विचार-वार्ता

प्रदेशको गठबन्धन सरकारमा कहाँ कसले नेतृत्व गर्ने शीर्ष नेतृत्वले टुङ्गो लगाउँछ

इकागज |
भदौ १६, २०७८ बुधबार १३:१२ बजे

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थापनासँगै प्रदेश १ र बागमतीमा पनि गठबन्धन सरकार बन्ने भएको छ । सोही अनुसार प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) र बागमतीमा नेपाली कांग्रेसले गठबन्धनको सरकारको नेतृत्व गर्ने सहमति बनेको छ । यसै सन्दर्भमा बागमती प्रदेशमा गठबन्धन सरकारको नेतृत्व गर्न लागेका नेपाली कांग्रेस प्रदेश सभा दलका नेता इन्द्र बानियाँसँगको कुराकानीः 

बागमती र प्रदेश १ मा पनि अब गठबन्धन सरकार बन्ने भयो । बागमती प्रदेश सरकारको नेतृत्व यहाँले लिन लाग्नुभएको हो ? 


शीर्ष नेतृत्वमा के सहमति भएको छ भन्ने अहिलेसम्म जानकारी पाइसकेको छैन । तर अब प्रदेश १ र बागमतीमा एमालेको सरकार रहँदैन र गठबन्धन सरकार बन्ने पक्का भएको छ । गठबन्धनको नेतृत्व कसले गर्ने भन्ने पनि अब नेतृत्वले छिट्टै टुंग्याउला । 

प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) र बागमतीमा कांग्रेसले नेतृत्व गर्नेगरी गठबन्धनका शीर्ष नेताहरूबीच सहमति भइसक्यो त ?

नेतृत्वलाई नै यस विषयमा निर्णय गर्नुपर्छ । संघमा गठबन्धनको सरकार छ, गण्डकी र लुम्बिनीमा त गठबन्धनको सरकार बनिसक्यो । अब बागमती र प्रदेश १ मा पनि चाँडै गठबन्धन सरकार बन्छ । शीर्ष नेताहरूबीच कहाँ क–कसले नेतृत्व गर्ने भनेर सहमति हुन्छ, त्यही अनुसार हामी अघि बढ्छौं । 

नेतृत्वले बागमतीमा गठबन्धनको नेतृत्व गर्न यहाँ नै निर्विकल्प हो भनिरहेकै छ, भनेपछि यहाँसँग पनि संवाद भएको होला नि ? 

निर्विकल्प भन्ने त कहीं पनि हुँदैन । राजनीतिमा त झनै विकल्प र सम्भावना धेरै हुन्छन् । झण्डै दुई तिहाई निकट रहेको केपी शर्मा ओली नेतृत्वको सरकारको त विकल्प निस्कियो । प्रदेशमा विकल्प खुला भएर गठबन्धन सरकार बनिरहेका छन् भने राजनीति विकल्पविहीन हुन्छ भन्ने त हामीले कल्पना पनि गर्दैनौं । 

यहाँ मुख्यमन्त्री बनेपछि फेरि व्यवसायी मुख्यमन्त्री भनेर भाँडभैलो हुने होला पार्टीमा ?

म समाजसेवा गर्न राजनीतिमा लागें । राजनीतिमात्र गरेर जीवन धानिदैंन भनेर व्यवसायमा लागेको हुँ । राजनीतिलाई पेसा बनाउने र पीत पत्रकारिता गर्नेले आलोचना पनि गर्लान्, त्यसले मलाई केही फरक पर्दैन । राजनीतिलाई पेसा बनाउने कुराको म सधैं विरोध गर्छु । म विद्यार्थी राजनीतिबाट राजनीतिमा सक्रिय हुँदै तरुण दलबाट पार्टीको राजनीतिमा आएको हुँ । म आफैं पनि कार्यकर्तालाई पूर्णकालीन राजनीतिमा लगाउनुहुँदैन, उनीहरूको जीवन चलाउन पेसा र व्यवसायको सुनिश्चितता हुनुपर्छ । उनीहरू गरिखाने बन्नुपर्छ भन्ने मान्यता राख्ने र त्यो अभियानमा लागेको व्यक्ति हुँ ।
 


Author

थप समाचार
x