विचार-वार्ता

टिचिङ अस्पतालको कोभिड मृत्युदर ९५ प्रतिशत छ भनेर प्रमाणित गर्नुस्, डाक्टरी  नै छाडिदिन्छु

डा. सुमन आचार्य |
असार १४, २०७८ सोमबार १२:१३ बजे

कोभिड महामारीले सबैलाई आक्रान्त पारेको छ । यसै सन्दर्भमा नेपालको स्वास्थ्य प्रणालीबारे आआफ्नो ढंगले तर्क वितर्क आइरहेका छन् । केही दिन पहिलेको रघु मैनालीजीको लेख मैले पनि पढेँ । मैनाली परिवार शोकमा हुनुहुन्छ, आक्रोशमा हुनुहुन्छ, पीडामा हुनुहुन्छ । हार्दिक श्रद्धाञ्जली र सहानुभूति प्रकट गर्दै आफ्ना केही अनुभव र बुझाइ बाँड्न चाहन्छु ।

सुरुमै भनिहाल्छु, शिक्षण अस्पताल कमजोरीरहित छ भनेर दाबी गर्दिनँ। एउटा सार्वजनिक संस्था हो, यसका आफ्नै सीमितता र कमजोरी छन्। र यो आधिकारिक खण्डन वा टिप्पणी होइन । म विद्यार्थी-चिकित्सक मात्रै हुँ ।


कोभिड महामारीमा जोखिम मोलेर स्वास्थ्यकर्मीले काम गरेका छन् , मैनालीजीको आलेखले त्यसलाई गम्भीर अवमूल्यन गरेको मात्रै छैन, स्वास्थ्यकर्मीहरूको मनोबल गिराएको पनि छ ।

लेखले उठाएका केही कुरा सही छन् । हो, टिचिङले थोरै स्पेसमा धेरै मान्छे राखेर उपचार गरेको थियो, छ । मैनालीजीहरू त ह्याम्स वा ग्रान्डीहरू जान सक्नुहुन्छ तर यो देशका अधिकांश त जान सक्दैनन्। दूरदराजबाट आएका वा रित्तो गोजी लिएर आएकाहरूलाई रिफरल गर्न 'माथिल्लो अस्पताल जाऊ' भन्‍ने छुट शिक्षण अस्पतालसँग छैन, त्यसैले सकि नसकी ३ जना अट्नेमा ४ जना राखेरै उपचार भएकै हो ।

 दोस्रो आरोप पनि सही हो, कोभिड वार्डमा कुरुवा ओहोरदोहोर गर्ने छुट छ, संक्रमण पक्कै फैलियो। कोभिड वार्डमा बिरामी भर्ना गरेर प्रत्येक बिरामीको हेरचाह/खाना खुवाउन/शौच गराउन वा कुनै औषधि किन्‍न पठाउन (सप्लाईमा नपरेका) पर्याप्त मात्रामा परिचारिकाहरू राख्‍ने क्षमता भएन अनि कुरुवालाई नै सजगता अपनाएर बिरामीको हेरचाह गर्न भनियो।

राज्यको स्वास्थ्यमा लगानी कति छ हेर्नुस्, अनि खचाखच बिरामीलाई स्याहार गर्न पुग्ने परिचारिका, नर्स किन छैनन् भनेर कसलाई प्रश्न सोध्ने आफैं थाहा पाउनुहुन्छ । तेस्रो कुरा, लेखकले त्रिवि शिक्षण अस्पतालको कोभिड मृत्युदर ९५ प्रतिशत छ भनेर प्रमाणित गरून्, म बाँकी सबै आरोप गलत हुन् भनेर प्रमाणित गरिदिउँला । म चिकित्सा पेसा नै छाडिदिउँला ।

 

त्रिवि शिक्षण अस्पतालको कोभिड मृत्युदर ९५ प्रतिशत छ भनेर प्रमाणित गरून्, म बाँकी सबै आरोप गलत हुन् भनेर प्रमाणित गरिदिउँला । म चिकित्सा पेसा नै छाडिदिउँला ।

यो मनगढन्ते डाटा भनेर बुझ्न पाठकलाई गार्हो छैन । चौथो कुरा, शिक्षण अस्पतालमा बिरामीलाई एउटा बेडबाट अर्को बेडमा सार्न डिस्चार्ज नोटकै रेडिमेड स्लिपमा ट्रान्सफर नोट लेख्‍ने गरिन्छ । यस्तो ट्रान्सफर नोट नछापिएकाले गरिएको हो, सफलताको दर बढाउन गरिएको होइन ।

 चौथो कुरा, सुख्खा अक्सिजन दिने कि ह्युमिडिफाइड अक्सिजन दिने अझै पनि अध्ययनकै विषय हो । लेखले भनेजस्तो सुख्खा अक्सिजन दिँदा फोक्सो कक्र्याक्क पर्ने प्रमाणित कुरा होइन। कसैले पबमेड/गुगल स्कोलरमा गएर ह्युमिडिफाइड भर्सेस नन-ह्युमिडिफाइड अक्सिजन खोज्न सक्नुहुन्छ । सक्नुभएन भने म आफैं लिंक दिउँला र राख्दा पनि डिस्टिल वाटर नभएर सफा फिल्टर्ड वाटर पनि राख्न सकिन्छ ।

ट्याप वाटरमा पनि अध्ययन भएका छन् र उस्तो नराम्रा परिणाम आएका छैनन् । पाँचौ, एकजना राम उप्रेतीको नाम किन लिनुभयो थाहा छैन, कोभिडमा हजारौं मान्छेहरू, युवा अवस्थामै ज्यान गुमाएका छन् । टिचिङ्मा मात्र होइन प्राइभेटमा पनि, नेपालमा मात्रै होइन संसारभरी।

'प्राणको भिख माग' र 'डाक्टरी हृदयले उनको चीत्कार सुनेन' भन्‍नु आँसु बिकाउने सस्तो साहित्य बाहेक के हो ? छैटौं, सबै कोभिडलाई भर्ना गरिँदैन। सुरुको अस्पताल भिजिटमा होम आइसोलेसनमै बस्न र स्याचुरेसन मोनिटर गर्नु भन्‍ने सल्लाह उपयुक्त सल्लाह थियो । गर्नुपर्ने नै त्यही हो।

 सातौं, अक्सिजन नघटेको तर ज्वरो आएकालाई पनि प्राय: भर्ना गरिँदैन थियो, पिकको समयमा। औषधि लेखेर घरमा नै पठाइन्थ्यो। तर वहाँ भर्ना हुनुभएछ राम्रै भएछ । हिस्ट्री नलिई कुनै बिरामी भर्ना हुँदैनन्। मैले पनि सयौं बिरामी भर्ना गरेँ तर हिस्ट्री नलेखी भर्ना गरेको एउटा रेकर्ड छैन। हो, सामान्य अवस्थामा जस्तो लामो हिस्ट्री लिएनौं, सकेनौं तर छोटो चाहिने मात्रै हिस्ट्री लियौं। हिस्ट्री लिए पनि मुख्य फाइल खोज्न र पल्टाउनभन्दा कार्डेक्स (सानो फाइल) बोकेर राउन्डमा गएको बेला बिरामी र कुरुवासँग भलाकुसारी पनि हुन्छ भनेर पटकपटक सोधिन्छ।

अर्को कुरा, भर्ना गर्दा बेसलाइन जाँच नगरी कसैलाई पनि भर्ना गर्दैनौं। वा हालसालैको रिपोर्ट ठीकै छ भने त्यही रिपोर्टका आधारमा नयाँ जाँच नगरी भर्ना गर्छौं। वहाँले अघिल्लो भिजिटमा चेकजाँच गराएको भए फेरि नहुनु स्वाभाविक हो। कोभिड्मा अक्सिजन चाहिएको र नचाहिएको अवस्थाले उपचार निर्धारण गर्ने र परीक्षणले उति मद्दत नगर्ने भएकाले परीक्षणमा त्यति जोड नदिएको हो । सुरुका चरणमा परीक्षणको रिपोर्टले उपचारमा त्यति फरक पार्दैन।

अक्सिजन सुरुपछि पनि स्टेरोइड दिइएन भन्‍नेमा मलाई त्यति विश्वास छैन। भएको भए गलत भयो । गुरु डा. सन्तकुमार दासमाथि जुन गम्भीर आरोप लागेको छ, अत्यन्तै खेदजनक छ । मिडियाले नचिनेको तर वहाँ कोभिडको हिरो हो। शिक्षणको कोभिडको बागडोर सम्हालेर वहाँले कोभिडको दुई लहर पार लगाउनुभयो। यसलाई दाबी नै मान्दा पनि हुन्छ, नेपालमा कुनै अस्पतालले पनि शिक्षणले जति सेवा दिएको छैनन् । यो उहाँकै नेतृत्वमा हो ।

 डिस्चार्ज गर्ने बेलामा अर्को कोभिड रिपोर्ट मागियो, खासै ठूलो कुरा हो र ? उही त हो, सबै वार्डमा फोटोकपी छैनन्, अर्को कपी चाहियो होला मागे । र कहिलेकाहिँ मिसप्लेस पनि हुन सक्छ। त्यसले लापरबाही झल्कन्छ र ? वहाँको दाजुको उपचारको कुरामा म पनि एकपटक जोडिएको थिएँ ।

म गुरु मैनालीजीको उपचारमा प्रत्यक्ष खटिएको त होइन । तर मलाई पनि वहाँको स्वास्थ्य अवस्था बुझिदिन भन्दै मसँगै एमबीबीएस पढेको मेरो एक साथीको फोन आएको थियो। मैले साथीले अनुरोध गरिसकेपछि बिरामी कुरुवा र बिरामी नभेटिकनै बिरामीको फाइल पल्टाएर अवस्था बुझेको थिएँ। फाइल पल्टाउँदा निकै छोटो समयको अन्तरालमा (एक वा दुई दिनकै अन्तरालमा, ठ्याक्कै बिर्सें) बिरामी १-२ लि.प्रति मिनेट अक्सिजनबाट १०-१२ लि. अक्सिजन चाहिने अवस्थामा पुगेकाले संक्रमण अझै बिग्रने खतरा यथावत नै रहेको मेरो साथीलाई मैले जानकारी गराएको थिएँ। म हेर्न जाने दिन स्टेरोइड र अन्य आवश्यक औषधि चाहिँ चलिरहेकै थियो।

 तर औषधिले मात्रै कोभिडको संक्रमण रोकिने भए त यतिका मान्छेले अकालमा ज्यान गुमाउन पर्थ्यो र ? शिक्षणका पनि पक्कै कमजोरी रहे । काउन्सिलिङ पर्याप्त भएन होला, उपचारमा कहिलेकाहीँ एकाध घन्टा ढिला पनि भयो होला । थेग्न सक्ने भन्दा बढी चाप रह्यो। त्यस समयमा शिक्षण अस्पतालले ४-५०० जना कोभिड बिरामीको उपचार गरिरहेको थियो।

वीर अस्पतालले नयाँ भवन खाली राख्दा कोभिड महामारी विरुद्धको लडाइँको नेतृत्व शिक्षणले गरेकै हो । कोभिड लागेका बिरामीको सायदै अन्त कतै डायलाइसिस भयो होला तर शिक्षणमा छुट्टै कोभिड डायलाइसिस वार्ड नै बन्यो। कोभिडका बिरामी पनि आकस्मिक शल्यक्रिया नपाएर मर्नुपर्ने वा रिफरल हुने अवस्था सिर्जना भएन।

 लेखमा लेखिए जस्तो नकारात्मक टीकाटिप्पणीले अस्पताल सुधारमा मद्दत नपुग्ने मात्रै होइन, स्वास्थ्यकर्मी र आम नागरिकमा पछिल्लो समय जुन अविश्वासको खाडल खडा भएको छ, त्यसलाई अझै बढाउँछ। पत्रपत्रिकामा मनगढन्ते दाबा र आरोप लगाएर विनाकुनै जवाफदेहिता उम्किन पाउने अवस्था छ, त्यसले कालान्तरमा वाक स्वतन्त्रता र मिडिया स्वतन्त्रताका पक्षधरलाई पनि नोक्सानी नै गर्छ। लेख निकै पूर्वाग्रहपूर्ण छ,  सम्पूर्ण स्वास्थ्यकर्मीमाथि गम्भीर आरोप लागेकाले चुप बस्‍न सकिनँ ।

अब मेरो प्रश्न, सामाजिक सञ्जाल र मिडिया आफैं लापरबाहीको न्यायाधीश बन्‍ने हो कि कानुनी उपचार खोज्‍ने ?  

 


Author

डा. सुमन आचार्य

आचार्य टिचिङ अस्पतालका चिकित्सक हुन् ।


थप समाचार
x