अस्पतालको झ्यालबाट उदाएका सूर्याेदय
स्केच : राजन काफ्ले
काठमाडौं : इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काइँला । तेस्रो आयामका त्रिमूर्तिमध्ये बैरागी काइँलाको आज साउन २५ गते ८३ औं जन्मदिन । इन्द्रबहादुर राईले लेखेका छन्– हामी एक जना (स्व. ईश्वर बल्लभ) नरहेको भएका छौँ । अब काइँलाले दुई जना नभएको एक्लो भएको छु भनेका छन्, इन्द्र पनि गएपछि ।
बैरागी काइँला हालै लामो समय अस्पताल बसेर घर फर्केका छन् । २०२० सालमा काइँलासहित राई र बल्लभ मिलेर ‘तेस्रो आयाम’ पत्रिका निकाले । ‘तेस्रो आयाम’ नाम पत्रिकाबाट एउटा आन्दोलनमा विस्तारित भयो । अहिलेको भाषामा भन्दा ‘थ्री डायमेन्सन’को गफ साहित्यमा त्यति बेलै गरियो । तेस्रो आयाम आन्दोलनका वैचारिक खम्बा मानिने इन्द्रबहादुर राई लेख्छन्, ‘तृतीय आयाम (घनत्व)को बोधसित जोडिएको छ, सम्पूर्णताको धारणा ।
त्रैआयामिकतासहितको वस्तु (व्यक्ति, समाज, साहित्य) सम्पूर्णताको हुन सक्छ । श्रेण्य कृतिहरू त्रयी आयामिक पायौँ । रोमान्टिक (?) भावुकता मात्रको बाहुल्यका लेखन त्यस श्रेणीको देखेनौँ । व्यक्तिक र सामाजिक त्रयी आयामिकता वा सम्पूर्णताका केही विमर्शन र लेखन गर्यौँ ।’ बैरागी काइँला कवि त हुँदै हुन्, उनले लिम्बूवानको इतिहास र संस्कृतिबारे दर्जनौँ कृति पनि दिएका छन् । उनी मुन्दुमविद् हुन् । ‘लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश’ काइँलाकै नेतृत्वमा प्रकाशन भयो ।
साहित्यिक वृत्तमा बैरागी काइँलालाई ‘पूर्वकवि’ भनेर पनि उडाइन्थ्यो । जतिबेला उनी २०६२÷०६३ को आन्दोलनपछि थुप्रै आकांक्षीबीच गिरिजाप्रसाद कोइरालाको रोजाइमा परे, उनको स्वागतसँगै पूर्वकविको उपमा पनि सतहमा आयो । काइँला स्वयंले पनि स्वीकारेका छन्, ‘सन् १९६०–६४ तिर धेरै कविता लेखेको भए पनि त्यसैताका मलाई थाहा भयो धेरै लेख्न नसक्दो रहेछु ।’ जीवनको उत्तराद्र्धमा झुर पुस्तक लेखेर निरन्तरता दिइरहने हाम्रा धेरै लेखकभन्दा आफ्नो पुरानो छविमा नलेखी टिक्ने काइँला एक हिसाबले पनि श्रद्धेय छन् ।
तेस्रो आयामको पहिलो अंकमै (२०२०) मा छापिएको ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’ कविता तेस्रो आयाम बुझाउने कवितात्मक घोषणापत्रसरह थियो । काइँलाका ‘अस्तित्वको दाबीमा साबातको बैला उत्सव’, ‘पर्वत’ जस्ता कवितामा काइँलाले आफ्नो लिम्बू संस्कृतिका मिथ र सन्दर्भलाई अभिव्यक्तिमा समेटेका छन् ।
यसमा उल्लेख्य कुरा के छ भने सुरु सुरुको तेस्रो आयाम दार्जिलिङे हावाबाट ज्यादा प्रभावित थियो । तर, पछि गएर भने काइँला लिम्बू र मुन्दुम संस्कृतितिर घोरिए । उनले आफूतिर फर्केर हेरे । बैरागी काइँला कवितामा, ईश्वर बल्लभ निबन्धमा र इन्द्रबहादुर राई समीक्षा–समालोचनामा केन्द्रित हुँदै आजभन्दा ५० वर्षअघि दार्जिलिङबाट जेजस्तो वैचारिक साहित्यिक आन्दोलन छेडियो । त्यसबारे पक्ष–विपक्षका पर्याप्त चर्चा भएका छन् । त्यही आन्दोलनले काइँलालाई पनि साहित्यिक हस्तीका रूपमा स्थापित गर्यो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा कुलपतिसमेत भएका काइँलाले एकेडेमीलाई विभिन्न भाषा र संस्कृतिको साझा प्राज्ञिक थलोका रूपमा चिनाउन नेपाली भाषाका अतिरिक्त अन्य राष्ट्रभाषामा पनि पत्रिका, जर्नल, पुस्तक निकाल्ने सत्प्रयास गरे । उसो त हरेक सिर्जना समयको परीक्षामा हरेक दशकमा परीक्षित भइरहनु पर्छ । काइँलाका कवितालाई प्रभावपरक सिर्जना भनेर नलेखिएको पनि होइन, यसलाई काइँलाले एक वार्तामा घुमाउरो रूपमा स्वीकार गरेका पनि छन् ।
तेस्रो आयामको एक दशकपछि २०३० मा काइँला काठमाडौँ आउँदा कमल दीक्षितसँग भेट भयो । दीक्षितले आफू अध्यक्ष रहेको साझा प्रकाशनबाट २०३१ सालमा ‘बैरागी काइँलाका कविताहरू’ प्रकाशन गरे । पहिलो पुस्तकको नाम नै जीवनको उत्तरार्धतिर निस्किने (लेखकको नाम जोडेर पुस्तकको नाम जुराइने) प्रतिनिधि रचना, संकलित रचना खालको छ । काइँलाको दोस्रो कविता संग्रह ‘अन्धा मान्छेहरू र हात्ती’ पहिलो संग्रह छापिएको ३७ वर्षपछि निस्किएको थियो । के २०३१ सालमा छापिएको संग्रहको नामले नै उनलाई अल्छी बनाएको हो त ?
पछिल्लो समय पहिचानको आन्दोलन जसरी सघन देखिएको छ, यसको जग बसाल्ने जस काइँला र उनको पुस्तालाई जान्छ । काइँला, भूपाल राईहरूलाई हालका पहिचानवादी नयाँ पुस्ताले पहिचान गर्न भुल्नुहुन्न । २०७६ सालमा काइँलाका कविता समेटी ‘बैरागी काइँलाका संकलित कविता’ राजन मुकारुङको सम्पादनमा फिनिक्स बुक्सबाट प्रकाशित छ ।
बैरागी काइँला कवि बराबर संस्कृतिविद् पनि हुन् । २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेको नेम्बाङ परिवारका हुन्, काइँला । २०६२÷०६३ को गणतान्त्रिक आन्दोलनसम्म लोकतन्त्रका पक्षमा खटेका बैरागी काइँलालाई दीर्घायुको शुभकामना । काइँलाको एक कविताको शीर्षक छ— अस्पतालको झ्यालमा खसेको सूर्यास्त । लामो समय अस्पताल बसी घर फर्केका काइँला, अस्पतालको झ्यालबाट उदाएका सूर्याेदय हुन् । जन्मदिनको शुभकामना ।
बैरागी काइँलाको कविता छ, 'तिम्राे जन्मदिनमा' । आज हामी उनको जन्मदिनमा उनकै कविताबाट उनलाई शुभकामना दिन चाहन्छाैं । आज विश्वआदिवासी दिवस हो किनकि आज नेपालका आदिवासी अध्येता बैरागी काइँलाको जन्मदिन हाे ।
तिम्रो जन्मदिनमा,
गुलाबको फूलसरि हाम्रो जन्मदिनमा ।
यस्तो दिन प्रभातको किरणमा आवोस् ।
जनमले मृत्युलाई हरपल जितोस् ।
जहाँ पर्छ तिम्रो पयर, हटोस् अन्धकार ।
जहाँ टेक, आकाशले तेहीँ झुकिदेओस् ।
तिम्रो बोली हामीलाई साथी भई देवोस् ।
जङ्घार तर्न निरन्तर हात हात पक्रिदेवोस् ।
तिम्रो हाँसो जीवनमा भइदेवोस् दीप ।
जहाँ जहाँ विपत छ बाटो देखाई देवोस् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया