राष्ट्रिय खेलकुदमा अमेरिका, इंग्ल्याण्ड र अष्ट्रेलियाबाट एनआरएनएको टिम आउने
काठमाडौ - गैर आवासीय नेपाली संघ (एनआरएनए) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा १८ खेलमा सहभागिता जनाउने भएको छ । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ सम्म राष्ट्रिय खेलकुद हुदैछ । जसमा दुई प्रदर्शनी खेलसँगै ३६ खेल समावेश गरिएको छ ।
तर एनआरएनएले भने ३६ मध्ये १८ खेलमा सहभागिता जनाउने भएको हो । एनआरएनए अन्तर्गतको एनआरएन स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्य–सचिव धर्मराज गिरीले एनआरएनएले नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये १८ खेलमा सहभागी हुने बताए ।
‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको छ । राखेपले तोकेको मितिसम्म खेलाडी दर्ता गर्छौं,’ उनले भने ।
आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यस पटक सामूहिक खेलमा पनि सहभागिता जनाउँदै छ । फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ ।
क्रिकेटको टिम इंग्ल्याण्ड (युके) बाट आउने छ । यसैगरी भलिबलको टिम अस्ट्रेलिया र युकेबाट ल्याउने तयारी गरिएको छ भने बास्केटबलको टिम अस्ट्रेलियाबाट आउने छ ।
फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई दिइएको र उनले अस्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टिम बनाउने बताइएको छ ।
एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले पनि नवौं राष्ट्रिय खेलकुदका लागि आफू निकै उत्साहित रहेको बताएका छन् । विदेशमा बसेका नेपालीहरुलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित रहेको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिएका छन् ।
खेलकुदका लागि एनआरएनएका तीन जना युवा उपाध्यक्षहरु हिमाल गुरुङ, राज रेग्मी र रोशन थापासहित संयोजकहरु अब्दुल बसिद र रविन्द्र खड्काले विभिन्न देशमा रहेका एनसीसीहरुसँग समन्वय गरिरहेको कार्यवाहक सदस्य–सचिव गिरीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया