विचार-वार्ता

लैंगिक हिंसा

१७० वर्ष कैद सजायको अन्तर्कथा

अन्जु ढुंगाना |
मंसिर ११, २०७७ बिहीबार ६:० बजे

चराहरूको चिरबिरसँगै बिहानै ब्यूँझिएँ । बिहान करिब ४ बजेको हुँदो हो, महिला तथा बालबालिका कार्यालय सिन्धुपाल्चोक चौताराको भवनबाट चियाउँदा यसअघि कहिल्यै नसुनिएको कल्याङमल्याङ हल्लाखल्ला सुनियो । 

उज्यालो हुनेबित्तिकै ढोका खोलेँ । बाहिर घिमिरे बाको पसलमा सोधैँ । २७ असार २०६९ का दिन सिन्धुपाल्चोक जिल्ला साबिक बाडेगाउँ निवासी प्रेम भनिने बजीर सिंह तामाङको जिल्ला अदालत सिन्धुपाल्चोकमा बहस पैरवी, सुनुवाइ र निर्णय हुने दिन रहेछ । 


ओहो, कति हो घुइँचो ! टँुडिखेलदेखि कुबिन्डे चोकसम्म । कहिल्यै नदेखिएका नयाँ नयाँ अनुहार । कुख्यात मानव तस्कर बजीर सिंहको मुद्दामा सुनवाइ हुने दिन । पीडित किशोरीका तर्फबाट जिल्ला न्यायाधिवक्ताका साथ सेलडका तर्फबाट प्राइभेट वकिलसमेतको सहभागिता भएको थियो । 

स्थानीय प्राइभेट वकिलका साथ काठमाडौँमा नाम चलेका चार–पाँच जना प्राइभेट वकिलसहित दिनभरिको निरन्तर बहस पैरवी । पटक–पटक बलात्कार जस्तो जघन्य घटना दोहोर्याइरहँदा पीडितलाई थप पीडाबोध हुने भएकाले बन्द इजलास र बहस पैरवीकै क्रममा किशोरीहरूले प्रहरीमा एक वर्ष पहिले दिएको बयानको अडियो रेकर्ड सुन्ने व्यवस्थासमेत मिलाइएको थियो । 

पीडित बालिका र किशोरीको बयान, सबुत र साक्षीसमेत प्रमाण बुझी कुख्यात अपराधी प्रेम भनिने बजीर सिंह तामाङलाई सुनुवाइको परिधिभित्र रहेर जिल्ला अदालतबाट २०६९ असार २७ मा मानव बेचबिखन मुद्दामा एक ल्यान्डमार्क फैसला भयो । 

उक्त फैसलामा थुप्रै चेलीहरूलाई वैदेशिक रोजगारीको सिलसिलामा विदेश पठाइदिन्छु भन्दै भारतको शहिदनगर र आगरा कोठीमा पुर्याउने, कोठी सञ्चालन गर्न किनबेच गर्ने र जबर्जस्ती यौन कार्यमा लगाउने जस्ता निष्कृष्ट अपराधमा संलग्न कुख्यात अपराधी बजीर सिंह तामाङलाई विभिन्न ६ वटा मुद्दामा गरी १७० वर्ष कैद सजायको फैसला भयो । 

साँझ करिब ५ बजे अदालत परिसरमै कुख्यात मानव तस्कर बजीर सिंह तामाङले ठूलो गौरवको काम गरेझँै मुसुक्क हाँसेर ‘श्रीमान् म पुनरावेदन त जान पाउँछु नि !’ भनी प्रश्न गरे । न्यायाधीशज्यूले ‘अवश्य पाउनुहुन्छ’ भन्नुभयो ।

मेरो मानसपटलमा त्यो कहालिलाग्दो दिन रिलजस्तै घुम्न थाल्यो । सोह्रखुट्टे प्रहरीले २०६८ वैशाख महिनाको पहिलो साता बजीर सिंहलाई समात्यो । उजुरी दिने किशोरीहरू महिला तथा बालबालिका कार्यालय सिन्धुपाल्चोकद्वारा शक्ति समूहमार्फत सञ्चालन गरिएको चौतारास्थित पुनःस्थापना केन्द्रको संरक्षणमा हुनुहुन्थ्यो । 
बजीर सिंहलाई सोह्रखुट्टेबाट सिन्धुपाल्चोक चौतारामा ल्याई हिरासतमा राखियो । बजीर सिंह चौतारा आएसँगै विभिन्न माध्यमबाट किशोरीहरूका अभिभावकलाई बयान फेर्न त्रास, दबाब र धम्की उस्तै । म जसरी पनि पैसा खुवाएर निस्कन्छु । तेरो परिवार ध्वस्त पारिदिन्छु भनी धम्क्याउने दिऐको भनी पीडितमध्येकी एक किशोरीकी आमा कार्यालयमा आई रुँदै सुनाउनु भयो । 

नेपालको न्यायिक इतिहासमा सबैभन्दा बढी कैद सजाय फैसला भएको ‘माइलस्टोन’ मुद्दाको अन्तर्कथा यहाँ प्रस्तुत छ : 

एक दिन दिउँसोको करिब १२ बजेको हुँदो हो, प्रारम्भिक बयानका लागि ६ जना किशोरीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइयो । प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकले कसरी बेचबिखन भयो भनी प्रश्न के गर्नुभएको थियो, बताउँदै गर्दा चार वर्ष पहिलेको घटना फ्ल्यासब्याक भई दुई जना किशोरी बेहोस हुन पुगे । 
अत्तालिँदै शक्ति समूहकी प्रमुख मुनु लामाले मेरो मोबाइलमा फोन गरी बेलिविस्तार लगाइन् । हतारहतार तीन÷चार प्याकेट ग्लुकोज किनेर दौडिँदै जिल्ला प्रहरी कार्यालयमा पुगेको त बेहोस दुई किशोरीलाई पानी छम्कँदै गरेर मुनु बसिरहेकी रहिछन् । बिस्तारै किशारीहरूले आँखा खोले । ग्लुकोज पानी तयार गरी खुवाइयो । 

केही समय महिला प्रहरीको रुममा आराम गर्ने व्यवस्था मिलाइयो । प्रहरी प्रमुखसँगको छलफलपश्चात् महिला सेलकी प्रहरी जवान र हाम्रो सहभागितामा प्रश्न सोध्ने र त्यही जवाफलाई रेकर्ड गर्ने व्यवस्था मिलाइयो । पीडितमध्येकी सबैभन्दा कम उमेरकी किशोरी निमा श्रेष्ठ (नाम परिवर्तन) बल्ल आठ वर्षकी थिइन् ।

०००
गाउँकै विद्यालयमा कक्षा ३ मा पढ्दै गरेकी बालिकालाई भारतमा बोर्डिङ स्कुलमा पढाइदिने प्रलोभनमा पारी आमासँग ललाइफकाइ रक्सौलको बाटो हुँदै भारत पुर्याइएछ । बजीरले नै रिक्सामा काखमा राखेको थियो । रक्सौल बोर्डरमा चेकजाँच हुँदा को हो भनी सोध्दा छोरी भनी बताएको कुरा बयानकै क्रममा निज किशोरीले भनिन् । 

त्यसरी काखमा राखेर नाका कटाई भारतको शहिदनगरस्थित आफैंले सञ्चालन गरेको कोठीमा पुर्यायो । आठ वर्षको उमेरमा बोर्डिङ स्कुलमा पढ्ने सपना बोकेर भारत पुगेकी ती अबोध किशोरीलाई दुवै हात डोरीले बाँधी निरन्तर एक महिना आफैँले बलात्कार गरेको दर्दनाक घटना सुनाउँदा निमाको अनुहारमा आक्रोश झल्किन्थ्यो । 

पटक पटक भक्कानो परेर रुँदै आँसु पुछ्दै पुनः सम्हालिँदै उनले सविस्तार बयान सुनाइन् । पीडितमध्येकी अलि उमेर पुगेकी अर्की किशोरी निरा विक (नाम परिवर्तन) उनको बयान सुन्दा हामीलाई कुनै चलचित्रको कहानी जस्तै लाग्यो । १४ वर्षे निराको परिवार गरिबीको चपेटामा थियो । 

परिवारमा धेरै जना, दुई छाक खान पनि धौ–धौ । उनलाई राम्रो जागिर लगाइदिने प्रलोभनमा दलालले भारत पुर्याएको रहेछ । भारतको शहिदनगरको कोठीमा एक दिन स्थानीय गुण्डा ग्राहकका रूपमा उनको कोठीमा आएछ । उसले मायालु स्वरमा घर–ठेगाना र कसरी यहाँ आइपुग्यौ भनी साधेछ । निराले सबै कुरा बताइन् र आफूलाई कालकोठरीबाट निकाल्ल अनुनय–विनय गरिन् । उनको सबै कुरा सुनेपश्चात् उक्त व्यक्तिले पछाडिको झ्यालबाट डोरीको सहाराले निरालाई भगाउन सफल भए । 

निरा उनैसँग विवाह गरेर बसिन् । करिब ६ महिनापश्चात् भोकाएको बाघझैँ निरालाई खोज्दै बजीर उनको श्रीमान् नभएको मौका पारी डेरामा नै आइपुग्यो । मैले नेपालबाट तेरी कान्छी बहिनीलाई लिएर आएको छु । दिदीसँग भेट्ने भन्दै रोइरहेकी छ भनी बजीरले भन्यो । १० वर्षे कलिली बहिनी पनि आफू जस्तै नारकीय जीवनमा होमिनुपर्ने चिन्ताले निरा बैनी भेट्न जान राजी भइन् । 

बजीरले बहाना मात्र बनाएको रहेछ । बजीरले निरालाई पुनः धन्दामा लगायो । त्यसपछि बजीर पुनः दूरदराजमा रहेका गाउँका अबोध चेलीहरूलाई ललाईफकाई प्रलोभनमा पार्न नेपाल आएको समय थियो । 

निरालाई खोज्दै पुनः ग्राहकका रूपमा श्रीमान् कोठीमा आइपुगे । तिमीलाई जसरी पनि यस दलालले सुखसँग बाँच्न नदिने भयो बरु मैले तिमीलाई नेपालको बोर्डरसम्म पुर्याइदिन्छु । आमा–बाबुसँगै नेपालमा बस्नू भनी रक्सौलसम्मको रेलको टिकट काटेर रेलमा पठाइदिए । उनै निराले नेपाल आउनेबित्तिकै दिएको लिखित उजुरीका आधारमा बजीर सिंहको खोजी भयो र नेपाल प्रहरीले समात्न सफल भएको विवरण पीडित निराले सुनाइन् । 

जिल्ला अदालत सिन्धुपाल्चोकको उक्त ल्यान्डमार्क फैसलापश्चात् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका श्रध्देय सचिव बालानन्द पौडेलज्यूले हर्ष र खुसी हुँदै जिल्ला न्यायाधीशज्यू र हामीलाई टेलिफोनमार्फत बधाइ तथा धन्यवाद दिनुभयो । 

उक्त फैसलाले नेपाल मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी प्रभावकारी कानुन र कानुनको कार्यान्वयनसमेत प्रभावकारी नै भएको मुलुकका रूपमा स्तरोन्नति भई अमेरिकाबाट प्रकाशित हुने रिपोर्टमा आयो । सो फैसला नेपालको न्यायिक इतिहासमा सबैभन्दा बढी कैदको सजाय गर्ने फैसला हुन पुगेका माइलस्टोनसरह भयो । 

(लेखक प्रमुख महिला विकास अधिकृत हुन् । यो लेख तीन भागमा छ । बाँकी दुई खण्ड इकागजमा क्रमशः छापिनेछ ।)


Author

थप समाचार
x