स्वीडेनका हसलमार्कले जिते शाहसिक हिमालयन एक्सट्राई ट्रायथलन
काठमाडौँ - स्वीडेनका जोन हसलमार्कले पहिलो हिमालयन एक्सट्राइ ट्रायथलनको उपाधि जितेका छन् । ३.८ किमि पौडी, १८० किमि साइक्लिङ र ४० किमि दौड पुरा गर्नुपर्ने कठिन मानिने शाहसिक हिमाली दौड हसलमार्कले समग्रमा १६ घण्टा ८ मिनेट १२ सेकेन्डमा पूरा गरेका हुन् ।
उनले फेवातालमा सम्पन्न ३.८ किमि पौडी सक्न ४८ मिनेट ६ सेकेण्ड लगाएका थिए भने १८० किमि साइक्लिङ सक्न ६ घन्टा १ मिनेट ३१ सेकेण्ड तथा ४० किमि दौड पुरा गर्न ९ घन्टा १२ मिनेट ४३ सेकेण्ड लगाएका थिए ।
त्यस्तै चेक रिपब्लिकका फिलिप सोल्क दोस्रो भए । उनले १६ घण्टा २९ मिनेट २६ सेकेन्डमा खर्चिए । चेक रिपब्लिककै पिटर भाब्रोसेकले १६ घण्टा ४० मिनेट ५७ सेकेन्डको समयमा दौड पूरा गर्दै तेस्रो भए ।
बिहान ४ बजे पोखराको फेवातालबाट प्रतियोगिता शुरु भएको थियो। जहाँ खेलाडीहरुले ३.८ किमीको दूरी पौडेका थिए ।
त्यसपछि १८० किमिको साइकल दौड सुरु भएको थियो । साइकल रेस पोखरा भुपी शेरचन राजमार्ग हुँदै बाग्लुङको कालिका मन्दिर र त्यहाँबाट फर्केर पोखरा २५ हेम्जा मिलनचोक हुँदै कास्कीको माछापुच्छ्रे लुम्रेमा पुगेर टुंगिएको थियो ।
लुम्रेबाट ४० किमि उकाली ओरोली दौड शुरु भएको थियो । दौड पर्यटकिय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै फर्किएर कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुगेर अन्तिम दूरी पूरा गरेका थिए ।
प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनका अनुसार प्रतियोगितामा विश्वका १७ देशका प्रतिस्पर्धीहरुले भाग लिएका थिए । उनीहरुका ३० जना सहयोगी गरी ४७ जना पोखरा आएका थिए ।
सन २००३ बाट क्यानाडाबाट सुरु भएको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ युरोप सहित अमेरिकाका गरी १७ विभिन्न देशमा हरेक वर्ष आयोजना हुने गर्दछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया