विचार-वार्ता

बीपी कोइराला र राष्ट्रियता

गोपी मैनाली |
साउन ७, २०७९ शनिबार १५:२३ बजे

बीपी भन्ने गर्थे ‘राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना’ हो । उनी माटो र मुटु, भूगोल र भावनाबीचको एकत्व निर्माण राष्ट्रियता मान्ने गर्दथे । जब मानिसहरू एकै भूगोल वा देशमा रहेर पनि समान पहिचान, आपसिकता र आफूहरूबोधको अपनत्वमा रहँदैनन्, त्यसबेला राष्ट्र निर्माण कठिन हुन्छ वा राष्ट्रियताको भावना विकास हुँदैन । खास समुदाय र भूगोलमा रहेका मानिसहरूको एकत्वको अनुभूतिले स्थापित गर्ने सामूहिक पहिचान ‘राष्ट्र’ हो, राष्ट्रियता त्यसको विशेषणिक पक्ष हो, जसले साझा मूल्यका रूपमा नेपालीपन संस्थागत गर्दछ ।

आफ्नै पहिचानको राष्ट्र निर्माणको जग बसाल्छ । धेरै पहिचानबीचको साझा पहिचान नै राष्ट्र हो र त्यसो गर्नुपर्छ भन्ने भावना राष्ट्रियता हो । त्यसैले बीपी भूगोलको एकीकरणमात्र होइन, भावनाको एकत्वीकरणमा राष्ट्र देख्ने गर्दछन् । जब राष्ट्र निर्माण वा राष्ट्रियताको बहस हुन्छ, त्यसबेला जनतालाई केन्द्रबिन्दुमा राख्नुपर्ने आग्रह बीपीको छ । 


राष्ट्रियताको सन्दर्भमा प्रथम र अन्तिम तत्व जनता हो भन्ने मान्यता राखेका कारणले व्यावहारिक राष्ट्रवाद उनको दृष्टिकोण हो भन्ने देखिन्छ । छरिएर रहेका जनताको मनोभावनालाई समेट्ने कामले राष्ट्रियता विकास गर्छ, भनौं राष्ट्रियता त्यसको जगमा उभिन्छ । भूगोलभित्र राज्यसंयन्त्रका औपचारिकताले राष्ट्रियता संस्थागत गर्दैन । त्यसैले बीपी जनताका आवश्यकता–आकाङ्क्षाप्रति ग्रहणशील रहने, समस्या पहिचान र संवोधन गर्न व्यापक प्रयास गर्ने र त्यस प्रयासबाट सिर्जना हुने सामुहिक भावना (आपसिकता) लाई राष्ट्रियता भन्ने गर्छन् । अर्को शब्दमा (क) जनता, (ख) जनताका अनुभूत समस्या, (ग) ती समस्या (र आकाङ्क्षा) पूरा गर्ने सामूहिक भावनासहितको प्रयन्त, र (घ) ती प्रयत्नमा अनुभव गरिने एकताको भावनालाई राष्ट्रियता मान्दछन् । यी चार तत्वको अन्तरक्रियालो नै सवल राष्ट्र निर्माण हुन्छ । भनौं, राष्ट्रियता संस्थागत हुन्छ । 

समकालीन चिन्तन् र अभिव्यक्तिहरूमा राष्ट्र र राष्ट्रियतामा विषयमा अन्तरमनबाट लिने र बुझाईमा फराकिलो दृष्टिकोण राख्ने गरिदैन ।  त्यसैले राष्ट्रिय विकास भएको छैन । भनिएको राष्ट्रियतामा एकत्व भन्दा विभाजन छ, निर्माणभन्दा विसर्जनमा छ । सबैका भावना र विचार, पहिचान र प्राथमिकता नसमेटिएमा राष्ट्र निर्माण होइन, राष्ट्र विसर्जनको खतरा बढ्छ । राष्ट्रियता सवल बनाउने प्रक्रिया भनेको समन्यायिक विकासको प्रक्रिया हो, समृद्धिको निर्माण र वितरणको प्रत्याभूति हो, सेवा र सुशासनको संस्थानीकरण हो । राष्ट्रियता मजवुत भएको समाजमा देशप्रति नागरिक गर्ववोध गर्छ । त्यसैले नागरिकलाई त्यस देशको नागरिक हुनुमा गर्ववोध गराउने प्रणाली भएमा मात्र राष्ट्र जनताको मन मुटुमा पुग्छ । 

बीपी लोकतन्त्र र राष्ट्रियतालाई अभिभाज्य मान्दछन् । अर्को शब्दमा लोकतन्त्र भन्नु राष्ट्र निर्माणको विधि हो । लोकतन्त्रका संस्थाहरू चलायमान हुँदा जनताका भावना चलायमान हुने गर्दछन्, अनि न नागरिक मुलुकबासी हुनुको गर्व गर्छ । बीपीले बारम्बार भन्ने गरेका थिए, राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुनसक्छ, र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण अवस्थामा मात्र बलियो हुन्छ । उनले सङ्घर्ष गरेको निर्देशित पञ्चायती व्यवस्थामा राष्ट्रियताको प्रतीक व्यक्ति हुन्थ्यो, जनता देशका अंशियार होइन, रैती थिए, न सहभागिताको प्रक्रिया थियो न वैयक्तिक स्वतन्त्रताको कुनै गुञ्जायस नै । त्यसैले उनले नेतृत्व गरेको राजनीतिक विचारधारा राष्ट्रियता, प्रजातन्त्र, विकास र उन्नति अन्वन्याश्रित छन् भन्ने दृष्टिकोण राख्दथ्यो । भन्ने गरिएको प्रजातान्त्रिक समाजवाद त्यही दृष्टिकोण थियो । राष्ट्रियताको कुरा गर्दा प्रजातन्त्रप्रति मौन रहने हो भने अधिनयकत्व आउँछ र प्रजातन्त्रको कुरा गर्दा राष्ट्र रक्षाको कुरालाई उपेक्षा ग¥यो भने विदेशी तत्वको हतियार बनिन्छ भन्ने व्यावहारिक तर्क राख्थे । आजको राजनैतिक समाजका लागि उनको यो विश्लेषण निकै व्यावहारिक देखिन सक्छ ।

राष्ट्रियता भनेको सबै राष्ट्रवासी हो । सबै जनताको पहिचान र मूल्यबोध, प्राथमिकता, विकास, विविध संस्कार र संस्कृति, अधिकार, कर्तव्य, चेतनाको एकट्ठा हो, यी बिरुद्धको सावधानी र चुनौतीबोध हो । समाजमा तहसोपान, पहिचानको अस्वीकार्यता, आस्थाको विभाजन, बञ्चिती र अभाव आवश्यकताको छट्पटीले राष्ट्रियता कमजोर बनाउँछ, अझ भनौं राष्ट्र निर्माण हुन दिदैन । बीपी कोइरालाको राष्ट्रियता र प्रजातन्त्रिक समाजवादको भावनालाई नेपालको संविधानले आफूमा समाविष्ठ गरेको छ । यसको व्यावहारिक परिणति पाउन बाँकी छ । जे होस् यति पछि बनेको संविधान, अर्को पुस्ताको नेतृत्वमा पनि उनका भावना समेटिन पुग्नु भनेको उनी कति कालजयी र दृष्टिवोधी रहेछन् भन्ने स्पष्ट हुन्छ । 

बीपीको राष्ट्रवादी चिन्तन उनी आफै असजिलो अवस्थामा पर्दा समेत गाढा देखिन्थ्यो । तत्कालीन शासकको व्यवहारबाट लामो समय भारत प्रवासबाट नेपाल फर्किन लाग्दा (डिसेम्वर ३०, १९७६) देशवासीलाई गर्नु भएको अपिलमा मुलुक राष्ट्रिय सङ्कटमा परेको, राष्ट्रिय पहिचान नै खतरामा रहेको र बाह्य शक्तिले नेपालको राष्ट्रिय हितविरुद्ध चलखेलको संभावना बढेकाले राजा, जनता र राजनीतिकर्मी सवैले राष्ट्रलाई मनमा राख्न आह्वान गरेका थिए । राजनैतिक दलहरू प्रतिबन्धित भएको अवस्थामा, प्रवासमा रहेको अवस्थामा पनि राष्टलाई केन्द्रविन्दुमा राख्ने आह्वानले राष्ट्रिय चिन्तनको उच्च द्योतन गर्छ । भारतीय स्वतन्त्रता सङ्ग्राम र बङ्लादेशको मुक्तिका लागि आफै सङ्घर्ष गरेका बीपीले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भने शान्तिपूर्ण रणनीति उपयुक्त मानेका थिए । नेपालको भूराजनीतिक अवस्था र ऐतिहासिक पृष्ठभूमिले पनि त्यसो गर्ने प्रेरित गरेको उल्लेख गरेको छन् । राष्ट्रिय एकताका लागि नेपाली जनता भावानात्मक रूपमा नै आन्दोलित हुनुपर्ने निस्कर्ष उनको थियो । यसले माटो, मुटु र लोकतन्त्र वा भावना, भूगोल र विकासलाई एकीकरण गर्ने विषयबाेध गराउँथ्यो । तत्कालीन अवस्थामा उनको विरोध गर्नेहरू पनि भन्ने गरेका छन् ‘बीपीको चिन्तनलाई अगाडि बढाए देश बन्छ’ । 

विदेशी सम्बन्ध राष्ट्रियता प्रवद्र्धनको बाह्य आयाम हो । बीपीले प्रधानमन्त्री भएको समय (२८ मे, १९५९) दिएको वक्तव्यले नेपाल शक्ति राष्ट्रसंग असंलग्न हुनुपर्ने र बाह्य मुलुकसँग व्यवहार गर्दा राष्ट्रिय हित केन्द्रमा रहनुपर्ने कुरामा जोड दिएका थिए । शक्ति र सीमा विस्तारमा रहेका छिमेकी मुलुकहरूसंग उनको सुझवुझपूर्ण व्यवहारले सन्तुलित कुटनीतिबाट नै साना र विपन्न मुलुक विश्वमञ्चमा प्रभावकारी बन्न सक्दछन् भन्ने सन्देश दिन्छ । शीतसङ्घर्षमा दुई ध्रुवीय बनेको विश्वलाई पनि उनले सिद्धान्तले सन्तुलित व्यवहार गरेका थिए । वर्तमान समयमा बहुराष्ट्रिय संस्था, कर्पोरेट गुरिल्ला र उदीयमान बाघ अर्थतन्त्रहरू आर्थिक विस्तारवादमा सञ्जाल विस्तार गरिरहेका छन् । उनको बाह्य सम्बन्धको चिन्तन अहिले पनि झनै सान्दर्भिक छ । 

अन्तरिक नीति व्यवहारमार्फत राष्ट्रिय एकता कायम गर्न बीपीसँग स्पष्ट दृष्टिकोण थियो, जसले आर्थिक उत्पादन र स्रोत सङ्गठनमाथि सम्भ्रान्तहरूको पकड भत्काउने, निजी क्षेत्रको उत्पादनशील क्षमताको व्यवस्थित उपयोग गर्ने र वितरण न्याय सहितको आर्थिक कार्यक्रम संस्थानीकरण गर्न जोड दिन्थ्यो । उनीपछि सरकार नेतृत्व गर्ने राजा, प्रधानमन्त्रीले यसलाई अनुकरण गरेर जनभावना बटुल्ने प्रयास त गरे तर त्यसको अन्तर्यमा पुग्न नसकाले ती देखावटीमात्र बने । परिणाम मुलुक अहिलेको अवस्थामा छ । 


Author

थप समाचार
x