हँसिलो मुहारभित्र लुकेको 'सन्जुका पीडा', जुन कसैले थाहै पाएनन्
काठमाडौँ - ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी भारत्तोलनका खेलाडी सन्जु चौधरी सोमबार नै प्रशिक्षक महर्जनकै घरमा आयोजित जात्राको भोजमा सक्रिय भएर लागिन् ।
१३ औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई भारत्तोलनबाट पहिलो स्वर्ण पदक दिलाएकी उनै सन्जु प्रशिक्षक महर्जनकै घरमा मंगलबार बिहान मृत भेटिएकी थिइन् । पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।
१९ औँ एसियन गेम्सको तयारीका लागि भनेर लुभुमा बस्दै आएकी सन्जुले सँगै प्रशिक्षण गर्ने आफ्ना साथी तथा खेलाडीलाई समेत आफू कस्तो अवस्थाबाट गुज्रिरहेको बताउन सकिनन् । उनले मनभित्र पीडा राखेर बाहिर हाँस्दै मुस्कुराउदै खुसी भएको आभाष दिइरहिन् ।
'भोजमा जब मैले सन्जुलाई भेटे उसको अनुहारमा चमक थियो, खुसीसाथ उनले सबैलाई खाना पस्किइन् । त्यसपछि हामी भेटघाट गरेरै फर्कियौ,' उनीसँगै प्रशिक्षण गर्ने अर्का भारत्तोलन खेलाडी प्रकाश केसी भन्छन् । 'तर राति के भयो थाहै भएन।'
पछिल्लो पटक नेपाल पुलिसको जागिर छाडेदेखि सन्जुले साथीहरुसँग आर्थिक समस्या झेलिरहेको कुरा बताउने तथा अलिअलि दुखित कुरा गरेपनि व्यत्तिगत कुरा भनेर टार्ने गरेकी प्रकाश बताउँछन् ।
'तर सानो सानो कुरा सबैको जीवनमा आउने भन्दै सम्झाएको थिएँ । हामी निस्कने बेला उनको आँखाभरी आँशु थियो मैले बोलाए पनि उनी घरभित्र गइन् । पछि फोनमा कुरा गर्ने भनेको तर भएन । र आज बिहान यस्तो खबर आयो, विश्वासै लागेन,' केसी बताउँछन् । केसीका अनुसार उनको बानी व्यहोरामा खासै परिवर्तन आएको थिएन् ।
सन्जुसँगै प्रशिक्षणमा रहेका अर्का भारत्तोलन खेलाडी हुन् मनिषा रानाभाट । मनिषाले पनि उनको बानीमा खासै परिवर्तन आभाष गर्न सकिनन् ।
'हिजोसम्म हामीसँगै अभ्यासमा थियौँ, मज्जाले अभ्यास गरिरहेकी थिइन् । मनोवैज्ञानिक असर पनि देखिएको थिएन। केवल उनको शरिरको तौलमा कमी आएको थियो,' मनिषाले बताइन् ।
मनिषालाई लाग्यो सन्जुले केवल प्रतिस्पर्धाका लागि तौल घटाएकी थिइन् ।
'५९ केजीमा खेल्ने सन्जुले अहिले ५५ केजीमा अहिले सहभागी भयो । मलाई लाग्यो यो तौल समूहमा पदकको सम्भावना हुन्छ भनेर । व्यतिगत कुरा केही पनि भनिनन् । हामी पनि तयारी तथा चुनावतिर केन्द्रित भएका कारण उनको कुरा कसैले बुझ्न पाएनन् सायद,' आँखाभरी आँशु बोकेकी मनिषाले थपिन् ।
मनिषाका अनुसार सन्जु एकदम बलियो थिइन् । 'उनी नेपालकै स्ट्रङगेस्ट ओमेनको रुपमा रहेकी तारा देवी पुनलाई पछि पार्ने सम्भावना भएकी खेलाडी थिइन् । तर उनले यस्तो निर्णय किन लिइन् थाहै भएन । उनले हामीसँग कुरा राखेको भएपनि हुन्थ्यो नि, सहयोग गर्थिम, ' मनिषाले सुनाइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया