खेलकुद

थ्री-नेसन्स कपः नेपाली टिमलाई जितका लागि के चाहिन्छ ? स्पष्ट रणनीति...

इकागज |
चैत १४, २०७७ शनिबार १४:२९ बजे

काठमाडौँ: थ्री-नेसन्स कपमा किर्गिस्तान अण्डर-२३ सँगको बराबरी पछि नेपालका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भनेका थिए, ‘नतिजा मात्रै होइन, खेल पनि हेर्नुपर्छ ।’ हो, फुटबलमा कहिलेकाहीँ बलियो टिमले जित्दैन । किर्गिस्तानको युवा टोलीसँग खेल्दा नेपाली सिनियर टिम बलियो त देखियो । तर मुख्य प्रशिक्षक बालगोपालले इंगित गरेको जस्तो राम्रो चाहीँ खेलेन । 

दोस्रो हाफको अन्तिम अन्तिम २३ मिनेट १० जनामा सिमित किर्गिस्तानविरुद्ध नेपालले पर्याप्त आक्रमण गर्‍यो । एक दर्जन भन्दा धेरै पटक किर्गिज पोस्टमा नेपालले आक्रमण गर्दा, ‘सट अन टार्गेट’ भने पाँच मात्रै थिए । मतलब नेपालले पाँच पटक मात्रै ‘फ्रेम’ मा आक्रमण गर्‍यो । बाँकी आक्रमणमा नेपाली खेलाडीका प्रहार पोस्टको दायाँ, बायाँ वा माथिबाट बाहिरिए । नेपाली खेलाडीहरूले मुस्किलले पाँचवटा पास खेले । बिल्डअपमा पनि उनीहरू कमजोर देखिए । न त विङ्सको प्रयोग गरेको देखियो, न त ‘अट्याकिङ थर्ड’ को । 


किर्गिज युवा टोलीसँगको खेलमा बालगोपालले आफ्ना टिमबाट पनि युवा खेलाडीहरूलाई उतारे । अनुभवी रोहित चन्दले रक्षापंक्ति सम्हाल्ने जिम्मेवारी पाउँदा, सेन्ट्रल मिडफिल्डमा सन्जोग राई र तेज तामाङ थिए । जसले मिडफिल्डबाट टिमका फरवार्डहरूका लागि गोलका राम्रा अवसर सिर्जना गर्न सकेनन् । विङ्गसबाट खेलिरहेका त्रिदेव गुरुङ र रवी शंकर पासवानले पनि आ-आफ्नो क्षेत्रबाट आक्रमण बुन्‍न लायक पास मिलाएनन् । नेपालका अधिकांश गोल अवसर कर्नर वा फ्रि-किकबाट थिए । त्यसमाथि अन्जन विष्टसँग पहिलो एघारमा परेका अभिषेक रिजाल फिक्का देखिए । उता अन्जनले पनि ‘डेड बल’ बाट सिर्जित अवसरहरू खेर फाले । 

खेलपछि बालगोपाल सम्रगमा आफ्ना खेलाडीहरूसँग सन्तुष्ट रहेको बताउँदै थिए । फरवार्डहरूले अपेक्षाकृत धैर्यता देखाउन नसकेको भन्दै बालगोपालले आगामी खेलमा सुधार गर्ने वाचा गरे । ‘आज हामीले युवा खलाडीहरूलाई मौका दियौँ । यो ट्रायल थियो । उनीहरूको प्रदर्शनबाट म सन्तृष्ट छु । यद्यपि फरवार्डहरूले अलिक बढी धैर्यता देखाउनु पर्ने थियो,’ बालगोपालको भनाइ थियो । 

किर्गिस्तान पहिलो खेलमा बंगलादेशसँग हारेको थियो । पहिलो खेलमै पराजय भोगको किर्गिस्तानविरुद्ध नेपालले बलियो पहिलो एघार प्रयोग गरेन । बरु ट्रायलको नाममा युवा खेलाडी भरिएको पहिलो एघारलाई मैदान उतार्‍यो । त्यति मात्रै होइन, बालगोपालले अनुभवी खेलाडीलाई दोस्रो हाफमा ढिलो गरी मैदानमा उतारे । मिडफिल्डले गतिलो पास नै खेल्न नसकिरहेको अवस्थामा, बालगोपालले गोलका अवसर सिर्जना गर्ने ल्याकत राख्‍ने प्लेमेकर विशाल राईलाई उत्तरार्धमा करिब १० मिनेट मात्रै उपयोग गरे । 

राउण्ड रोबिनमा सञ्‍चालन भइरहेको प्रतियोगितामा नेपालले शनिबार साँझ बंगलादेशको समाना गर्दैछ । बंगलादेशले आयोजक नेपाल र किर्गिस्तानबीचको बराबरीसँगै फाइनलमा स्थान पक्का गरिसकेको छ । पहिलो खेलमा तीन अंक बटुल्न बंगलादेशले आत्मघाती गोलको साहरा लिनुपरेको थियो । त्यसकारण नेपाल र बंगलादश दुवैका लागि शनिबारको खेल पक्का परिक्षा हुनेछ । 

पहिलो खेलमा बंगलादेशी खेलाडीहरू बल पोसेसन राख्‍ने मामलामा विपक्षी भन्दा कमजोर देखिएका थिए । यद्यपि बंगलादेशी अग्रपंक्ति काउन्टर र बक्समा बलियो देखिएको थियो । उता किर्गिज युवा खेलाडीहरू भने बललाई नियन्त्रणमा राखे पनि बंगलादेशी बक्समा भने फितलो देखिन्थे । 

नेपाल र बंगलादेशी फुटबलको स्तर लगभग उस्तै हो । त्यसकारण पनि यी दुई टिम एकआपसविरुद्ध मैदानमा उत्रदा जित्‍नै पर्ने दबाबमा रहन्छन् । बालगोपालले बंगलादेशसँगको खेलमा जसरी भएपनि अंक बटुल्ने बताएका थिए । नेपाल कम्तीमा बराबरी गरेरै भएपनि उपाधि भिडन्तका लागि तयार हुन चाहन्छ । 

बालगोपालले पहिलो खेलको गल्ती बंगलादेशसँग दोहोर्‍याउन नहुने बताएका थिए । हो, त्यस खेलमा नेपाली खेलाडीहरूले गोल गर्न सकेनन् । धेरै मौका खेर फाले । तर रणनीतिकारका रुपमा बालगोपाल पनि सफल भएनन् । फरवार्डहरूबाट गोल निस्केन भन्दै गुनासो गरेका बालगोपालले किर्गिस्तानविरुद्ध योजनाविहिन जस्तो देखिन्थे । नेपाली खेलाडीहरू अट्याकिङ थर्डमा फिक्का देखिँदा, बालगोपालले दोस्रो हाफमा न त रणनीति परिवर्तन गरे न त समयमा खेलाडी न परिवर्तन गरे ।त्यसकारण, बालगोपाल बंगलादेशविरुद्ध बलियो पहिलो एघार र स्पष्ट रणनीतिका साथ उर्तन जरुरी छ ।  

   


Author

थप समाचार
x