खेलकुद

युरोपियन खेलाडीबाट कतार विश्‍वकपको विषयमा प्रदर्शन किन ?

इकागज |
चैत १५, २०७७ आइतबार १३:४९ बजे

काठमाडौँ : सन् २०२२ को विश्वकप कतारले आयोजना गर्दैछ । विश्व फुटबलकै सर्वोच्च प्रतियोगिता आयोजना अधिकार अरब मुलुक कतारलाई दिइदाँ त्यसको व्यापक आलोचना भयो । जुन अहिले पनि रोकिएको छैन । खाडीकै सबैभन्दा सानो मुलुकलाई फिफाले विश्वकप आयोजना गर्ने अधिकार दिँदा किन आलोचना भएको हो ? कतारमा मानवअधिकारको अवस्था राम्रो नभएकाले । विशेषगरी आप्रवाशी कामदारको मानवअधिकार प्रत्याभुती नगरिने पश्चिमाको आरोप छ । 

गत महिना मात्रै बेलायती अखबार दी गार्डियनले कतार सम्बन्धि एक रिपोर्ट प्रकाशन गर्‍यो । जसका अनुसार कतारमा पछिल्ला १० वर्षमा करिब ६५ सय आप्रवाशी कामदारले ज्यान गुमाएका छन् । तीमध्ये अधिकांश विश्वकपका लागि निर्माणधिन रंगशालामा मजदुरका रुपमा कार्यरत रहेको गार्डियनको दाबी छ । कतारले १० वर्षअघि विश्वकप आयोजना अधिकार पाएको हो । त्यसपछिका वर्षमा विश्वकप सम्बन्धि ‘प्रोजेक्ट’ मा काम गर्दा ती कामदारहरूले ज्यान गुमाएको गार्डियनले फ्रेबुअरी २३ मा प्रकाशित आफ्नो रिपोर्टमा दाबी गरेको छ । 


मृतक मजदुरहरूमा सबैभन्दा धेरै भारतका रहेका छन् । गार्डियनका अनुसार पछिल्लो १० वर्षमा दुई हजार सात सय ११ भारतीय मजदुरले ज्यान गुमाएका छन् । भारतीयपछि मृत्य हुने धेरै संख्या नेपालीको छ । कतारले विश्वकप आयोजना गर्ने अधिकार पाएपछि एक हजार ६ सय ४१ नेपाली मजदुरले ज्यान गुमाएको गार्डियनको रिपोर्टमा उल्लेख छ ।  

कतारमा मानवअधिकारको अवस्था राम्रो नभएको भन्दै पश्चिमा संघ-संस्था र सञ्चार माध्यमले निरन्तर खबरदारी गरिरहेका छन् । त्यसका युरोपेली मुलुकका राष्ट्रिय टोलीहरू पनि थपिएका छन् । यसै साता विश्वकप छनौटका खेलहरु दौरान जर्मनी, नर्वे र दी नेदरल्यान्डसका खेलाडीहरूले मानवअधिकारको प्रत्याभुती हुनुपर्ने सन्देश लेखिएका टि-सर्ट लगाएर मैदान प्रवेश गरेका थिए । 

गार्डियनका अनुसार पछिल्लो १० वर्षमा दुई हजार सात सय ११ भारतीय मजदुरले ज्यान गुमाएका छन् । भारतीयपछि मृत्य हुने धेरै संख्या नेपालीको छ । कतारले विश्वकप आयोजना गर्ने अधिकार पाएपछि १ हजार ६ सय ४१ नेपाली मजदुरले ज्यान गुमाएको गार्डियनको रिपोर्टमा उल्लेख छ । 

यसै सन्दर्भमा जर्मन टिमका प्रभावशाली खेलाडी जोसुआ किमिचको भनाइ सार्वजनिक भएको छ । उनले कतारमा हुने विश्वकप बहिस्कार गर्ने निर्णयका लागि समय घर्किसके पनि मानवअधिकारका विषयमा विश्वलाई जागरुक बनाउन छाड्न नहुने बताए । ‘कतारले विश्वकप आयोजना अधिकार १० वर्षअघि पायो । त्यसबेला नै बहिस्कार गर्ने विषयमा छलफल हुनुपर्थ्यो । अब त त्यसका लागि ढिलो भइसक्यो । यद्यपि त्यहाँको मानवअबिकारका विषयमा हामीले बोल्न भने छाड्नु हुँदैन । फुटबलरले मात्रै होइन, अन्य पेशाकर्मीले पनि यस बारेमा जागरुक हुन आवश्यक छ,’ आइतबार हुने रोमानियासँगको खेल बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा किमिचले भने । 

गत बिहीबार जर्मनी र आइसल्यान्डबीच भएको खेल अगाडि किमिच र उनका सहकर्मी मानवअधिकार लेखेको टि-सर्ट लगाएर मैदान प्रवेश गरेका थिए । खेलाडीहरूको प्रदर्शनपछि जर्मन फुटबल संघ (डीएफबी) ले आफूहरु विश्वकप  बाहिस्कार गर्ने पक्षमा नरहेको तर खेलाडीहरूको कदममा समर्थन भने रहेको बताएको थियो । आफूहरू सधैँ लोकतन्त्र र मानवअधिकार प्रसत प्रतिबद्व रहेको पनि डीएफबीको भनाइ थियो । 

‘हामी फुटबलरहरूले महत्वपूर्ण विषयमा आफ्नो विचार राख्नुपर्छ । फुटबल जस्तो लोकप्रिय खेलले हामीलाई बोल्ने मञ्च दिएको छ । हामीले मानअधिकारका विषयमा बोल्नुपर्छ । हामीले आइसल्यान्डसँगको खेल दौरान त्यही गरेको हो,’ किमिचले भने । 

उता बेल्जियमका प्रशिक्षक रार्बटो मार्टिनेजले कतारमा हुने विश्वकप बहिस्कार गर्ने निर्णय भए त्यो ठिक नहुने प्रतिक्रिया दिए । ‘विश्वकप बहिस्कार गर्नु समस्याको समाधान होइन । विश्वकपले कतार र खाडीलाई विश्वको नजरमा ल्याउनेछ । उनीहरूलाई मानवअधिकारका विषयमा सुधारका लागि दबाब दिनेछ । हामीले बाहिस्कार गरेर परिवर्तन हुँदैन । बरु हामीले खाडीमा मानवअधिकारका सम्बन्धि समस्यालाई सम्बोधन गर्न आवश्यकीय संस्था स्थपना गर्न दबाब दिनुपर्छ । कतारी सरकार त्यस विषयमा अघि बढेको पनि छ,’ मार्टिनेजको भनाई थियो । 

यसैबीच कतारी विश्वकप आयोजक कमिटीका तर्फबाट बिहीबार विज्ञप्ती पनि बाहिर आयो । आफहरू आप्रवाशी कामदारको सुरक्षा प्रति सधैँ सचेत रहेको कतारको भनाइ थियो । ‘विश्वकपका लागि रंगशालाहरुको निर्माण सन् २०१४ मा सुरु भएको हो । निर्माण दौरान तीनजनाले ज्यान गुमाएका छन् । त्यही समयमा अन्य ३५ जनाको पनि मृत्य भएको छ । तर उनीहरूको मृत्य रंगशाला निर्माणसँग सम्बन्धित छैन । हामी सबै घटनामाथि छानबिन गरिरहेका छौँ । यी घटना हाम्रा लागि पाठ हुन्,’ कतारले भनेको छ ।  (दी गार्डियन र रोयर्टसको सहयोगमा) 


Author

थप समाचार
x