थ्री-नेसन्स कप:
नेपालको अर्को बराबरी, समस्या फेरि अग्रपंक्तिमै
काठमाडौँ : थ्री-नेसन्स कपको उपाधिका लागि आयोजक नेपाल र बंगलादेश भिड्ने भएका छन् । राउण्ड रोबिन अन्तर्गतको अन्तिम खेलमा शनिबार नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेसँगै उपाधि भिडन्त पक्का भएको हो ।
पहिलो खेलमा किर्गिस्तान अण्डर-२३ लाई पराजित गरेको बंगलादेशले लिग चरणमा चार अंक बटुल्यो भने नेपालले दुई बराबरी खेल्दा दुई अंक बनायो । दुई टिमबीचको फाइनल दशरथ रंगशालामा सोमबार हुनेछ । प्रतियोगिता जित्ने टिमले पँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ । उप-विजेताले तीन हजार अमेरिकी डलर पाउनेछ ।
पहिलो खेलमा किर्गिस्तानको युवा टोलीविरुद्ध गोल गर्न चुकेको नेपालले दोस्रो खेलमा पनि गोल गर्न सकेन । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्धको खेलमा सुरुवाती ११ परिवर्तन गरेनन् । अपरिवर्तित अग्रपंक्तिले फेरि पनि गोलका केही सुनौला अवसर खेर फाल्दा मिडफिल्डले अपेक्षाकृत पासिङ कौशल देखाउन सकेन । दोस्रो हाफमा सुनिल बल र विशाल राईलाई मैदान छिराएसँगै ‘अट्याकिङ मिडफिल्ड’मा सुधारिएको प्रदर्शन गरेको नेपाल गोल गर्नबाट भने चुक्यो ।
खेलपछि पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अंक नगुमाउने लक्ष्यमा सफल भएपनि गोल गर्नमा भने फेरि पनि असफल भएको प्रतिक्रिया दिए । ‘खेलाडीले योजना मुताबिक नै खेले । तर फेरि पनि गोल निस्केन । सायद भाग्यले पनि हामीलाई साथ नदिएको होला । आशा छ, फाइनलमा हामी गोल गर्न सफल हुनेछौँ,’ प्रशिक्षक महर्जनले भने ।
किर्गिस्तानसँगको खेलमा मौका पाएका त्रिदेव गुरुङ र सन्जोग राइले बंगलादेशसँगको खेलबाट नेपाली सिनियर राष्ट्रिय टोलीका लागि डेब्यु गरे । किर्गिस्तानले युवा टोली उतारेकाले त्यस खेलले फिफाको मान्यता पाएन । जसका कारण शनिबारको खेलबाट मात्रै त्रिदेव र सन्जोगले सिनियर टिमको यात्रा सुरु गरे । दोस्रो हाफमा मैदान प्रवेश गरेका फुलब्याक निशान खड्काले पनि सिनियर टिमका लागि डेब्यु गरे ।
उता तीन खेलाडीलाइ डेब्यु गराएका बंगलादेशका मुख्य प्रशिक्षक जेम्स डेले गोल गर्न नसक्नु बंगलादेश वा नेपालको मात्र नभई, सबै दक्षिण एसियाली टिमको समस्या रहेको बताए । किर्गिस्तानसँगको खेलमा भन्दा फरक पहिला एघार उतारेका डेले आफ्नो टिमले दोस्रो हाफमा उही लय देखाउन नसकेको बताए ।
‘दोस्रो हाफमा हाम्रो खेल खस्कियो । नेपालले पनि दोस्रो हाफमा खेलाडी परिवर्तन गरेपछि हामीमाथ झन् दबाब सिर्जना ग¥र्यो । हाम्रो टिममा धेरै नयाँ खेलाडीहरु छन्, उनीहरु टिममा फिट हुन समय लाग्छ । जे होस हामी फाइनल पुगेका छौँ । यो खुशीको कुरा हो,’ बंगलादेशका मुख्य प्रशिक्षक डेको भनाई थियो ।
पहिलो खेल जित्न आत्मघाती गोलको सहारा लिएको बंगलादेशले नेपालविरुद्ध खासै राम्रो मुभ बनाउन सकेन । किर्गिस्तानसँगको खेलमा दोस्रो हाफमा मात्रै मैदान ओर्लेका कप्तान जमाल भुयानले मिडफिल्ड सम्हाले पनि पर्याप्त गोलको अवसर सिर्जना गर्न असफल रहे ।
बंगलादेशका लागि डेब्यु गरेका फरवार्ड सुमन रेजा सम्मिलत पाहुना टोलीको अग्रपंक्तिले नेपाली रक्षापंक्तिमाथि खासै दबाब सिर्जना गर्न सकेन । रेजा बाहेक रक्षक मोहम्मद इमोन र मिडफिल्डर मोहम्मद अब्दुलाहलाई पनि बंगलादेशी मुख्य प्रशिक्षक डेले डेब्युको मौका दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया