाख २५, २०७९ आइतबार १६:३५ बजे

काठमाडौँ -  १६ औं धर्मश्रीअन्तर्गतको पहिलो पुरुष तथा महिला फिजिक तथा बडि बिल्डिङमा सहभागी प्रतिस्पर्धीहरुले प्रतियोगितामा धाँधली भएको आरोप लगाएका छन् ।

१६ औं धर्मश्रीमा पहिलो पटक पुरुष तथा महिला फिजिक समावेश गरिएको थियो । तर पुरुष र महिला दुवैतर्फका प्रतिस्पर्धीहरुले प्रतियोगितामा धाँधली भएको आरोप लगाएका छन् ।


पुरुषतर्फका सागर विक, अवतार श्रेष्ठ, अनुज मास्के, गोपाल लिम्बु र विश्व केसी तथा महिलातर्फका सनम मुलगुठी र पुजा श्रेष्ठले धाँधली भएको दावी गरेका छन् । 

पुरुष फिजिकतर्फ सहभागिता जनाउन बेलायतबाट आएका सागर विकले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दा पनि नेपालमा भएका प्रतियोगितामा शरिर ठूलो भएको बताउँदै शीर्ष १५ मा आफूलाई नअटाएको बताए । 

उनले प्रतियोगिता अघि आफूहरुलाई यसबारे जानकारी नगराएको तर सहभागिता जनाउने बेल मात्र आफ्नो शरिर प्रतिस्पर्धाका लागि उपयुक्त नभएको जानकारी गराएको विकले पत्रकार सम्मेलनमार्फत जनाए । उनले प्रतियोगिताका निर्णायकहरुलाई पूर्ण ज्ञान नरहेको समेत बताए । 

यता अवतार श्रेष्ठले पनि प्रतियोगिता अघि फारममा भर्ने बेला केही पनि उल्लेख नगरिएको तथा प्रतियोगिताको समयमा आफूलाई शारिर ठूलो भएको भन्दै शीर्ष १५ बाट बाहिर राखेको दावी गरे । उनले आफूले फारममा सबै थोक उल्लेख गरेको समेत बताए ।

अनुज मास्केले पनि प्रतियोगितामा धाँधली नहोला भनेर आएको भए पनि धाँधली भएको आरोप लगाए । उनले निर्णायकहरुलाई प्रतिस्पर्धाबारे जानकारी नभएको समेत दावी गरे । अनुजका अनुसार प्रतिस्पर्धाका क्रममा ठूलो हाइट र सानो हाइट भएकाहरुलाई छुट्याउने नियम भए पनि यहाँ त्यस्तो नगरिएको बताए । 

महिलातर्फकी प्रतिस्पर्धी सनम मुलगुठीले पनि धाँधली भएको आरोप लगाइन् । उनले प्रतिस्पर्धा अघि नियमबारे जानकारी नगराएको तर प्रतिस्पर्धा हुनै लाग्दा नियमको बारेमा जानकारी गराइएको दावी गरिन् । उनले प्रतिस्पर्धीले लगाउने लुगाहरुको बारेमा पनि जानकारी नगराएका कारण आफूले दुई थरीको लुगा बोकेको बताइन् । उनले प्रतिस्पर्धीहरुलाई लुगामा एकरुपता ल्याउने प्रयास समेत नगरेको जनाइन् ।

त्यसका साथै सनमले प्रतिस्पर्धीबीच तुलना समेत नगरिएको तथा निर्णायकहरुले प्रतिस्पर्धीलाई पर्याप्त समय समेत नदिएको आरोप लगाइन् ।

पुजा श्रेष्ठले पनि ड्रेस कोडबारे जानकारी नगराइएको तथा जिउ ठूलो भएको प्रतिस्पर्धाको समयमा मात्र जानकारी गराएको बताइन् ।

पहिलो पटक आयोजना गरिएको पुरुष तथा महिला फिजिकको पुरुषतर्फ आयोजक नेपाल ब्यायाम मन्दिरका आश्वत स्थापित र महिला तर्फ द फिटनेश टेम्पल, भक्तपुरकी जासमिन लामा विजयी भएका थिए । विजयी खेलाडीहरुले नगद २ लाखसहित मेडल प्राप्त गरेका छन् ।
 


Author

थप समाचार
x