विचार-वार्ता

डिजिटल अर्थतन्त्रको भविष्यरेखा

नरबहादुर थापा |
मंसिर १८, २०७७ बिहीबार १०:५६ बजे

पछिल्लो समय चर्चामा आएको डिजिटल अर्थतन्त्रको विषय अमेरिका र चीनबीचको टेक–वार (प्रविधि युद्ध) र काभिड १९ को सन्दर्भबाट थप चर्चामा आएको छ । आर्थिक विकास र समयको आवश्यकताअनुसार अर्थतन्त्रका विविध अवधारणा हामीले सुन्दै र पढ्दै आएका छौं । कृषि अर्थतन्त्र, औद्योगिक अर्थतन्त्र र आधुनिक अर्थतन्त्रको चर्चा हुने गरेकै हो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आर्थिक रुपान्तरणको हिसाबले कृषि क्रान्ति र औद्योगिक क्रान्ति भएका छन् । १९६० को दशकमा छिमेकी भारतमा ठूलो हरित क्रान्ति भएको थियो । उक्त क्रान्तिले भारतलाई खाद्यान्न आयात गर्ने मुलुकबाट कृषि उपज निर्यात गर्ने मुलुकमा रुपान्तरण ग-यो । 


नेपाल खाद्यान्न निर्यातकर्ता राष्ट्रबाट कृषि उपज आयातकर्ता राष्ट्रमा परिणत भएको छ । औद्योगिक क्रान्तिले धेरै मुलुकहरूलाई रुपान्तरण गरेको छ । सहरीकरण तथा अर्थतन्त्रको आधुनिकीकरणमा मद्दत पुगेको छ । एक्काइसौं शताब्दीको सुरुदेखि डिजिटल क्रान्तिको चर्चा हुन थालेको छ । 

अठारौं शताब्दीको कृषि क्रान्ति भनेको बाली रोटेसन, घोडाको प्रयोग र कृषि जमिनको चक्लाबन्दी थियो भने उन्नाइसौं शताब्दीको औद्योगिक क्रान्तिचाहिँ वाफ इन्जिनको आविष्कार तथा प्रयोगबाट अगाडि बढेको थियो । अब डिजिटल क्रान्तिको आधार इन्टरनेट र कम्प्युटर तथा स्मार्ट मोबाइलको प्रयोग रहने देखिन्छ । 
अर्थतन्त्र विकासका आधार उत्पादन वितरण र विनियम प्रणालीमा हुने परिवर्तन नै हुन् । विकासको प्रारम्भिक चरणमा विश्व अर्थतन्त्र वस्तु विनिमय प्रणालीमा आधारित थियो । मुद्राको आविष्कार अर्थात् खासगरी कागजी मुद्राको प्रचलनपछि विश्व अर्थतन्त्र मौद्रिक अर्थतन्त्रमा रुपान्तरण भएको हो । 

मुद्राको आविष्कार विश्व अर्थव्यवस्थामा असाध्यै ठूलो क्रान्तिकारी घटना थियो, जसले वस्तु विनिमय प्रणालीलाई भत्कायो र आधुनिक अर्थतन्त्र निर्माणको जग हाल्यो । अर्थतन्त्रको संरचनागत स्वरुप परिवर्तनमा मुद्राको ठूलो योगदान छ । विश्व हाल मौद्रिक अर्थतन्त्रबाट डिजिटल अर्थतन्त्रमा प्रवेश गर्ने सँघारमा छ । 
विश्व डिजिटल अर्थतन्त्रमा पूर्ण रुपान्तरण हुन समय लाग्ला । तर, पूर्ण रुपान्तरण आधुनिक अर्थतन्त्रको जगको रुपमा रहेको विद्यमान मौद्रिक प्रणालीको विकासपछि मात्र सम्भव छ । डिजिटल अर्थतन्त्रको गन्तव्य बिटक्वाइनजस्ता अभौतिक मुद्रामा आधारित मौद्रिक व्यवस्था र विकेन्द्रीकृत बहीखाता प्रणाली (डिस्ट्रिप्याट लेजर स्टिम) हो । यही कारण डिजिटल अर्थतन्त्रलाई नयाँ अर्थतन्त्रको संज्ञा पनि दिइन्छ ।

डिजिटल अर्थतन्त्रको निर्माण तथा आयाम

अहिले विश्व डिजिटल अर्थतन्त्र निर्माणको प्रारम्भिक चरणमा छ । कोही अगाडि र केही पछाडि भए पनि सबै मुलुकहरू डिजिटल अर्थतन्त्र निर्माणमा प्रयासरत नै छन् । निर्माण तथा परिकल्पनाको चरणमा रहेकोले डिजिटल अर्थतन्त्र ठ्याक्कै यही नै हो भनेर परिभाषित गर्ने अवस्था बनिसकेको छैन । तथापि हामी डिजिटल अर्थतन्त्रलाई इन्टरनेट तथा वेबमा आधारित अर्थतन्त्रको रुपमा बुझ्न सक्छौं । सर्वसाधारण नागरिक, व्यावसायिक कम्पनी र सरकारलाई जोड्ने आधार अनलाइन अर्थात् इन्टरनेट नै हो । डिजिटल अर्थतन्त्र सूचना तथा सञ्चारमा आधारित हुन्छ । 

डिजिटल अर्थतन्त्रको चर्चा हुन थालेको २५ वर्ष भयो । सन् १९९० को दशकमा जापानका एक प्राध्यापकले जापान मन्दीको अवस्थामा रहेका बेला डिजिटल अर्थतन्त्र उल्लेख रहेको देखिन्छ । सन् १९९५ मा प्रकाशनमा आएको आफ्नो किताब द डिजिटल इकोनोमी प्रमिस एन्ड पिरेल इन द एज अफ् नेटवर्किङ इन्टेलिजेन्स मा ‘डन टपेस्कट’ ले डिजिटल अर्थतन्त्रको नामकरण गरेको पाइन्छ ।

हाल विश्वका सबै देश डिजिटल अर्थतन्त्र निर्माणमा लागेका छन् । मूलतः यसका तीन आयाम हुन्छन् । पहिलो, डिजिटल अर्थतन्त्रको पूर्वाधार निर्माण हो । दूरसञ्चारको विकास डिजिटल अर्थतन्त्र निर्माणको महत्वपूर्ण पूर्वाधार हो । टेलिकम कम्पनीका टावर तथा इन्टरनेटको ब्रोडब्यान्ड राजमार्गको निर्माण डिजिटल अर्थतन्त्रका अत्यावश्यक पूर्वाधार हुन् । 

नेपालले पनि सरकारी तथा निजी क्षेत्रका कम्पनीमार्फत टेलिकम टावर निर्माण गरिरहेको छ । ब्रोडब्यान्ड मार्ग विकासका लागि अप्टिकल फाइबर (तार) बिच्छ्याउने काम भइरहेका छन् । हार्डवेयर, सफ्टवेयर तथा मानव संसाधनको विकास पनि पूर्वाधारमा पर्ने गर्छन् । विद्युत्बिना डिजिटल अर्थतन्त्र निर्माण हुन सक्दैन । 
डिजिटल अर्थतन्त्र निर्माणको दोस्रो आयाम कम्युटरमा आधारित नेटवर्कको विकास हो । डिजिटल अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको हाइपर कनेक्टिभिटीले नेटवर्क विकासको सफलता मोबाइल कनेक्टिभिटीमा सबैको पहुँच भए–नभएकोमा निर्भर रहन्छ ।

डिजिटल अर्थतन्त्रको तेस्रो आयाम ई–कमर्स हो । विद्युतीय व्यापारबिना मुलुकले डिजिटल अर्थतन्त्रको पहिलो र दोस्रो  विकासको आयामबाट फाइदा लिन सक्दैन । विद्युतीय भुक्तानी प्रणाली ई–कमर्सको महत्वपूर्ण  शक्ति हो । जुन मुलुकले वित्तीय प्रविधिको विकास गरे, ती मुलुकहरू विद्युतीय व्यापारमा अग्रणी स्थानमा छन् । चीन ई–कमर्समा ग्लोबल लिडरको रुपमा उदाउनुको पछाडि विद्युतीय भुक्तानी प्रणाली विकासको ठूलो योगदान छ । सपिङ प्लेटफर्मको विकासमार्फत चीनले अर्थतन्त्रमा क्रान्ति ल्याएको छ र डिजिटल अर्थतन्त्र निर्माणमा अगाडि बढेको छ । चीनका अतिरिक्त भारत र केन्या पनि डिजिटल फाइनान्समा अगाडि छन् ।

डिजिटल अर्थतन्त्र निमार्णको चौथो आयामचाहिँ सरकार, व्यावसायिक कम्पनी र नागरिकबीचको अन्तर–आबद्धता हो । सरकार ई–गभर्नेन्ससँग जोडिनुपर्दछ । राज्यले नागरिकलाई दिने सुविधाका लागि प्रविधिको प्रयोग भएन भने डिजिटल अर्थतन्त्रको निर्माण गर्न सकिँदैन । सरकारले नागरिक, व्यवसायी र आफ्ना अन्य सार्वजनिक सेवा आदान–प्रदान गर्दा तथा अन्तरसम्बन्ध कायम गर्दा इन्टरनेटको प्रयोगले मुलुकको शासन प्रणाली थप कुशल तथा किफायती हुन जान्छ । जनउपयोगी सेवा, लालपुर्जा, उद्योग व्यवसाय सञ्चालन गर्दा आवश्यक पर्ने इजाजत सेवा, नागरिकता, पासपोर्ट, भिसा, सार्वजनिक खरिद आदि विद्युतीय माध्यमबाट दिने व्यवस्थाले मुलुकको शासकीय सुधारमा ठूलो योगदान त पु¥याउँछ नै, ई–कमर्सका लागि मार्ग प्रशस्त पनि गर्छ । 

भारतका केही राज्यले विद्युतीय माध्यमबाट लालपुर्जा दिन थाल्दा त्यहाँका किसानको जीवनस्तरमा ठूलो सहयोग भएको थियो । भारत सरकारले विद्युतीय परिचयपत्र ‘आधार कार्ड’ आफ्ना नागरिकलाई जारी गर्दा त्यहाँको सुशासन प्रवद्र्धन, व्यावसायिक लागतको न्यूनीकरण र वित्तीय पहुँच विस्तारमा ठूलो सुधार भइरहेको छ ।

राज्यबाट सुविधा लिँदा वा आर्थिक कारोबार गर्दा आधार कार्ड बोके पुग्छ । भारतमा भ्रष्टाचार न्यूनीकरणमा आधार कार्डले ठूलो मद्दत पु-याएको छ । त्यसैगरी व्यावसायिक कम्पनीहरूले पनि सूचना प्रवाहका लागि आफ्नो वेबसाइट निर्माण गर्ने, आफ्नो कारोबार विद्युतीय माध्यममा रुपान्तरण गर्ने र अनलाइन सेवाको प्रबन्ध गर्नुपर्ने हुन्छ । डिजिटल अर्थतन्त्र निर्माणका लागि सर्वसाधारण नागरिकको इन्टरनेट तथा स्मार्ट मोबाइलमा पहुँच आवश्यक पर्दछ । यी सेवाको उपलब्धताले मात्र पुग्दैन, सर्वसाधारण नागरिकको पहँुँच र खरिद सामथ्र्य बढाउन पनि त्यत्तिकै आवश्यक हुन्छ ।

डिजिटल अर्थतन्त्र निमार्णमा विश्वको ध्यान कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), क्लाउड कम्युटिङ, ब्लक–चेन, रोबोटिक्स र अटोमेसनतिर छ । हामी सबैले आफैं पढ्न अल्छी लागेर ‘भ्वाइस रिडिङ’ कम्युटर इन्टरनेटमार्फत कृत्रिम बौद्धिकताको प्रयोग गरिरहेका छौं । गुगलसर्च र गुगलफोटोजस्ता कृत्रिम बौद्धिकताको लाभ हामीले लिइरहका छौं । टेलिभिजनले वाचन गर्ने मौसम अनुमान, अमेरिकाजस्तै विकसित मुलुकहरूमा गन्तव्यमा पुग्न जोडिएको प्रविधि, ट्राफिक अवस्थाको विवरण र सेलफोन लोकेसन बिग डेटा प्रयोगका उदाहरण हुन् । अबको चुनौती यी उपकरणलाई शिक्षा, स्वास्थ्य, कृषि, यातायात, उत्पादन क्षेत्र र विद्युतीय ग्रिडसँग जोडेर डिजिटल अर्थतन्त्रको निर्माण गर्नु नै हो ।

डिजिटल अर्थतन्त्रको मापन र डिजिटल लाभांश

विश्व बैंकले सर्वसाधारण नागरिक, व्यावसाय र सरकारलाई अर्थतन्त्रका तीन आयाम समेटेर १८० मुलुकहरूको डिजिटल अवलम्बन मापन सूचक (डिजिटल एडप्सन इन्डेक्स) निर्माण गरेको छ । यो सूचक ०–१ को स्केलमा मापन गरिन्छ । यो सूचकले सबै मुलुकहरूको सापेक्षिक स्थिति देखाउने र नीति निर्माताहरूलाई डिजिटल अर्थतन्त्र निर्माणका लागि रणनीति बनाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।

विश्व बैंकले यो सूचक निर्माण गर्दा सर्वसाधारण नागरिकको हकमा घरमा इन्टरनेट र स्मार्ट मोबाइलमाथिको पहुँच र इन्टरनेटको लागतलाई आधारको रुपमा लिएको छ भने व्यावसायिक कम्पनीका लागि बिजनेस वेबसाइट, सुरक्षित सर्बर, डाउनलोडको गति र इन्टरनेटको पहुँच (कभरेज) लाई मुख्य आधारको रुपमा लिएको छ । सरकारको हकमा सार्वजनिक वित्त व्यवस्थापन सूचना प्रणाली, जनशक्ति व्यवस्थापन सूचना प्रणाली, विद्युतीय तलब भुक्तानी प्रणाली, विद्युतीय कर दाखिला विधि, विद्युतीय भन्साार कार्यप्रणाली र विद्युतीय सार्वजनिक खरिद प्रणालीको अवस्थालाई सूचक मापनको आधारको रुपमा लिइएको छ । यसैगरी, अनलाइन, सार्वजनिक सेवा, डिजिटल हस्ताक्षर र सर्वसाधारण नागरिकका लागि विद्युतीय परिचयपत्रको अवस्थालाई सरकारी उपसमूह सूचकको रुपमा लिएको छ । 

सन् २०१६ मा विश्व बैंकले निर्माण गरेको डिजिटल एडप्सन इन्डेक्सले स्वभावतः विकसित मुलुकहरूको माथि र विकासोन्मुख मुलुकहरूको तल रहेको देखाउँछ । अस्ट्रियाको यो सूचक ०.८६२४ छ भने बेलायतको ०.७६४० र अमेरिकाको ०.७४७१ रहेको छ । सार्क मुलुकमध्ये नेपालको अवस्था केवल अफगानिस्तानभन्दा माथि रहेको देखिन्छ । माल्दिभ्सबाहेक अन्य सार्क मुलुकमा नागरिक उपसमूहको न्यून र सरकारी उपसमूहको सूचक बढी देखिन्छ । यसले नागरिक तहमा इन्टरनेटको उपलब्धता, पहुँच तथा सामथ्र्य न्यून रहेको देखिन्छ । 

पछिल्लो समय डिजिटल प्रविधि प्रयोगकर्ताको संख्या वृद्धि भइरहेको छ । तथापि  डिजिटल डिभाइड अझै उच्च छ । विश्व जनसंख्यामध्ये ४० प्रतिशतको मात्र इन्टरनेटमा पहुँच छ भने बाँकी ६० प्रतिशत मान्छे अझै पनि इन्टरनेटको पहुँच बाहिरै छन् । यो भनेको संसारभर ४ अर्ब मान्छे इन्टरनेटसँग जोडिन पाएका छैनन् । यसले गर्दा पनि सूचना प्रविधिको प्रभाव बढाउँदै डिजिटल अर्थतन्त्र निर्माण गर्ने काममा कतिपय मुलुकले उल्लेख्य प्रगति गर्न सकेका छैनन् । 

यद्यपि, विकसित मुलुकमा मोबाइल फोन प्रयोगको अनुपात ह्वात्तै बढेको छ । यही सन्दर्भमा ‘डिजिटल डिभिडेन्ट’ अर्थात् अभौतिकताको लाभबारे अहिले चर्चा बढ्न थालेको छ । डिजिटल प्रविधिले समावेशिता, कार्यकुशलता र नवप्रवर्तनमा सुधार ल्याउने भएकाले पनि यस्तो ‘लाभांश’ को प्रश्न उठेको हो । प्रविधिको प्रयोगबाट हुने आर्थिक विकास, रोजगारी सिर्जना र सार्वजनिक सेवाको सुधार नै डिजिटल लाभांश हो । 

विश्वव्यापी अर्थतन्त्रमा डिजिटल अर्थतन्त्रको अंश ६.५ प्रतिशत रहेको देखिन्छ । विकसित मुलुकमा यस्तो अनुपात करिब १० प्रतिशत रहेको अनुमान छ । विश्व स्तरमा सूचना तथा संञ्चार प्रविधिले १० करोड मानिसलाई रोजगारी दिएको अनुमान छ । यो भनेको कुल रोजगारीको १.५ प्रतिशत मात्र हो । कुल निर्यातमा सूचना तथा सञ्चार प्रविधि वस्तुको अनुपात १३ प्रतिशत रहेको अनुमान छ । 

डिजिटल लाभांश अपेक्षित नरहनुमा विविध कारण हुन सक्छ  । सबैभन्दा महत्वपूर्ण कारण डिजिटल प्रविधि सामाजिक व्यवहारमा प्रयोग भए पनि उत्पादन प्रक्रियामा नजोडिने हो । अर्को डिजिटल प्रविधिको प्रयोग छिटफुट रुपमा मात्र हुनु हो । डिजिटल प्रविधिको प्रयोगको स्केल नबढ्दा पनि कतिपय मुलुकले डिजिटल लाभांश प्राप्त गर्न सकिराखेका छन् ।

नेपालको डिजिटल अर्थतन्त्र

नेपालको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ जारी गरेको छ । यो फ्रेमवर्कले ८ वटा क्षेत्र र ८० वटा डिजिटल पहलको पहिचान गरेको छ । यी ८० वटा डिजिटल पहलको समयमै कार्यान्वयन हुन सके डिजिटल अर्थतन्त्र निर्माणमा नेपालले ठूलो फड्को मार्न सक्छ । 
नेपालले दातृ निकायको सहयोगमा सार्वजनिक वित्त व्यवस्थापन सूचना प्रणालीको विकास गरेको छ । संघीय स्तरमा मन्त्रालयगत बजेट व्यवस्थापन सूचना प्रणाली, बजेट व्यवस्थापन सूचना प्रणाली, विदेशी सहयोग व्यवस्थापन सूचना प्रणाली, वित्त व्यवस्थापन सूचना प्रणाली, एकल कोष खाता प्रणाली, राजस्व व्यवस्थापन सूचना प्रणाली र एकीकृत वित्तीय व्यवस्थापन सूचना प्रणालीहरू सार्वजनिक वित्त व्यवस्थापनमा डिजिटल प्रविधि प्रयोगका केही उदाहरण हुन् । स्थानीय तहमा सञ्चित कोष व्यवस्थापन प्रणाली सरकारले कार्यान्वयनमा ल्याएको छ ।

वित्तीय क्षेत्रमा राष्ट्र बैंकले डिजिटल अर्थतन्त्र निर्माणको नेतृत्वदायी भूमिका खेलिरहेको छ । राष्ट्र बैंकले आफ्ना सबै वित्तीय कारोबार विद्युतीय लेजर अर्थात् जीएल प्रणाली निर्माण गरेको छ । ठूलो आकारको भुक्तानी तथा फस्र्योटका लागि ‘रियल टाइम ग्रोस सेटलमेन्ट (आरटीजीएस) प्रणाली लागू गरिसकेको छ । राष्ट्रिय भुक्तानी स्वीच निर्माणको कार्य अघि बढाएको छ । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारका लागि डिम्याट तथा आस्वा प्रणाली लागू गरेको छ ।
कर्जा सूचना केन्द्रले बैंक तथा वित्तीय संस्थाबाट अनलाइन कर्जा सूचना संकलन र सुरक्षित कारोबार तथा रजिस्ट्रेसन सञ्चालनमा ल्याइसकेको छ । यसले डिजिटल अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ । राष्ट्र बैंकले ट्रेजरी बिल र विकास ऋणपत्रको निष्काशन कार्य अनलाइन बोलकबोल प्रणालीबाट गर्दै आएको छ । देशभरका ६० वटा बजार केन्द्रबाट वस्तु तथा सेवाको मूल्य अनलाइन प्रणालीमार्फत संकलन र प्रशोधन गरेर केन्द्रीय बैंकले मुद्रास्फीतिको तथ्यांक प्रकाशित गर्दै आएको छ । 

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका कम्पनीले आफ्नो आन्तरिक काम–कारबाहीमा डिजिटल प्रविधिको प्रयोग गरे पनि सर्वसाधारण नागरिकसँग जोडिन  डिजिटल प्रविधिको प्रयोग भएको देखिँदैन । सरकारले कर वितरण ई–फाइलिङद्वारा पेस गर्न सकिने व्यवस्था गरे पनि कर तिर्न बैंकमै जानुपर्ने बाध्यता छ । सर्वसाधारणले सरकारी सेवा लिन भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यता छ । यस्ता काममा सुबिस्ता हुने गरी डिजिटल प्रविधिको प्रयोग भएको देखिँदैन । 

मुलुक पूर्णतया राष्ट्रिय विद्युत् प्रसारणमा नजोडिनु, नागरिकका लागि राष्ट्रिय विद्युतीय परिचयपत्र उपलब्ध नहुनु र इन्टरनेट सुविधा सर्वसुलभ रुपमा उपलब्ध हुन नसक्नुजस्ता कारण सरकारले कृषि, शिक्षा, स्वास्थ्य पर्यटन, ऊर्जा तथा सहरी पूर्वाधार क्षेत्रलाई डिजिटल बनाउन सकेको छैन । मोबाइल प्रयोगकर्ता बढेका छन् । कार्यालयहरूको आन्तरिक कामका लागि इन्टरनेटको प्रयोग बढेको छ । तर, सर्वसाधारण नागरिकले सरकारी तथा निजी कम्पनीहरूबाट अनलाइन सुविधा पाएका छैनन् । उत्पादन र वितरण प्रक्रियामा डिजिटल प्रविधिको प्रयोग हुन नक्दा डिजिटल लाभांश तल्लो तप्कासम्म पुग्न सकेको छैन ।

आगामी बाटो

डिजिटल अर्थतन्त्र निमार्णको अबको बाटो सूचना प्रविधिलाई जनता र उत्पादन तथा वितरण प्रक्रियासँग जोड्ने हो । डिजिटल ‘एडप्सन इन्डेक्स’ ले सरकार र व्यवसायी सूचना प्रविधिमा जनतासँग जोडिन नसकेको संकेत गर्दछ ।  त्यस्तै, मोबाइल पहुँच शतप्रतिशत र इन्टरनेट पहुँच ६८ प्रतिशत पुगेको सरकारी तथ्यांक पनि भरलाग्दो छैन । किनकि, उत्पादन, व्यापार र भुक्तानीमा डिजिटल प्रविधिको अपेक्षित आबद्धता विकास गर्न नसक्दा समग्र अर्थतन्त्रले डिजिटल स्वरुप ग्रहण गर्न सकेको छैन । 

यसै सन्दर्भमा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क २०७६ मा उल्लिखित ८० पहललाई प्राथमिकीकरण गर्दै सबैभन्दा पहिले डिजिटल पूर्वाधार निर्माण कार्य युद्धस्तरमा अघि बढाउनुपर्छ । राष्ट्रिय ग्रिडको बिजुलीमा नागरिकको पहुँच सर्वव्यापी बनाउनुपर्छ । अझै ९७ पालिकाहरूमा राष्ट्रिय ग्रीड पुगेको छैन । अप्टिकल फाइबर मुलुकभर नै विस्तर गर्नुपर्दछ । इन्टरनेटको पहुँच शतप्रतिशत जनतामा पु-याउनुपर्छ ।

दोस्रो, भारतले बायोमेट्रिक आधार कार्ड जारी गरेझैं हाम्रो सरकारले पनि शतप्रतिशत जनतालाई डिजिटल परिचयपत्र तत्कालै उपलब्ध गराउनुपर्दछ । यो कार्यले डिजिटल अर्थतन्त्र निर्माणमा गति दिनेछ ।

तेस्रो, डिजिटल सिग्नेचरका लागि आवश्यक पर्ने पूर्वाधार तुरुन्त विकास गरी कार्यान्वयनमा ल्याउनुपर्छ । त्यसपछि ई– कमर्सलाई बढावा दिन हुलाक ठेगानालाई व्यवस्थित गर्नुपर्दछ । ताकि जिपीएसको सहयोगले व्यक्तिको ठेगानामा सहजै पुग्न सकियोस् । पाँचौं काम भरपर्दो भुक्तानी प्रणालीको विकास हो । यो काम तत्कालै अघि बढाउनुपर्दछ । यसका लागि सबै नेपालीको बैंक खाता हुन आवश्यक छ । 

भारत सरकारले जनधन योजना, आधार कार्ड र मोबाइल कनेक्टिभिटी (जाम ट्रिनिटी) कार्यक्रम ल्याई यो कार्य सम्पन्न गरेको छ । त्यसैगरी डिजिटल फाइनान्स विस्तार गर्न नेसनल पेमेन्ट स्विच तत्कालै निर्माण गर्नुपर्दछ । डिजिटल फाइनान्स नेपालमा महँगो शुल्क तिर्नुपर्ने भएकाले हाल प्रयोगमा रहेको कार्डद्वारा भुक्तानी गर्ने कारोबार महँगो छ । राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच निर्माण गरेपछि पेमेन्ट कार्डहरूको शुल्क घट्न जाने र डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्न मद्दत मिल्नेछ ।

छैटौं, सरकारले डिजिटल साक्षरता र सशक्तीकरण अभियान सञ्चालन गर्नुपर्ने हुन्छ । आपूर्तिको तुलनामा डिजिटल भुक्तानी तथा फाइनान्सको माग नहुनुको एउटा कारण डिजिटल साक्षरताको कमीले हो । अन्तिम उपायचाहिँ ‘बिग डेटा’ र ‘क्लाउड कम्प्युटरिङ’ व्यवसायमा क्रान्ति ल्याउनुपर्छ । आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन–लर्निङ एवं रोबोटिक्सजस्ता उदीयमान व्यापार मोडल र नवीनतम प्रविधिको प्रयोगका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन तथा सहजीकरण गर्नुपर्दछ ।(अर्थशास्त्री थापाको यो लेख सेजन स्मारिकाबाट साभार गरिएको हो)


Author

नरबहादुर थापा

थापा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।


थप समाचार
x