विचार-वार्ता

शिवपुरी जंगलको आगलागी यसरी नियन्त्रणमा आयो

डढेलोको जाेखिम कायमै छ

उद्धवप्रसाद खरेल |
चैत २९, २०७७ आइतबार २१:१९ बजे

बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धव प्रसाद खरेल

बूढानीलकण्ठ नगरपालिका वडा नं. १ र २ को उत्तरतर्फ शिवपुरी राष्ट्रिय निकुञ्जको सीमानाभित्र बूढानीलकण्ठ र तारेभीर गोकर्णेश्वरतिर जाने बाटो, जहाँ धोबी खोलाको शीर उद्गम विन्दु रहेको छ, त्यहाँ कसैले आगो हालिदियो । आज बिहान (आइतबार) नौदेखि १० बजेभित्र त्यो आगो सुरु भएर तीन हजार रोपनीभन्दा बढी घना जंगलमा माटो देखिने गरी आगलागी भयो । सल्लाको बोट बढी भएको, सल्लाको पात बाक्लो र सुकेको त्यो ठाउँमा आगो यसरी फैलियो कि त्यो आगोको गति एक डेढ घण्टाभित्र डेढ किलोमिटर माथि गुम्बासम्म पुग्यो ।

गुम्बाबाट बूढनीलकण्ठबाट सुन्दरीजल जाने सडक नाघ्यो । त्योबीचमा रहेको अर्काे गुम्बा पनि बडो खतरामा थियो । हामीले तत्काल दमकल लग्यौं ।  सशस्त्र प्रहरीको, महानगरको दमकल पठायौं, तर बाटो नाघेर शिवपुरीभित्र माथि जान सकेन । तल झन्डै झन्डै एक सय भन्दा बढी नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय विपद् व्यवस्थापन समिति, स्थानीय समुदाय एक बोतल पानी भए पनि लिएर गएका छन् । साबेल, कुटो, कोदालो सबै त्यो सीमारेखा, पतकर सबै हटाएर, काटेर तल बस्तीमा आगो आउन सकेन । सारा मान्छेले दुःख गरे । यत्रो हाम्रो उत्तरको वाटरसेड (पानी ढलो) क्षेत्रको जंगल खत्तम भयो भन्दै हामी विचलित भयौं ।


त्यसपछि अपरान्ह चार बजे सिम्रिक एयरको एकजना मित्र, जो यतैकै हुनुहुन्थ्यो उहाँले मलाई फोन गर्नुभयो र भन्नुभयो पानी हाल्नुप¥यो हेलिकप्टरबाट भनेर । मैले हुन्छ भने । पानी कहाँ छ भन्ने भयो । सजिलो पोखरी थिएन । मैले सीडीओसाबलाई भने, विपद् व्यवस्थापनको करसाब (कर्णेल) लाई भने । सीडीओ साबले भन्दिनुभयो । सुन्दरीजलबाट पानी ल्याउने कुरा भयो । सुरुमा सुन्दरीजलमा गएर पानी ल्याइयो । मेलम्चीको पानी प्रशोधन केन्द्र रहेछ । टाढा भयो । आउन जान धेरै समय लाग्यो । हेलिकप्टरले थोरै मात्र पानी बोक्दो रहेछ ।

यहीं बूढानीलकण्ठमा एकजना मित्रले माछापालन गर्नुभएको रहेछ । माछा पालेको ठाउँमा हेलिकप्टर लगेर भाँडो डुबाएर २० खेप पानी लगेर हाल्यो । हेलिकप्टरले पानी ओसारेर हालेपछि आगो निभ्यो भनेर हामी पाँच बजेतिर हिंड्यौं । त्यसको एकघण्टापछि (६ बजेतिर) फेरि त्यहाँ २०, ३० मिटर जति आगोको राँको देखिइहाल्यो । फेरि त्यहाँ तुरुन्तै मान्छेहरु जम्मा भएर टर्च लिएर गई निभाए । तर, सेनाको स्टाफ कलेज नजिकै (बिहान आगलागी भएको भन्दा अलग ठाउँ) मा यतिखेर (आइतबार राति सवा नाै बजे) आगलागी भएकाे भनेर सुन्दै छु । मानिसहरू गइरहेका छन् । 

नगरवासीहरु, विपद् व्यवस्थापनमा लागेका मित्रहरु सबैको सहयोगको सहयोग र सिम्रिक एअरको सहयोगले आगो निभाउन सफल भए । सिम्रिक एअर भनेको पैसा कमाउने व्यावसायिक कम्पनी हो ।

उहाँहरुले कहिलेकाहीं हाम्रो यहाँ बूढानीलकण्ठबाट गोसाइँकुण्ड उडान भर्नुहुन्थ्यो । हाम्रो नगरपालिकाले पनि उडान भर्नका लागि हुन्छ भनेर सहयोग गरेको थियो । उहाँहरु आफैले पहलकदमी गरेर यो जंगल बचाउनुपर्छ भनेर आउनुभयो । पैसाको कुरा गर्नुभएको छैन । हेलिकप्टरले २० खेप पानी लगेर सहभागी जनाउनुभयो । आगो निभाउनुभयो । जनधनको क्षति भएन । चर वन्यजन्तु मरेको अनुमान छ ।

आज एउटा डढेको दुम्सी भाग्दै गरेको देखियो । देखिने गरी मानसिको क्षति भएन । यसका लागि सिम्रिक एअरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । बिहानदेखि पाँच बजेसम्म केही नखाई लखतरान भएर दुःख गर्ने ती सबै सुरक्षाकर्मी, पत्रकार, स्थानीय जनता, विपद व्यवस्थापन लगायत सबैलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु, नगरपालिकाको मेयरको तर्फबाट ।


Author

थप समाचार
x