विचार-वार्ता

‘सौगात परिवार’को देउसीभैलो

विजयकुमार श्रेष्ठ |
कात्तिक २४, २०७७ सोमबार १६:१६ बजे

‘सौगात परिवार’ को नाममा देउसी–भैलो गाउन विश्राम लिएपछि पनि म तिहारमा मेरो जन्म थलो जाँदा, मेरा दिदीहरू, चमा (सानिमा)हरूबाट सुन्ने गर्छु, ‘बाबु तैले जस्तो कसैले पनि देउसी–भैलो भट्याउँदैन ।’ त्यही कुराले विगतका दिनमा तिहार ताका गाउँदै हिडेको देउसी–भैलो मेरो मानसपटलमा जीवित बनेर आउँछ । 
ठयाक्कै यकिन त छैन तर मैले पक्कै पनि छ–सात वर्षकै उमेरदेखि देउसी भैलो गाउन सुरु गरेको हुनुपर्छ, त्यो पनि भट्याउनेको भूमिकामा ।

रातो माटो, चिप्लो बाटो 
छानामाथि घिरौँला, के के दिन्छन् हेराैंला
झिलीमिली झिल्ला, तातो रोटी मिल्ला ।।
यस्तै यस्तै, रेडियोमा सुनेको भरमा देउसीभैलोका टुक्काहरू सङ्गालेर भट्याउने गर्थेँ । (हाल रत्ननगर ११, चितवन सविकको पञ्चकन्या  गाबिस–१ मा मेरो जन्म घर छ । )


त्यो केटाकेटी समयमा नै तिहारमा देउसीभैलो गाउनुपर्छ भनी हामी २–३ महिना अगाडि देखि नै ५–७ जनाका स–साना समूहहरू बनाउन सुरु गथ्र्यौं । हाम्रो समूहमा भने हाम्रै घर अघिल्तिरकी छिमेकी (नाताले चमा पर्ने) की तीन जना छोराहरू र हाम्रा तीनजना दाजुभाइहरू गरी छ जना हुन्थ्यौँ । उमेरको हिसाबले, हाम्रो समूहमा तीनदेखि आठ वर्षसम्मका, दुई परिवारका छजना दाजुभाइ हुने गथ्र्यौं ।

यसरी समूह बनेपछि, हामी २–३ महिना अगाडिदेखि नै देउसी भैलो गाउन राति जानु पर्ने भएको हुनाले उज्यालोको लागि राँको बनाउन, साइकलका पुराना टायरका टुक्राहरू सङ्कलन गरी लामा लामा काठका टुप्पामा बेसरी बाँधेर तिनलाई सुरक्षित ठाउँमा राख्थ्यौं । त्यसपछि हामी लौरी बनाउनतिर लाग्थ्यौं। खासमा देउसीभैलो गाउन जान लौरी नै बोकेर जानुपर्ने हो कि होइन थाहा भएन, त्यसताका लौरी बनाउनु भने अनिवार्य नै थियो । 

हामी गोरु तिहारको साँझ मात्रै, २–३ महिना अगाडिदेखि नै राँकोका लागि  तयार परिएका सामग्रीहरू लिएर हाम्रो सानो छ जनाको समूह वल्लो–पल्लो घर देउसीभैलो गाउन निस्किन्थ्यौं ।

हामीसँग पैसा, चामल, सेल रोटी र फलफुल राख्ने, छुट्टाछुट्टै झोला हुन्थे । ती झोलाहरू काँधमा भिरेर छ जना दाजु–भाइ देउसीभैलो गाउन निस्किन्थ्यौं । 
त्यसरी त्यो केटाकेटी उमेरमा साँझ एकाध घण्टा देउसी गाएर जम्मा भएको सबै दानपैसा सङ्कलन गरी हामी हाम्रो घरमा राख्थ्यौं । भोलिपल्ट भने सङ्रलन भएको दानपैसा बाँडफाँड गर्ने काम हुन्थ्यो । त्यसरी दामासाहीले भाग लगाउँदा भागमा एक मानाजति चामल र २–४ रुपैँया पर्न आउँथ्यो । प्रत्येक वर्ष यसरी नै निरन्तर रुपमा हामी देउसीभैलो गाउन जान्थ्यौँ ।

 तर मेरो भने सधै भट्याउने नै जिम्मा हुन्थ्यो । यसरी बर्सैपिच्छे देउसीभैलो भट्याउने अनुभव बटुल्दै, सुरुका वर्षमा भन्दा मिलाएर, म बलीहाङ राजाको कहानी, काली नागको कहानीलाई देउसीभैलो लयमा भट्याउन सक्ने भैसकेको थिएँ ।

यसरी वर्षहरू बित्दै जाँदा, यो वर्ष (म कक्षा १० मा पढ्थें), भने हामी ससानो समूहमा देउसीभैलो गाउन नगएर एउटा ठुलो समूहमा जाने भनेर योजना बन्यो । 
सोही योजनाअनुसार भर्खर विदेशबाट घर पर्कनु भएका सेवक दाइको घरमा नाचगान सिक्ने र सिकाउने काम केही महिना अगाडिदेखि नै सुरु भयो ।

राँको र लौरी बनाउने हामीहरू अब नाचगान सिक्ने र सिकाउनेतिर लागेका थियौं । दाजुले विदेशबाट डेक र स्पिकर लिएर आउनुभएको थियो । त्यही डेक र स्पिकर लिएर देउसीभैलो खेल्न जाने अनि नाचगान गर्ने भन्ने हाम्रो सल्लाह भएको थियो । सधै सानो समूहमा देउसीभैलो गाउने हामीहरू, अब भने २०–२५ जनको ठूलो समूह तयार गर्न सफल भएका थियौं ।

यसपाली  केवल गोरु तिहारको दिन मात्रै नभएर कुकुर तिहारकै दिनदेखि, भाइटीकाको भोलिपल्टसम्म हामीले देउसीभैलो गाएका थियौँ । निकै रमाइलो भएको थियो त्यो वर्ष ।

धित मर्ने गरी रातभरजसो देउसी गाएका थियौं । त्यो साल हामीले दानपैसा पनि राम्रै सङ्कलन गरेका थियौं  र बाँडफाँडमा पनि राम्रै पैसा हात परेको थियो । सानो होस् या ठूलो सबैलाई दामासाहीले बाडेका थियौं । 

त्यही सालको अनुभवबाट नै अब हामी सानो समूहमा नभई एकजुट भै ठूलो समूहमा देउसीभैलो खेल्नुपर्नेरहेछ भन्ने निचोडमा पुगेका थियौं । सदाझैं यो ठूलो समूहमा पनि मेरो मुख्य भूमिका भनेको भट्याउने नै थियो । 

यो समयसम्म आइपुग्दा म देउसीभैलो  गाउन भनी हामी पुगेको घरमुली लाई, विभिन्न नातागोता लगाउदै, विभिन्न कहानीहरू सुनाउदै, मक्ख पार्दै, नाङ्लोमा थप पैसा राख्न बाध्य बनाउन वा फकाउन सक्ने  भइसकेको थिएँ । यसरी ठूलो समूहमा देउसीभैलो गाएर उठेको पहिलो बर्षको रकम बाँडफाँड गरे पनि पछिल्ला वर्षहरूमा हामीले त्यसो गरेनौँ ।  बरु हाम्रो समूहलाई हामीले ‘सौगात परिवार’ भन्ने नाम दियौं ।

केटाकेटी उमेरमा साँझ एकाध घण्टा देउसी गाएर जम्मा भएको सबै दानपैसा सङ्कलन गरी हामी हाम्रो घरमा राख्थ्यौं । भोलिपल्ट भने सङ्रलन भएको दानपैसा बाँडफाँड गर्ने काम हुन्थ्यो । त्यसरी दामासाहीले भाग लगाउँदा भागमा एक मानाजति चामल र २–४ रुपैँया पर्न आउँथ्यो । प्रत्येक वर्ष यसरी नै निरन्तर रुपमा हामी देउसीभैलो गाउन जान्थ्यौँ ।

 सङ्कलन भएको रकमबाट गाउँमा कुनै माङ्गलिक कार्य हुँदा प्रयोगमा आउन सक्ने भनी केही पकाउने भाँडाहरू र थुप्रै ससाना प्लेट, चम्चा, गिलास र अन्य केही जिन्सी सामानहरु किनेका थियौं । 

यसरी २–३ वर्ष सामूहिक रुपमा देउसीभैलो खेल्दै जाँदा, सङ्कलन भएको रकमबाट समाजकै लागि भनी जिन्सी सामान किन्दा हाम्रो नाम दिन प्रतिदिन चुलिँदै गएको थियो । नामको साथसाथै हाम्रो नाँचगान र भट्याउने शैलीमा निखारता आउँदै गएको थियो । सामूहिक नाचगानलाई अझ प्रभावकारी बनाउन हामीले त्यही सङ्कलित पैसाबाट सांस्कृतिक पोसाक पनि किनेका थियौं, यसले हाम्रो कार्यक्रममा सुनमाथि सुगन्ध थपेको थियो ।

दह्रो कार्टुनका टुक्राहरू काटेर त्यसमाथि पहेँलो कागज टाँसेर ठयाक्कै सुनजस्तै देखिने गरगहना बनाएका थियौं । त्यो पनि किफायतीका लागि । यसरी सांस्कृतिक पोसाकमा गरगहना लगाएर देउसीभैलो नाच्दा, हाम्रो समूह अब भने आफ्नो गाउँमा मात्रै नभई यत्रतत्र सर्वत्र पनि चर्चित बन्दै थियो ।

‘सौगात परिवार’ को हरेक महिनाको अन्तिम शनिबार बैठक बस्थ्यो । बैठकमा हामी विभिन्न योजनाहरू बनाउँथ्यौं र समस्याहरूमाथि छलफल गर्दथ्यौँ । साथै भएका छलफललाई बैठक पुस्तिकामा लेख्थ्यौं । यसरी ‘सौगात परिवार’  एक परिपक्व संस्था पनि बन्दै गयो ।

त्यस्तै मासिक छलफल मध्यकै कुनै एक महिनाको छलफलमा मेरो हजुरबुबा देव नरसिंह श्रेष्ठले सौगात परिवारलाई १० धुर (हालको मूल्य करिब २० लाख) जग्गा सहयोग गर्ने र सो जग्गामा सौगात परिवारले सरस्वती मन्दिर र आफ्नो कार्यालय भवन बनाउने प्रस्ताव राख्नुभयो । 

सो प्रस्तावलाई हामी सबैले स्वीकार्यौ । मन्दिर र कार्यालय भवन निर्माण गर्ने जिम्मेवारी भने हाम्रो काँधमा थपियो ।  यसरी उक्त जिम्मेवारी पूरा गर्न चाहिने आर्थिक सहयोग सङ्कलनको लागि गरिने विभिन्न सहयोग कार्यक्रमहरुमध्ये देउसीभैलो कार्यक्रम हाम्रो मूल हिस्सा बन्न पुग्यो । र आगामी वर्षहरूमा हाम्रो देउसीभैलो अझ परिपक्व हुँदै गयो । हामी करिब ४०–५० जनाको समूहमा हाम्रो गाउँभन्दा धेरै टाढा टाढासम्म काग तिहारकै दिनदेखि एकादशीको दिनसम्म देउसीभैलो कार्यक्रम गथ्र्यौं । 

त्यसरी टाढा टाढा चिनेजानेका आफन्तको घरमा देउसीभैलो कार्यक्रम आउँदै छ है भनेर खबर गर्न र हाम्रो देउसीभैलो कार्यक्रमको मूल उद्देश्य बुझाउन तिहार अगाडि नै, त्यसताका हाम्रो समूहका सचिव (कृष्ण श्रेष्ठ ), अध्यक्ष (मनोज राना ) र म (कोषाध्यक्ष) साइकल चडेर, शुभकामना सन्देश दिन र सहयोगको लागि पत्र बुझाउन पुग्थ्यौँ । र उँहाहरूले भन्नुभएको समयअनुसार नै हामी देउसीभैलो कार्यक्रम गर्न पुग्थ्यौँ । 

द्वन्द्वकाल ताका राति अबेरसम्म देउसीभैलो कार्यक्रम गर्न निषेध थियो । तसर्थ हामी विहानको खाना खानेबित्तिकै, हाम्रो ट्याक्टरमा चढेर टाढा–टाढा खबर गरेअनुरुप आफन्तको घर घरमा, या भनौं चोक–चोकमा देउसीभैलो कार्यक्रम गर्न पुग्थ्यौँ ।

त्यसरी हाम्रो समूहको नाम वर्षपिच्छे प्रचलित हुँदै गयो । ‘सौगात परिवार’ त्यति प्रचलित भैसकेको थियो कि विभिन्न ठाउँबाट हामीलाई देउसीभैलो कार्यक्रम लिएर आउनुहुन निम्ता नै आउँथ्यो । 

हामी उहाँहरूको निमन्त्रणालाई स्वीकार्दै चोक चोकमा कम्तिमा पनि तीन–चार घण्टा देउसी भैलो कार्यक्रम गर्थ्यौं । हाम्रो नाचगानलाई समुदायमा लोकप्रिय थियो । 
स्वच्छ भावना बोकेर गरिएको देउसीभैलो कार्यक्रम भएर अनि द्वन्द्वकालले पारेको प्रभावले पनि होला, हाम्रो नाचगान त्यति उच्छृंखल हुँदैनथे । हामी विशेष गरेर लोकगीत र राष्ट्रिय गीतहरूमा आफ्नो कला प्रस्तुत गथ्र्यौं । 

ठूलो सङख्यामा उपस्थित नृत्य टोलीले रङ्गीबिरङ्गी राष्ट्रिय अनि सांस्कृतिक पोसाक लगाएर ‘पश्चिम कोही पूर्व घर’, ‘यो नेपाली शिर उचाली’ जस्ता गीतहरूमा नृत्य प्रस्तुत गर्दा सबैको मन्न लोभिन्थ्यो । सबै जना मन्त्रमुग्ध भएर हेर्थे । र कतिले त भन्ने गर्नुहुन्थ्यो, ‘तपाईंहरूको यो नाँच देखेर शरीरको रौँ नै खडा भयो, सारै भावुक बनायो ।’

सबैलाई भावुक बनाएर नाचगान प्रस्तुत गर्दा एउटै चोकमा कम्तिमा पनि २०–२५ घरबाट नाङ्लोभरि दानपैसा लिएर सौगात परिवारलाई सहयोग गर्नेहरूको लर्को लाग्थ्यो । 

त्यति धेरै माया अनि सहयोग देख्दा आँखाभरि हर्षका आँशु रसाउँथे । अनि मनमनै सोच्ने गर्थे, भट्याउने बेलामामा धेरै राम्रो आशिष दिनेछु । हाम्रो देउसी भैलो कार्यक्रम हेर्न झण्डै दुई सय दर्शकहरू नै जना जति गोलबद्ध भएर उभिन्थे । देउसीभैलो कार्यक्रम गर्ने क्रममा, सौगात परिवारलाई नचिन्ने थोरै मात्र हुन्थे । यसरी एउटा सानो ६ जनाको समूहबाट देउसीभैलो भट्याउने सुरु गरेको मैले यत्रो डेढ–दुई जनाको समूहलाई देउसीभैलोको लयमा  सम्बोधन गर्दै, सबैको मन राख्दै, आशिष दिँदै बिदावारी हुँदा मन प्रफूल्ल हुन्थ्यो । 

सदाका वर्षझैं देउसीभैलो भट्याउने मेरो जिम्मेवारी थियो नै, यो अवस्थासम्म आइपुग्दा मैले भने देउसीभैलो भट्याउने विषयलाई परिवर्तन गरेको थिएँ । त्यसबखत म देउसी भट्याउने क्रममा द्वन्द्वमा फसेको नेपाल आमाको आलो घाउलाई देउसीभैलोको लयमा भट्याउने गर्थें । 

यसरी हामीले दिनहुँ समाचारमा सुन्दै आएको, देखेको, आफ्नै आफन्तले भोगेको, या स्वयं आफैले भोगेको माओवादी द्वन्द्वकालको आलो घाउहरूलाई देउसीभैलो लयमा भट्याउँदा कतिका आँखा रसाउँथ्यो । यसरी सांस्कृतिक नाचगान प्रस्तुत गरेर सबैको मन जितेको ‘सौगात परिवार’ को देउसीभैलो कार्यक्रममा द्वन्द्वकालमा घटेका घटनाहरूलाई लयबद्ध रुपमा भट्याउँदा अनि ‘देउसिरे’  भन्दा सबैजना स्तब्ध र भावुक हुनपुग्थे । 

दानपैसा लिएपछि आशिष दिनु, देउसीभैलोको एउटा नियम नै हो । यसरी आशिष दिने क्रममा म भने ‘यसपाली आउँदा टिनको छानो, अर्को पाली आउँदा सुनको छानो’ भन्ने जस्ता कुराहरु नगरी वास्तविक घटनालाई समेटेर आशिष दिने गर्थें । 

‘सौगात परिवार’ लाई प्रतिनिधित्व गर्दै म आशिषको रुपमा अब देशमा सुख शान्ति छाओस्, समृद्धि छाओस, भाइभाइ बीचको द्वन्द्व समाप्त होस्, कसैलाई रोगभोग नपरोस्, भनी लयबद्ध रुपमा देउसीभैलो भट्याउदै आशिष दिने गर्थें । यसरी वास्तविक कुरालाई समेटेर, द्वन्द्वका कहानीहरू बताउँदा सबैको मन छुन्थ्यो नै ।

सायद तत्कालीन समयमा घटेका वास्तविक घटनाहरूलाई समेटेर लयबद्ध रुपमा देउसीभैलो भट्याउने भएकै कारणले होला आज पनि तिहारको समयमा मलाई भेटेपछि मेरा  दिदी, चमाहरूले, ‘बाबु तैंलेजस्तो कसैले पनि देउसीभैलो भट्याउदैंन’ भन्नुभएको । 

हालसम्म पनि मेरो जन्म थलोमा हामीले रोपेको अनि हुर्काएको ‘सौगात परिवार’ सञ्चालित नै छ । सहयोगस्वरुप प्राप्त गरेको जग्गामा ‘सरस्वतीको मन्दिर’ बनेको छ । सरस्वती पूजाको दिनमा टाढा–टाढादेखि आउने भक्तजनहरूको घुइँचो नै लाग्ने गर्छ । मन्दिरको रेलिङ्गमा जडित पालामा आफ्नो, अनि आफन्तहरूका नाममा  बत्ती बाल्नेहरूको लर्को लाग्छ । 

साँझको समयमा सबैजना गाउँलेहरू जमघट भई भजनकिर्तन गर्न मिल्ने राम्रै किसिमको पालि भएको सौगात परिवारको एक कोठे कार्यालय भवन छ ।
सौगात परिवारले विभिन्न बाध्यबादन र जिन्सी समानहरू प्रत्येक वर्ष थप्दै लगेको छ । ती समानहरू गाउँमा हुने पुजाआजा , विवाह (ब्रतबन्ध, भोजभतेर हरूमा गाउँलेहरूले लगेर प्रयोग गर्ने गर्छन् । प्रयोग गरेबापत केही रकम सौगात परिवारलाई सहयोग पनि गर्छन् । 

पछिल्लो समयमा रत्ननगर नगरपालिकाको नियममुताबिक नै  हाम्रो गाउँको नामनै ‘सौगात टोल’ भनी दर्ता गरिएको छ । चोकको नाम ‘सौगात चोक’ रहन गएको छ ।

आजको दिनमा भने , त्यसरी ‘सौगात परिवार’ को नाममा देउसीभैलो कार्यक्रम गर्दै रमाउने हाम्रो ठूलो समूह जिन्दगीको लडाइँ लड्दै, आ–आफ्नो कार्य क्षेत्रमा छरिएर रहेको छ तर पनि, हामीले खनेको जग र हामीले गाउँदै हिडेंको देउसीभैलोलाई ‘सौगात परिवार आमा समूह’ गठन गरी हाम्री आमा, चमा, धमा (ठुलीआमा), माइजू, भाउजू, दिदीहरूले जीवित राख्नुभएको छ । सौगात परिवारको देउसीभैलोलाई जीवन्तता दिने उहाँहरुको पहल देखेर कसको आँखा रसाउँदैन होला र !


Author

थप समाचार
x