विचार-वार्ता

नाइकेले मलाई भन्यो— तरुनीहरूलाई फागु हालेर आऊ

रमेश विकल |
फागुन २२, २०७९ सोमबार १२:० बजे

फाइल तस्बिर

भर्खरै सकिएको फागुको पर्व वसन्तोत्सवकै एउटा पाटो हो । यो एउटा आनन्द, उमङ्ग र उत्साहको पर्व हो । अनि यो मेलमिलाप र आत्मीयताको पर्व हो । 

समाजले यस पर्वलाई सकारात्मक दृष्टिले हेरेको छ । यो हिरण्यकशिप र उसको छोरो प्रह्लाद अनि उसकी दुष्ट फुपू होलिकासँग जोडिएको पौराणिक कथासँग गाँसिएको पर्व हो । 


त्यसैले यो सत्य र अहङ्कारबीचको सङ्घर्षको पर्व पनि हो । यो पर्व दुष्टात्मा होलिका आफैँ आफ्ना कुकृत्य र कुनियतले अग्निज्वालामा दग्ध भएको सज्जनताको विजय र दुष्ट्याइँको पराजयको पुनीत पर्व पनि हो । 

त्यसैले प्रायः हिन्दू परम्परा भएका (अरू परम्पराका पनि) नेपालीहरूले यस पर्वलाई आफ्नै पर्वका रूपमा शालीनता र भद्रताका साथ मनाउँदै आएका छन् ।

तर आज यो पुनीत, शालीन र आत्मीयताको उल्लासमय पर्वलाई आफ्नो शाश्वत स्वरूपमा रहन नदिएर विकृतियुक्त कुरूप अनुहारमा प्रस्तुत गर्न थालिएको छ । 

आयातित जडाउरी संस्कृतिबाट नराम्रोसँग प्रभावित हुँदै गएको नयाँ पुस्ताले यस संस्कृतिलाई अपसंस्कृतिका रूपमा प्रस्तुत गर्न कुनै कसर छोडेका छैनन् । त्यसैले आजको फागुपर्व उमङ्ग, आनन्द र आत्मीयताको पर्व नरहेर यसले कुरूपता अँगाल्न पुगेको छ ।

आजका सुसंस्कृत व्यक्ति वा परिवारले फागुपर्वमा महिनौँ अघिदेखि रमाउने अवस्था बाँकी छैन । अझ भद्र र सुसंस्कृत परिवारका महिला, किशोरी र युवती, छोरी, चेली, बुहारीहरूले त आतङ्कित र त्रस्त हुनुपर्ने स्थिति पैदा हुनपुगेको छ ।

हाम्रो देशको फागुपर्व फाल्गुन शुक्ल अष्टमीका दिनमा वसन्तपुर दरबार परिसरमा चीर (होलिका दानवीको प्रतीकका रूपमा रङ्गीचङ्गी ध्वजा–कपडाले सजाइएको एउटा लिङ्गो) ठड्याइएपछि सुरु भएर पूर्णिमासम्म बडो उमङ्गका साथ अबिर रङहरू खेलिन्छ । द्वादशीका दिन आँगन–आँगनमा नाच–गान, बाजा–गाजा, ढोल–मुजुराका साथमा फगुवा गीतहरू गाउँदै समूह–समूहमा राता, पहेँला, नीला, हरिया भएर हिँडिरहेका मानिसहरू देखिन्छन् । तर यी सबै क्रियाकलाप (अबिर रङ हाल्ने) आफ्नै आत्मीय, परिवार, इष्टमित्र र साथीभाइका बीचमा हुने गर्छ ।

तर आज आएर यो पर्व उच्छृङ्खल, छाडा र भाँड प्रकृतिका युवा, किशोर (लहैलहैमा लाग्ने बालबालिका पनि) का लागि भाँडजात्रा र भद्रभलादमीका लागि एउटा पीडा र आतङ्कको कुसंस्कृति बन्नपुगेको छ । 

फागुको पर्व सुरु हुनुभन्दा हप्तौं, महिनौँ पहिलेदेखि छाडा, उद्दण्ड युवा–किशोरहरू बाटोघाटो, गल्ली–गल्छेडा ढुकेर बस्न थाल्छन् । र कामविशेषले बाहिर निस्केका भद्र मानिस (खासगरी महिला, किशोरी, युवतीहरू) लाई सताउन थाल्छन् । उनीहरूमाथि फोहोर पानी, ढुङ्गा, गिर्खा भरिएका बेलुनका साथै अश्लील र फोहोर शब्दवाणीहरूको प्रहार गरेर अपमानित गर्न थाल्छन् ।

हुन त समाजमा दुष्ट र छाडा प्रकृतिका मानिसहरू मात्र हुँदैनन् भद्र र साधु प्रकृतिका मानिस पनि हुन्छन् तर यस्तो अभद्र व्यवहारलाई सहन नसकेर भित्रभित्र मुर्मुरिएर बस्नुसिवाय उनीहरू केही गर्न सक्तैनन् ।

किनभने राज्यको सुव्यवस्था र जनसुरक्षाको अभावमा उनीहरू मौन रहन विवश छन् । उनीहरूको प्रतिकार गर्ने नैतिक बल कुण्ठित भइसकेको छ । जुझारु साहस नपुङ्सक भइसकेको छ । 

अरू त अरू भइगए, चारतारे–पाँचतारे होटेलका बन्दकक्षमा बसेर नारी उत्पीडन, नारीका बारेमा कुर्लीकुर्ली घाँटी सुकाउने महिला नेत्रीहरू पनि यस्ता अमानुषिक, उच्छृङ्खल र अपमानको प्रतिकार गर्न नसकेर त्यसलाई सहन्छन् । अनि समाजका अशिक्षित र अचेत आमाबाबु चाहिँ उल्टो आफ्ना छोराछोरीको पुरुषार्थमा दङ्गदास परेर उनीहरूलाई हौस्याइरहेका हुन्छन् ।

यही फागु प्रसङ्गमा मलाई एउटा पुरानो घटनाको सम्झना आउँछ । यो सायद १९९८ सालतिरको कुरा हो । मेरा बाआमा बाको नोकरीको सिलसिलामा विराटनगरमा बस्नुहुन्थ्यो । चाबहिलको घरमा चाहिँ हजुरबा, मेरी श्रीमती सुशीला र म बस्थ्यौँ । अनि त्यसै सालको फागुपर्वको रमझमको एक दिन तेस्रो प्रहरतिर टोलका केही किशोर युवाहरू खरीको चौताराबाट (हालको चाबहिल चोक) हातमा लाहाको चन्दन, लोला (बेलुन) र बगलीमा अबिर, रङहरू भरेर बसेका थिए । केटाकेटीहरू पनि उनीहरूकै संसर्गमा हाहा र हुहु गर्दै रमाइरहेका थियौँ ।

त्यसै बेला कमलादी फाँट वा लैनचौर फाँटतिरबाट रायोको साग (सायद गुन्द्रुक हाल्न) का भारी बोकेका तीन–चारओटी तरुनी ग्रामीण महिला आएर साँखुले कपडा साहुको पसलको पेटीमा भारी बिसाई बसे । उनीहरूलाई देखेर फागु टोलीको प्रमुख नाइकेले मलाई एक मुठी अबिर दिएर हुकुम गर्यो, ‘ए रामेश्वर, जाऊ त ऊ ती तरुनीहरूलाई फागु हालेर आऊ ।’

त्यतिखेर बाटामा हिँड्ने कुनै पनि अपरिचित मानिस खासगरी महिलालाई जथाभावी अबिर हाल्न पाइन्नथ्यो । यो एक किसिमको राज्यअपराध थियो । त्यसैले केटाहरू पनि हम्मेसी आफू अघि सरेर फागु हाल्ने आँट गर्दैनथे र हामीजस्ता काँचा केटाकेटीलाई उपयोग गर्थे । 

केटाकेटी पनि तन्नेरी दाजुहरूको आड पाएर सुरिन्थे । मैले पनि दाजुहरूको आड पाएर ती ग्रामीण महिलाहरूमध्ये सबैभन्दा राम्री तरुनीलाई बेस्सरी अबिर दलिदिएँ । अनि त के थियो, ती तीन–चार जना बराँट्ठिएका मतमताउँदा ग्रामीण महिलाले मलाई मुन्द्रे कपाल र कठालामा समातेर गाँजिहाले, ‘तेरिमा बजिया, बडा

आइमाईलाई हात हालेर

फागु हाल्ने भा’को । लौ हिँड्, पुलिस ठानामा ।’
ती श्रमद्वारा सुगठित तरुनी ग्रामवालाहरूको जब्बर पन्जामा परेर म छट्पटाउन थालेँ । मैले मद्दतका लागि दाजुहरूतिर हेरेँ तर उनीहरू त मज्जासँग हाँसेर स्वाद लिइरहेका थिए । 

त्यसै बेला मेरा लगभग सत्तरी वर्ष भएका हजुरबा लट्ठी घुमाउँदै आउनुभयो । उहाँको साक्षात् रुद्रावतार देखेर महिलाहरू केही डराए र म उनीहरूबाट छुटेँ । तर मेरो हजुरबाले महिलाहरूलाई केही भन्नुको सट्टा मलाई झम्टनुभो, ‘तँ कुलङ्गार, तैँले यी गल्लीका गुन्डाहरूको सङ्गतमा लागेर बाबुको इज्जत बिकाउन लागिस् होइन रु लौ खा, ल !’

अनि मलाई लट्ठीले सोठ्याउँदै घर लगेर कोठामा थुनिदिनुभो । त्यस दिन मलाई खान पनि दिनुभएन । यस्तो थियो, त्यतिखेर अभिभावकहरूको अनुशासन, उहाँहरूको नैतिक सोच । तर आज रु

अनि त्यसपछि मैले फागुको उत्सव घरकै दाजु, दिदी, भाउजू र साथीभाइसँग बाहेक सडकमा बाटो ढुकेर कसैमाथि अभद्र व्यवहार गरेर कहिल्यै मनाइनँ ।

(रमेश विकलको आत्मकथा ‘मेरो अविरल जीवनगीत’बाट ‘फागु पर्व : हिजो र आज’ शीर्षक ।)


Author

थप समाचार
x