विचार-वार्ता

नेपाली सांस्कृतिक प्रतिनिधिमण्डलको त्यो चीन भ्रमण

सन्तोष खडेरी |
मंसिर १९, २०७७ शुक्रबार ९:१९ बजे

नेपालको उत्तरी हिमालयको पारिपट्टिका भोट भनिने तिब्बत र चीनसँग नेपालको सम्बन्ध परापूर्वकालदेखिको नै हो । अझ नेपालले पहिलोपटक दौत्य सम्बन्ध स्थापना गरेको मुलुक भोट हो । भोटको माध्यमबाट चीनसँग नेपालको सम्बन्ध जोडिएको हो । 

गत वर्ष नेपाल भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी चिन फिङले आफ्नो नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाली अखबारमा नेपालीमा लेख प्रकाशित गर्दै करिब १६ सय वर्षअघि चिनियाँ महान् भिक्षु फा सियान र नेपाली महान् भिक्षु बुध्दभद्रले एकअर्काको देशमा भ्रमण गरेका थिए र संयुक्त रूपमा बौध्द धर्मका शास्त्रपदहरू अनुवाद गरेका थिए भनी उल्लेख गरेका थिए । त्यस्तै चीनको थाङ राजवंशका पालामा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा स्रङचन गम्पोसँग विवाह भएको थियो  । 


महान् भिक्षु स्यवियान चाङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको बहुमूल्य वर्णन आफ्नो यात्रावृत्तान्त लेखेका थिए । य्वीयान राजवंशमा नेपालका प्रसिध्द कलाकार अरनिकोले चीनमा आएर पेइचिङमा श्वेत स्तूपको निर्माण गरेका थिए  । युगौँयुगदेखि हाम्रा दुवै देशका जनताबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धका यी केही उदाहरण उनले प्रस्तुत गरेका थिए । (हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पु-याऔँ । सी चीनफिङ कान्तिपुर दैनिक ११ (अक्टोबर २०१९)

लिच्छविकालदेखि नै नेपाल–भोटबीच व्यापारिक सम्बन्ध स्थापना भइसकेको मानिन्छ । लामो समयसम्म नेपालले भोटमा व्यापार गर्ने एकाधिकार प्राप्त गरेर आफूलाई समेत समृध्द बनाएको थियो । मध्यकालमा समेत भोटमा नेपालको व्यापारिक सम्बन्ध यथावत नै थियो । कान्तिपुरका राजा प्रताप मल्लले भोटलाई पराजित गराई एक सन्धि गरेर त्यहाँ आफ्नो स्थान बलियो पारेका थिए । आधुनिककालमा समेत नेपाल–भोट सम्बन्धलाई लडाइँ र सन्धिले निर्देशित गरिरह्यो ।

नेपाल र भोटबीचको सम्बन्ध सधैँ मित्रवत् नभई कहिलेकाहीँ युध्दरत समेत रह्यो । सन् १७८८ को प्रथम नेपाल–भोट युध्दमा नेपालले जित हासिल गरेपछि सन् १७८९ मा भएको सन्धिबाट नेपालले केही विशेषाधिकार प्राप्त गरेको थियो । तर सन्धि भएको दुई वर्ष पनि नपुग्दै पुनः सन् १७९१ मा सुरु भएको भोट–नेपाल दोस्रो युध्दमा चीनले भोटलाई सहयोग गर्दा चिनियाँ सेना रसुवासम्म आइपुग्यो । जसका कारण नेपाल पराजित हुन पुग्यो र सन् १७९२ मा बेत्रावती सन्धि भयो ।

बेत्रावती सन्धिपछि नेपालले लामो समयदेखि गर्दै आएको हिमालय पार व्यापारमा विशेषाधिकार गुमाउन पुग्यो । सोही सन्धिपछि नेपालले चीनका सम्राट्लाई सम्राट् मानेर प्रत्येक पाँच वर्षमा सौगात मिसन चीन पठाउन थाल्यो । 

बालचन्द्र शर्माको नेतृत्वमा गएको कवि, लेखक र कलाकार सम्मिलित २१ जनाको सांस्कृतिक प्रतिनिधिमण्डलले एक महिना लामो चीनको भ्रमण गर्यो । 
 

जंगबहादुर राणाले चीन आन्तरिक समस्यामा परेको समयमा सन् १८५५/५६ मा भोटमाथि आक्रमण गरे । त्यसमा नेपालले भोटलाई पराजित गर्दा सन् १८५६ मा थापाथली सन्धि भयो । जसमा नेपालले भोटमा व्यापार गर्ने विशेषाधिकार प्राप्त गर्यो । त्यस्तै तिब्बतले नेपाललाई वार्षिक १० हजार कालो मोहर रकम बुझाउने भयो ।

सन्धिपछि नेपालीहरूले भोटमा व्यापार गर्दा कर नलाग्ने, नेपालीहरूको सुरक्षार्थ नेपाली सुरक्षाकर्मीको नै त्यहाँ खटिने, नेपालीहरूलाई नेपालको कानुन नै आकर्षित हुने र भोटमा व्यापार गर्न पुगेका नेपालीहरूले नेपालबाट श्रीमती लैजाने अनुमति नपाउँदा त्यहाँका युवतीलाई साथमा राख्ने त्यसरी तिनीहरूबाट छोरा जन्मिए नेपाली हुने तर छोरी जन्मिए उतैको हुने जसलाई खचडा खचडी भनिन्थ्यो । अर्धऔपनिवेशिक शासन जस्तो व्यवस्था थियो, त्यहाँ नेपालको । नेपालले जनगणतन्त्र चीनसँग सन् १९५६ को अगस्ट १ मा दौत्य सम्बन्ध स्थापना गरेको एक वर्षपछि सन् १९५६ को सन्धिले तिब्बतमा नेपालको बिशेषाधिकार खारेज गर्यो ।

सन् १९०८ मा चीनमा डा. सनयात सेनको नेतृत्वमा भएको क्रान्तिबाट मञ्चु वंशको अन्त्य भएर गणतन्त्र चीनको स्थापना भयो । मञ्चु वंशको अन्त्य पछि बेत्रावती सन्धिअनुसार नेपालले चीनमा प्रत्येक ५ वर्षमा पठाउँदै आएको सौगात मिसन पठाउन छाड्यो । सन् १९०८ मा काजी भैरवबहादुर गड्तौलाको नेतृत्वमा चीन गएको सौगात मिसन नै नेपालका तर्फबाट चीन जाने अन्तिम सौगात मिसन बन्न पुग्यो । त्यसपछि पनि गणतन्त्र चीनका तर्फबाट नेपालमा राणा व्यवस्थाका नयाँ प्रधानमन्त्री परिवर्तन भएपिच्छे सौगात लिएर नेपाल आइरहन्थे ।

सन् १९४७ मा भारतको स्वतन्त्रताअगावै पद्म शमशेरको कार्यकालमा अप्रिल महिनामा जनरल कृष्ण शमशेरको नेतृत्वमा एक प्रतिनिधिमण्डल गणतन्त्र चीनसँग सम्बन्ध नवीकरण गर्ने उद्देश्यले त्यहाँका राष्ट्रपति च्याङ काइसेकलाई तक्मा पहिराउन पेकिङ पुगेको थियो । च्याङ काइसेक त्यहाँ माओत्सेतुङको कम्युनिस्ट पार्टीसँग आन्तरिक लडाइँमा व्यस्त भएकाले त्यतिबेलाको गणतन्त्र चीनसँग नेपालको दौत्य सम्बन्ध स्थापना हुन सकेन । सन् १९४९ मा माओत्सेतुङको नेतृत्वमा चीन जनगणतन्त्र चीनमा रूपान्तरण भएको करिब ६ वर्षपछि मात्र जनगणतन्त्र चीनसँग नेपालको सम्बन्ध स्थापना भयो ।

चीनमा माओत्सेतुङको नेतृत्वमा कम्युनिस्ट पार्टीको सरकार गठन भएको वर्ष दिनमा नेपालमा समेत राणा शासनको पतन भयो र प्रजातन्त्र आयो । प्रजातान्त्रिक नेपालमाथि भारतको वर्चस्व बढ्न पुग्यो जसका कारण पनि जनगणतन्त्र चीनसँग सम्बन्ध स्थापना गर्नमा ढिलाइ हुन गयो । त्यतिबेला भारतीय अधिकारीहरूले समेत नेपाललाई धेरै मुलुकसँग सम्बन्ध स्थापना नगर्न, दूतावास खोलेर फजुल खर्च नगर्न त्यस्तै नेपालको दूतावास नभएको मुलुकबाट भारतीय दूतावासमार्फत अगाडि बढ्न सुझाव दिन्थे । त्यसलाई मनन गर्ने नेपाली अधिकारीहरूले त्यो बीचमा ठोस पहल गरेनन् ।

सन् १९५२ जुलाई ४ मा नेपालका तत्कालीन राजा त्रिभुवनले सल्लाहकारसभाको उद्घाटन मन्तव्यमा उत्तरी सिमानामा तिब्बतसँग हाम्रो पुरानो सम्बन्ध मित्रवत् कायम नै छ । चीनको केन्द्रीय सरकारप्रति हाम्रो शुभकामना छ । चीनका अधिकारीहरूसँग हाम्रा सम्बन्धित अधिकारीहरूको सम्बन्ध राम्रो छ र तिब्बतसँग पनि हाम्रो सम्बन्ध राम्रो रहेको छ । 

दुई देशका बीचमा मित्रता र सदावहार छ । तिब्बतको नयाँ परिस्थितिबाट हाम्रो पुरानो सम्बन्धमा परिवर्तन भएको छैन भन्ने कुरा व्यक्त गर्दै जनगणतन्त्र चीनलाई शुभकामना दिई सम्बन्ध नवीकरणको संकेत दिए । यस्तै सन् १९५४ मा चीनसँग नेपालको मित्रता पुनरावृत्ति गर्ने उद्देश्यले नेपालमा ’नेपाल चीन मैत्री संघ’ को स्थापना भयो । 

त्यसलगत्तै लक्ष्मीप्रसाद देवकोटाको नेतृत्वमा युवाहरूको एक प्रतिनिधिमण्डल चीन भ्रमणमा गयो । सन् १९५४ मा भारतका प्रधानमन्त्री नेहरुको चीन भ्रमणको क्रममा चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले नेपालसँग कूटनीतिक शिष्टमण्डलको आदानप्रदान गर्न सम्पर्क राख्न खोजेको जानकारी नेहरूलाई गराए । सोही वर्ष २३ सेप्टेम्बरमा चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले चीनको अखिल राष्ट्रिय प्रतिनिधिसभाको बैठमा आफ्नो सरकारको कार्यविवरण प्रस्तुत गर्दा चीन नेपालसँग समान स्तरमा दौत्य सम्बन्ध स्थापना गर्न तयार रहेको व्यक्त गरे । नेपालबाट तत्कालीन परराष्ट्रमन्त्री डिल्लीरमण रेग्मीले ‘चिनियाँ प्रधानमन्त्री चाउ एन लाईको अभिव्यक्तिको स्वागत गर्दै उनले व्यक्त गरेको साधारण सम्बन्ध प्रस्ट नभएको र त्यसलाई कूटनैतिक रूपबाट प्रस्ट गराउन सके बढी राम्रो र प्रस्ट हुने थियो भन्ने विचार व्यक्त गरे । (नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजा परिषद्को भूमिका डा. राजेश गौतम)

भारतले त्यति बेलै पनि नेपालमा आफ्नो विशिष्ट स्थान खोज्ने गथ्र्याे । अन्तर्राष्ट्रिय मञ्चमा विदेशी मुलुकहरूसँग नेपाल–भारत सम्बन्धमा भारतको स्थान विशिष्ट रहेको भन्ने मनाउन भारत निकै प्रयत्नशील थियो । त्यसमा कहिले नेपालमा भारतको स्थान विशिष्ट छ भनी अमेरिकाले अनुमोदन ग-यो भन्थ्यो । त्यस्तै कहिले चीनलाई नेपालमा भारतको स्थान विशिष्ट भनी भारतले जानकारी गरायो भनी डंका पिट्ने गथ्र्याे ।

च्याङ काइसेक त्यहाँ माओत्सेतुङको कम्युनिस्ट पार्टीसँग आन्तरिक लडाइँमा व्यस्त भएकाले त्यतिबेलाको गणतन्त्र चीनसँग नेपालको दौत्य सम्बन्ध स्थापना हुन सकेन । 
 

भारतको यस्तो व्यवहारले पनि नेपाललाई चीनसँग सम्बन्ध स्थापना गर्न कठिनाइ भएको थियो । त्यस्तै अर्को प्रसंग नेपालको आफ्नो विशेषाधिकार भएको तिब्बतमा चीनले कब्जा जमाइसकेको थियो । त्यस्तो परिस्थितिमा तिब्बत र चीनलाई कसरी लिने तिब्बतमा चीनको नियन्त्रण र प्रभुसत्तालाई स्वीकार गर्ने वा नगर्ने भन्ने बडो ठूलो अन्योल थियो नेपालमा । यस्तैमा सन् १९५४ मा भारतले तिब्बतलाई चीनको प्रान्तका रूपमा स्वीकार गरेर नयाँ सन्धि गरेपछि भने नेपाललाई समेत सजिलो भयो । अब भारतले तिब्बतलाई चिनियाँ प्रान्तका रूपमा स्वीकार गरेको विषयलाई अब नेपालले समेत स्वीकार गर्यो ।

अर्को वर्ष सन् १९५५ को १३ मार्चका दिन स्विट्जरल्यान्डको जुरिचमा उपचाररत तत्कालीन राजा त्रिभुवनको निधन भयो । र नयाँ राजाका रूपमा महेन्द्र सत्तामा आए । संयोगवश सोही १८-२४ अप्रिलमा इन्डोनेसियाको बाङ्डुङ सहरमा एसियाली अफ्रिकी देशहरूको सम्मेलनको आयोजना भएको थियो । उक्त सम्मेलनलाई बाङडुङ सम्मेलन भनेर चिनिन्छ । उक्त सम्मेलनमा चीनका प्रधानमन्त्री चाउ एनलाई त्यस्तै भारतका प्रधानमन्त्री नेहरुसमेत ठूला हस्ती थिए । 

नेपालबाट समेत तत्कालीन परराष्ट्र सचिव मेजर जनरल शौभागजंग थापाको नेतृत्वमा एक प्रतिनिधिमण्डलले त्यहाँ भाग लिएको थियो । प्रजातान्त्रिक नेपालले कुनै पनि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएको त्यो पहिलो घटना थियो । त्यसमा सहभागी भएपछि नै नेपाल बाहिरी दुनियाँमा देखापर्न थालेको हो । त्यही सम्मेलनमा नेहरूले पञ्चशीलको सिध्दान्त प्रतिपादन गरे जसलाई नेपाली प्रतिनिधिमण्डलका नेता मे.ज. थापाले नेपालका तर्फबाट पूर्ण सहमति जनाए ।

यसरी त्यही सम्मेलनमा नै नेपाली प्रतिनिधिमण्डलले चिनियाँ प्रतिनिधिमण्डलसँग भेट गर्यो । संवाद भयो । चीनसँग दौत्य सम्बन्ध स्थापना गर्ने तर कसरी कुन आधारमा सम्बन्ध स्थापना गर्ने भन्ने त्योभन्दा नेपाललाई अर्को अन्योलसमेत थियो । अघिल्लो वर्ष भारतले तिब्बतलाई चीनको प्रान्तका रूपमा स्वीकार गर्दा नेपाललाई तिब्बतमा चीनको सोही भूमिका स्वीकार गर्न जसरी सहज भएको थियो । यसपटक बाङडुङ सम्मेलनले पञ्चशीलको सिध्दान्त प्रतिपादन गरेसँगै नेपाललाई चीनसँग पञ्चशीलका आधारमा दौत्य सम्बन्ध स्थापना गर्न झनै सहज भइदियो । बाङडुङ सम्मेलनले पञ्चशीलको सिध्दान्त प्रतिपादन गरेपछि पञ्चशीलका आधारमा सम्बन्ध स्थापित गर्ने प्रथम मुलुक भए नेपाल र चीन । यसरी नेपाल र चीनको सम्बन्धको चर्चा र महत्व दुवै ह्वात्तै बढ्न गयो ।

२७ जुलाई १९५५ मा भारतका लागि चिनियाँ राजदूत रहेका चीनका कूटनीतिज्ञ युआन चुन सेनको नेतृत्वमा एक चिनियाँ प्रतिनिधिमण्डल नेपाल आयो । पाँच दिनसम्म काठमाडौँमा नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच लगातारको छलफल र वार्तापछि अन्ततः १ अगस्ट १९५५ मा पञ्चशीलको आधारमा नेपाल चीन सम्बन्ध स्थापना भयो ।

तर त्यतिबेला नेपालमा प्रधानमन्त्रीसहितको कुनै सरकार थिएन । राजा त्रिभुवन उपचारका लागि विदेश उड्नुअघि उनले नेपालमा तत्कालीन युवराज महेन्द्रलाई राजकीय परिषद्का अध्यक्ष नियुक्त गरेका थिए । तर त्यसको केही महिनापछि नै युवराज महेन्द्र उतै युरोप पुगेर राजा त्रिभुवनबाट शासन सत्ताको अख्तियारनामा आफ्नो नाममा लिएर नेपाल फर्की राष्ट्र प्रमुखका हैसियतले कार्य गर्न थालिसकेका थिए । यसै क्रममा मातृकाप्रसाद कोइरालाको अघिल्लो सरकारले दिएको राजीनामा शासन सत्ताको अख्तियारनामा आफ्नो नाममा लिएलगत्तै महेन्द्रले स्वीकार गरेका थिए । त्यसपछि महेन्द्रले आफ्नो नेतृत्वमा प्रत्यक्ष शासन सञ्चालन गर्ने गरी परामर्शदातृ सरकारको गठन गरेका थिए । जसका कर्ताधर्ता सरदार गुञ्जमान सिंह थिए । २०१२ साउन १७ (तदनुसार १९५५ अगस्ट १) मा सिंहदरबारमा नेपाल र चीनका प्रतिनिधिमण्डलबीच पञ्चशीलको आधारमा कूटनीतिक सम्बन्ध स्थापित गर्न सम्झौता पत्रमा हस्ताक्षर गरे ।

चीनका तर्फबाट भारतस्थित चिनियाँ राजदूत युआन चुन सेनले र नेपालका तर्फबाट गुञ्जमान सिंहले नै उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । (समाज दैनिक २०१२/०५/१८)

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि जारी गरिएको संयुक्त वक्तव्यमा यस्तो लेखिएको थियो :
‘मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्ने दुई सरकारको इच्छानुरूप नेपाल र चीनका बीच कूटनैतिक सम्बन्ध स्थापित गर्न दुई देश राजी भएका छन् । दुवै सरकार यस कुरामा पनि मञ्जुर छन् कि तल दिइएका पञ्चसूत्रहरू नै दुई देशका बीचमा हुने सम्बन्धको आधारभूत सिध्दान्तहरू हुनुपर्छ ।

(क) परस्परको सार्वभौमिकता र राष्ट्रको अखण्डताको सम्मान,
(ख) अनाक्रमण, (ग) एकले अर्काको भित्री मामलामा हस्तक्षेप नगर्ने, चाहे त्यो आर्थिक, राजनैतिक र सैध्दान्तिक नै किन नहोस्, (घ) बराबरी र परस्परमा लाभ, तथा
(ङ) शान्तिपूर्ण सहअस्तित्व ।
दुवै सरकारहरू विश्वास गर्दछन् कि कूटनैतिक सम्बन्ध स्थापित गर्नाले सांस्कृतिक र आर्थिक क्षेत्रमा पनि दुई देशमा बढ्ता मेलमिलाप हुनेछ ।!!
(मित्रताको पुनरावृत्ति (चाउ एन लाई स्वागत समिति नेपाल २०१३)

त्यसलगत्तै दुवै मुलुकले एकअर्काको मुलुकमा आआफ्ना राजदूत खटाउने भए । जसका लागि नेपाल र चीनले भारतस्थित आआफ्ना राजदूतलाई नेपाल र चीनको समेत जिम्मेवारी तोके । सम्बन्ध स्थापना भएको दुई दिनपछि ३ अगस्टमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा भारतका लागि चिनियाँ राजदूत रहेका युआन चुन सेनले महाराजधिराज महेन्द्र समक्ष ओहदाको प्रमाणपत्र पेस गरे ।

ओहदाको प्रमाणपत्र पेस गर्दा महामहिम राजदूत सेनले गरेको सम्बोधन यस्तो थियो :
श्री ५ महाराजधिराज, चीन र नेपालको एकै सिमाना छन्, र उनीहरूका बीच दीर्घकालीन एतिहासिक घनिष्ट सम्बन्ध थियो । चीन र नेपालका जनतामा परम्परागत अगाध मैत्री कायम थियो । हाल चीन र नेपालले कूटनैतिक सम्बन्ध कायम गरेका छन् । तथा पञ्चशीललाई पथप्रदर्शन गर्ने मूलभूत सिध्दान्तका रूपमा स्वीकार गरेका छन् । मलाई पूर्ण विश्वास छ कि यस प्रकारको कूटनैतिक सम्बन्ध स्थापित हुनु दुवै देशका जनताको इच्छा अनुरूप छ र साथै यसले एसिया तथा बिश्वकै शान्तिमा मद्दत गर्नेछ । प्रत्युत्तरमा महाराजाधिराज महेन्द्रले महान् चीनका माननीय प्रतिनिधिको स्वागत गर्न पाउँदा हर्ष प्रकट गर्दै गरेको सम्बोधन यस्तो थियो ।

‘हाम्रा दुई देशका बीचमा रहेको परम्परागत मैत्रीपूर्ण सम्बन्धको महामहिमले उचित सम्झना दिलाउनु भयो । भर्खरै पूर्ण भएको सम्झौताले त्यस पुरानो सम्बन्धलाई नयाँ आधार दिएको छ । मलाई विश्वास छ कि यसरी स्थापित भएको नयाँ मैत्रीपूर्ण सम्बन्ध हाम्रा दुई देशको सुख र समृध्दिका लागि भविष्यसम्म रहनुका साथै सारा संसारमा शान्ति र सद्भावना बढाउन सहायक हुनेछ ।’

(मित्रताको पुनरावृत्ति (चाउ एन लाई स्वागत समिति नेपाल, २०१३)

राजा त्रिभुवन उपचारका लागि विदेश उड्नुअघि नेपालमा तत्कालीन युवराज महेन्द्रलाई राजकीय परिषद्का अध्यक्ष नियुक्त गरेका थिए ।

नेपालको राष्ट्रिय दिवस ७ फागुन २०१२ को अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङले नेपालका महाराजाधिराज महेन्द्रलाई शुभकामना सन्देश पठाउँदै नेपालको सदा बढ्दो उन्नति, नेपालका जनताको सदा बढ्दो सुखको कामना गरेका थिए । सोही अवसरमा त्यहाँका प्रधानमन्त्री चाउ एन लाईले नेपालका प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई शुभकामना सन्देश पठाउँदै कूटनैतिक सम्बन्धले चीन र नेपालमा सांस्कृतिक सहयोग पनि झन्झन् बढ्दै जाने बिश्वास व्यक्त गरेका थिए । त्यस्तै चीन र नेपालको मैत्री दिनप्रतिदिन बढ्दै गएर एसिया र विश्व शान्तिमा योगदान दिने विश्वाससमेत व्यक्त गरेका थिए । त्यस्तै चीनको जनगणतन्त्र स्थापना दिवसको अवसर पारेर नेपालका महाराजधिराज महेन्द्रले समेत चीनका राष्ट्रपतिका मार्फत चिनियाँ जनतालाई शुभकामना सन्देश पठाई दुवै देशको सुखद सम्बन्ध दिन प्रतिदिन झन्झन् बढ्दै जाने विश्वास प्रकट गरेका थिए ।

सन् १९५६ को अप्रिल २४–२८ सम्म चीनको पेकिङमा अफ्रो एसियाली महिला सम्मेलको आयोजना गरिएको थियो । त्यसमा नेपालका तर्फबाट समेत महिलाहरूको एक प्रतिनिधिमण्डलले भाग लिएको थियो । त्यसमा अखिल नेपाल महिला संघकी अध्यक्ष पुण्यप्रभा देवी र अर्की एकजना लक्खीदेवीले सहभागिता जनाएका थिए ।

(समाज दैनिक ०६ वैशाख २०१३)

सन् १९५६ को मेको सुरुआतमा तत्कालीन राजा महेन्द्रको राज्याभिषेक समारोह थियो । नेपालले शाहवंशीय इतिहासमा पहिलोपटक संसारभरबाट विदेशी पाहुनाहरूलाई आमन्त्रित गरेर राज्याभिषेक समारोह आयोजना गरेको पहिलोपटक थियो । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत पाञ्चुलीसमेत २५ अप्रिलमा काठमाडौँ ओर्लिएका थिए । २९ अप्रिलमा उनले महाराजाधिराज महेन्द्रसमक्ष ओहदाको प्रमाणपत्र पेस गरे ।

सोही दिन उनले प्रधानमन्त्री टंकप्रसाद आचार्यसँग शिष्टाचार भेटवार्ता गरे । राज्याभिषेकका लागि उनी काठमाडौँमा नै रहे । जनगणतन्त्र चीनबाट समेत उपप्रधानमन्त्रीको नेतृत्वमा एक प्रतिनिधिममण्डलले राज्याभिषेक समारोहमा भाग लिएको थियो । चिनियाँ उपप्रधानमन्त्री उ–लाई फू नेतृत्वको प्रतिनिधिमण्डल ३० अप्रिलका दिन काठमाडौँमा ओर्लिएको थियो । 

विमानस्थलमा नेपालका परराष्ट्रमन्त्री चूडाप्रसाद शर्माले स्वागत गरेका थिए । स्कुले विद्यार्थीहरूले चिनियाँ प्रतिनिधिमण्डलको स्वागतमा ‘नेपाली चिनी भाइभाइ’ भन्ने नारासमेत लगाएका थिए । राजा महेन्द्रको राज्याभिषेक समारोहमा अध्यक्ष माओत्सेतुङले समेत शुभकामना सन्देश पठाएका थिए । नेपालका लागि चिनियाँ राजदूत पाञ्चुलीले ४ मे का दिन काठमाडौँमा दिवाभोजको आयोजना गरेका थिए । त्यस दिवाभोजमा चिनियाँ उपप्रधानमन्त्रीसमेत थिए । त्यस्तै नेपालका राजा महेन्द्र, रानी रत्न, प्रधानमन्त्री टंकप्रसाद आचार्यलगायत सहभागी थिए । त्यस्तै राज्याभिषेक समारोहमा उपस्थित हुन आएका भारतका उपराष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन समेत सहभागी थिए । (सिन्ह्वा १९५६ मे)

दुवै देशको शुभेच्छा र सांस्कृतिक सहयोगलाई बढावा दिने गरी चीन सरकारले सन् १९५६ को मध्यतिर नेपालको सांस्कृतिक प्रतिनिधिमण्डललाई निमन्त्रणा गर्यो । नेपालले उक्त निमन्त्रणालाई स्वीकार्दै तत्कालीन शिक्षामन्त्री बालचन्द्र शर्माको नेतृत्वमा २१ जनाको एउटा सांस्कृतिक प्रतिनिधिमण्डल जुलाई १९५६ (असार २०१३) मा चीन पठायो । कवि, लेखक र अरु कलाकारहरू सम्मिलित उक्त नेपाली प्रतिनिधिमण्डलले एक महिना लामो चीनको भ्रमण गर्यो । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा तीर्थराज तुलाधर, अंगुरबाबा जोशी, काशीप्रसाद श्रीवास्तव, केवल चौधरी, दयारामभक्त माथेमा, चित्तधर हृदय, धर्मराज थापा, बालकृष्ण सम, भीमदर्शन रोका, भुवन शाह, मधुसूदन राजभण्डारी, डा. यादवप्रसाद पन्त, प्रो. हितनारायण झा, शाही फोटोग्राफर पशुपतिमान श्रेष्ठ, कलाकारमा भैरवबहादुर थापा, खिमबहादुर गन्धर्व (सारंगी), टोपमान गुरुङ (मादल) र डान्सरमा मीना र गुनासमेत थिए । जसमध्ये चार जना महिला थिए अंगुरबाबा जोशी र भुवन शाह त्यस्तै दुई डान्सरमध्येका मीना र गुना महिला थिए । (डा. मदनकुमार भट्टराईको संकलन)

दुई देशको सम्बन्धलाई झन् बलियो सांस्कृतिक सूत्रमा उन्ने उक्त प्रतिनिधिमण्डलको लक्ष्य थियो । चीनमा उत्रिएपछि नेपाली प्रतिनिधिमण्डलका नेता शर्माले नेपाल र चीनको पुरानो सम्बन्धमा आफूहरूको भ्रमणले थप वृध्दि ल्याउने बताए । साथै उनले चीन नेपाल सँग जोडिएको छिमेकी राष्ट्र हो र यसकारण उनीहरूको मित्रतासमेत समयानुकूल बढ्दै जानुपर्ने बताउँदै यही विचार नेपालका महाराजाधिराज महेन्द्रको समेत भएको उल्लेख गरे ।

जनगणतन्त्र चीनका अध्यक्ष माओत्सेतुङ र प्रधानमन्त्री चाउ एन लाईले १४ जुलाईका दिन पेकिङमा नेपाली प्रतिनिधिमण्डलको स्वागत गरे । उक्त समारोहमा नेपाली प्रतिनिधिमण्डलका नेता शर्माले अध्यक्ष माओत्सेतुङलाई महाराजाधिराज महेन्द्रको पत्र त्यस्तै प्रधानमन्त्री चाउ एन लाई प्रधानमन्त्री टंकप्रसाद आचार्यको पत्र हस्तान्तरण गरे । नेपाली प्रतिनिधिमण्डलले जनगणतन्त्र चीनका प्रमुख र प्रधानमन्त्रीलाई शुभेच्छा र मैत्रीको चिन्हस्वरूप विशेष उपहारहरूसमेत टक्र्याए त्यसमा नेपाली भादगाउँले टोपीसमेत थियो ।

त्यस अवसरमा नेपाली र चिनियाँ कलाकारहरू आआफ्नो नाचसहितको कलाको प्रदर्शन गरे । नेपाली प्रतिनिधि मण्डलका नेता बालचन्द्र शर्माको सम्मानमा चिनियाँ पक्षबाट अर्को एउटा रात्रिभोजको आयोजना भयो । त्यसमा चीनका प्रधानमन्त्री चाउ एन लाईसमेत आफैँ उपस्थित थिए । उक्त भोजमा पेकिङमा रहेका अन्य मुलुकका कूटनैतिक समुदायको समेत उपस्थिति थियो । उक्त समारोहमा शर्माले नेपाल र चीनको मित्रताको सम्बन्ध र एउटाले अर्कोलाई सम्मान गर्ने प्रचलन कसरी र कहिले प्रारम्भ भयो भन्ने यति प्राचीन छ कि त्यो सबैभन्दा प्राचीन इतिहासका पानाले समेत बताउन नसकेको उल्लेख गरे । त्यस्तै बीचमा करिव आधा शताब्दीसम्म छुट्न पुगेको नेपाल चीन सम्बन्ध पुनः जोडिएकोमा हर्ष प्रकट गरे ।

चीनमा आफ्नो अनुभवको चर्चा गर्दै शिक्षामन्त्री शर्माले चीनका जनता जुन उत्साह तथा उमंगका साथ आफ्नो मातृभूमिको निर्माण गरिरहेका छन् । त्यसले नेपाली प्रतिनिधिमण्डलका प्रत्येक सदस्यको मन मुटुमा एउटा गहिरो छाप पारेको छ भनी बताए । जनगणतन्त्र चीनमा भइरहेको निर्माण कार्य देखेर नेपाल फर्किएपछि त्यसका बारेमा नेपाल सरकार एवं नेपाली जनतालाई समेत चीनको धेरै कुरा बताउने उनले उल्लेख गरे । चीनका सांस्कृतिक विभागका मन्त्री सेन येन पिंगले नेपाल चीन मित्रताको सम्बन्धमा सोही भावना व्यक्त गर्दै नेपाल र चीनको मित्रता धेरै पुरानो हो, चिनियाँ जनता नेपाल जस्तो आफ्नो असल छिमेकी पाएर गौरवान्वित भएका छन् । नेपाली जनताहरूप्रति चिनियाँ जनताहरूले सच्चा मैत्री राख्दछन् र उनीहरूले नेपालको पुरानो सांस्कृतिक परम्पराको सधैँ सम्मान गर्दै मुक्तकण्ठले प्रशंसा गर्दै आइरहेको छन् भनी बताए । नेपाली सांस्कृतिक प्रतिनिधिमण्डलले चीनमा रहँदा त्यहाँका कला तथा शैक्षिक क्षेत्रहरूसँग धेरै सम्पर्क राख्यो । चीनको ऐतिहासिक म्युजियम विभिन्न विश्वविद्यालयहरू ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थानहरूको निरीक्षण गर्नुका साथै अनेक प्रख्यात स्थलहरूको पनि त्यस सांस्कृतिक प्रतिनिधिमण्डलले भ्रमण गर्यो ।

नेपाली प्रतिनिधि मण्डलका नेता बालचन्द्र शर्माले चीनको सांस्कृतिक मण्डललाई नेपाल आउने निमन्त्रणा दिएका थिए ।

(मित्रताको पुनरावृत्ति (चाउ एन लाई स्वागत समिति नेपाल २०१३)
नेपाल र चीनको बीचमा १ अगस्ट १९५६ मा दौत्य सम्बन्ध स्थापना भइसकेको भए पनि चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपालको परम्परादेखि चलिआएको सम्बन्धलाई थप कसरी व्यवस्थित गर्ने भन्ने सम्झौता भएको थिएन । त्यसैलाई व्यवस्थित गर्ने गरी नेपाल र चीनबीच सन् १९५६ को २० सेप्टेम्बरमा काठमाडौँमा अर्को एउटा सम्झौतामा हस्ताक्षर भयो ।

चीनका पक्षबाट नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत पाञ्चुली र नेपालका तर्फबाट परराष्ट्रमन्त्री चूडाप्रसाद आचार्यले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यही सम्झौतामा नेपालले लामो समययता तिब्बतमा पाइरहेको विशेषाधिकार त्याग गर्यो । उक्त सम्झौताले तिब्बतलाई चिनियाँ प्रान्तका रूपमा स्वीकार गर्दै नेपाल चीन सम्बन्धलाई थप दिशा निर्देश प्राप्त गर्यो । नेपालले एक चीन नीतिलाई अवलम्बन गर्यो । सम्झौता भएको झण्डै ६ महिनापछि तिब्बतमा नेपालीको सुरक्षाका लागि हातहतियारसहित सुसज्जित नेपाली सुरक्षाकर्मीसमेत नेपाल फिर्ता भए । (अस्ट्रेलियन फरेन अफेयर्स जर्नल १९५७ अप्रिल)

त्यस्तै सोही वर्ष सेप्टेम्बर २६—७ अक्टोबर १९५६ सम्म नेपालका प्रधानमन्त्री टंकप्रसाद आचार्यले जनगणतन्त्र चीनको राजकीय भ्रमण गरे । टंकप्रसाद आचार्य चीनको भ्रमण गर्ने नेपालका प्रथम प्रधानमन्त्री हुन् । टंकप्रसाद आचार्यको चीन भ्रमणका क्रममा चीनले नेपाललाई आर्थिक सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भयो । त्यस्तै सोही १ अक्टोबरमा चीनमा जनगणतन्त्र स्थापनाको नवौँ वार्षिक समारोहमा टंकप्रसाद आचार्यले अध्यक्ष माओत्सेतुङ र इन्डोनेसियाका राष्ट्रपति सुकार्नोका साथ बसेर चिनियाँ जनसेनाको परेड अवलोकन गरे । त्यही अवसर त्यसको चार वर्षपछि राजा महेन्द्रलाई मात्र मिल्यो ।

त्यसयता नेपालका तर्फबाट कुनै पनि राष्ट्र÷सरकार प्रमुखहरूले त्यो समारोहमा उपस्थित हुने अवसर पाएका छैनन् । टंकप्रसाद आचार्यले चीन भ्रमण गरेको तीन महिना पछि नै सन् १९५७ को जनवरी अन्तिम साता चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले नेपालको राजकीय भ्रमण गरे । यो नै कुनै पनि चिनियाँ सरकार प्रमुखबाट भएको पहिलो नेपाल भ्रमण थियो ।
(अस्ट्रेलियन फरेन अफेयर्स जर्नल १९५७ अप्रिल)


Author

सन्तोष खडेरी

इकागजका अबुधाबीस्थित टिप्पणीकार खडेरी नेपालसम्बन्धी दुर्लभ दस्तावेज संकलन र विश्लेषणका लागि परिचित छन् ।


थप समाचार
x