सम्पादकीय
भारतीय ऊर्जा संकटलाई नेपालको विद्युत्ले गर्जाे टार्न सक्छ
विश्वव्यापी रुपमा कोइलाको संकट चुलिँदै जाँदा हाम्रा दुई विशाल छिमेकी भारत र चीनमा ऊर्जाको चर्काे समस्यामा पर्ने देखिएका छन् । २२ लाख मेगावाट जडित क्षमता भएको चीनले ६१ प्रतिशत अर्थात् १३ लाख ४२ हजार मेगावाट बिजुली कोइलाबाट उत्पादन गर्छ ।
त्यस्तै दक्षिणी छिमेकी भारतमा पनि ७० प्रतिशत बिजुली कोइला डढाएरै उत्पादन गरिन्छ (भारतको जडित क्षमता ४ लाख मेगावाटभन्दा बढी) । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सन् २०२० को प्रतिवेदन अनुसार सन् २०१०–२० मा ६२ करोड २२ लाख टन कोइला प्रयोग गरी बिजुली उत्पादन गर्यो ।
एक युनिट बिजुली उत्पादन गर्न झन्डै आधा केजी कोइला लाग्छ । यो हिसाबले चीन र भारत कोइलालाई खरानी बनाएर मौसम परिवर्तनमा बल पुर्याउन विश्वमा क्रमशः दोस्रो र तेस्रो दर्जामा उभिएका छन् । विश्वमा खपत हुने कूल कोइलामध्ये दुई तिहाई त चीनले मात्रै खपत गर्दै आएको छ । पृथ्वीको तापक्रम २ डिग्री सेन्टिग्रेडले वृद्धि हुनुमा कोइला जल्नुलाई पनि एक कारण मानिन्छ ।
२८ अर्ब टन कोइला भण्डारण रहेको भारत यतिबेला खानीबाट झिक्न नसकेर र गम्भीर ऊर्जा संकटोन्मुख अवस्थामा पुगेको छ । अर्कातिर अन्तर्राष्ट्रिय बजारमा कोइलाको भाउ दुई गुणाभन्दा बढीले वृद्धि भएर आयातमा समस्या खेपिरहेको भारतमा बिजुली मात्र होइन, औद्योगिक खपतका लागि समेत कोइला अभाव हुने आँकलन गरिएको छ । यसको असर आगामी हिउँद याममा नेपाललाई पनि पर्ने देखिएको छ ।
नेपालमा आगामी सन् २०२६ सम्म हिउँदयामका लागि आन्तरिक बिजुली उत्पादनले धान्दैन । भारतबाट आयात हुँदै आएको थियो । अब आउने हिउँदमा भारतबाट बिजुली आयात हुने सम्भावना न्यून देखिन्छ । भारतले नेपालसँग व्यापारिक तवरमा विद्युत्को कारोबार गर्न अनिच्छुक रहेजस्तै नेपाल सरकारले पनि हिउँदको गर्जाे टार्न कहिल्यै पनि जलाशययुक्त आयोजना बनाएन । जापान सरकारले बनाइदिएको कुलेखानीबाहेक अध्ययन भएका दुई दर्जनभन्दा बढी जलाशययुक्त आयोजनामा चासो दिएको छैन ।
तर नेपालमा बर्खायाममा बिजुली उत्पादनको उछाल सुरु भइसकेको छ । गत वर्षदेखि वर्षे बिजुली खेर फाल्न बाध्य भएको नेपालले यो वर्ष पाँच सय मेगावाट खेर फाल्यो भने यही स्थिति रहेमा आगामी वर्ष एक हजार मेगावाट बिजुली जगेडा हुने तथ्यांक सार्वजनिक भइसकेको छ ।
ऊर्जा संकट नेपाल वा भारतको मात्र होइन, यो वैश्विक हो । मौसम परिवर्तनको मारबाट बच्न विज्ञहरुले जलबिद्युतमा जोड दिँदै आएका छन् । कोइला बालेर धुँवा उडाउनुभन्दा बगिरहेको नदीमा बिजुली उत्पादन गर्नु उत्तम । नेपालसित तीन तिरबाट सीमा जोडिएको भारतको बढ्दो ऊर्जा संकटलाई थोरै मात्र भए पनि नेपालले सम्बोधन गर्न सक्ने प्राकृतिक क्षमता राख्छ ।
कम्तीमा नेपालले उत्तर प्रदेश र विहार राज्यको बिजुलीको प्यास मेटाउन सक्छ । अझ गहन र विस्तृत अध्ययन गर्ने हो भने नेपालको जलविद्युत् उत्पादन क्षमता हरिमान श्रेष्ठको शोधले पत्ता लगाएभन्दा बढी हुने अनुमान गरिएको छ । त्यो भनेको भारतका केही राज्यलाई पुग्ने बिजुली हो । अब यस दिशातर्फ भारत उन्मुख हुन जरुरी छ ।
जलविद्युत् उत्पादन नै नहुने भारतका धेरै राज्यहरुमध्ये बिहार पनि एक हो । बिहारले विद्युत् व्यापार कम्पनीसित बिजुली खरिद गरी आफ्ना १० करोडभन्दा बढी जनतालाई बिजुली आपूर्ति गर्दै आएको छ । बिहारमा सन् २०१८–१९ मा २० अर्ब ८५ लाख युनिट बिजुली खपत भयो । बिहारले खपत गर्ने बिजुली नेपालभर खपत हुनेभन्दा २८४ प्रतिशतले बढी हो । ५ हजार मेगावाटभन्दा बढी पिक डिमाण्ड (उच्चतम माग) भएको बिहारलाई पुग्नेभन्दा बढी बिजुली नेपालले आपूर्ति गर्न सक्छ ।
तसर्थ भारतले बृटिसकालीन सोच परित्याग गरी वैश्विक समस्या समाधान गर्नेतर्फ आफ्ना मूल्य र मान्यतालाई परिवर्तन गर्न जरुरी देखिएको छ । यसका लागि आगामी नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा दुवै देशले गम्भीर छलफल गरी आपसी ऊर्जा सहयोगलाई परिपक्व बनाउनुपर्छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत असोजको पहिलो साता बिहारका बिजुलीसम्बद्ध अधिकारीलाई नेपालले वर्षायाममा बिजुली दिन सक्ने प्रस्ताव गरिसकेका छन् । यसअघि गत वर्ष नेपालले भारतीय खुला बजारमा आफ्नो बिजुली निर्यात गर्ने प्रस्ताव गरे पनि भारतले अहिलेसम्म वास्ता गरेको छैन । यस्तो सोचबाट माथि उठी एक आपसको ऊर्जा सहकार्यलाई भारतले महत्व दिनु उसकै हितमा पनि छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया