सम्पादकीय
नेपाली निर्यातप्रति भारतको सधैं दूराग्रह !
नेपाली चिया उत्पादकले यसवर्ष फेरि भारतमा चिया निकासीमा समस्या खेप्नुपर्ने देखिएको छ । भारतमा चिया उत्पादन वृद्धि भएपछि भारतीय आयातकर्ताले नेपाली उत्पादकलाई दिने मूल्य गत वर्षको भन्दा आधा घटाएका छन् । लागतभन्दा सस्तोमा भारतले नेपालबाट आयात गर्न खोजेपछि नेपाली चिया उत्पादक थप हैरानीमा परेका छन् ।
शतप्रतिशत नेपालको मौलिक उत्पादन चियालाई भारतीय बजारमा शून्य भन्सार सुविधा दिएको विषयमा पनि त्यहाँका चिया उत्पादक र उद्योगले प्रश्न उठाएको भारतीय पत्रपत्रिकामा समाचार आइरहेका छन् । यसले नेपालमा चिया उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने र बजार विविधिकरणमा सरकारले ध्यान दिन ढिलाइ भैसकेको छ ।
नेपाली उत्पादन भारतीय बजारमा प्रवेश दिने सम्बन्धमा भारतले कहिले पनि सदाशयता देखाएको पाइँदैन । यद्यपि नेपालले भारतबाट वार्षिक झण्डै १० खर्बको आयात गर्छ । भारतका लागि नेपाल दशौँ ठूलो निर्यात बजार हो । त्यति ठूलो परिमाणमा भारतीय उत्पादन आयात गरेर नेपालले भारतमा उत्पादन र रोजगारीमा ठूलो टेवा दिएको छ, तर नेपालको निर्यात भने भारतबाट हुने आयातको तुलनामा १० गुणा कम छ । मुस्किलले गत वर्षबाट नेपालले भारतमा १ खर्ब रुपैयाँको निकासी गरेको छ । भारतसँग नेपालको वार्षिक ८ खर्ब ६५ अर्ब रुपैयाँ व्यापार घाटा छ ।
नेपालबाट जाने उत्पादनले विशाल भारतको बजारमा त्यहाँका उत्पादनको बिक्रीमा असर पुर्याउने अर्थात् उत्पादनको आधारलाई धक्का पुर्याउने भन्ने हुनै सक्दैन । बरु भारतका सस्तो उत्पादन नेपालमा भित्र्याएर हामीले आफ्ना औद्योगिक उत्पादन मात्र होइन, कृषि उत्पादनका जग पनि भत्काइसकेका छौं । हामी कहिले सशस्त्र द्वन्द्व त कहिले राजनीतिक संक्रमण, बन्द हड्ताल ल गरेर यहाँ भएका उद्योगधन्दा चल्नै नदिने वातावरण बनाउनतिर लाग्यौं ।
कृषि उत्पादन र त्यसको प्रतिस्पर्धी क्षमता बढाउनेभन्दा खाडीमा युवालाई वैदेशिक रोजगारीमा पठाउनुमा आनन्द मान्यौं । भारत र चीनले आफ्नो बजारमा उत्पादन र रोजगारी बढाइरहेका बेला नेपालले भने लगानी आकर्षण गर्ने उत्पादन र रोजगारी बढाउने, उत्पादनलाई प्रतिस्पर्धी बनाउने गर्न सकेन । फलस्वरूप खाडी पुगेका तिनै युवाले पठाएको रेमिट्यान्समा आयात गरेर खाने आयातमुखी अर्थतन्त्र बन्यौं ।
भारतको सदाशयता हुन्थ्यो भने भारतले आफ्नै छिमेकी मुलुक, प्रमुख निर्यात गन्तव्य र धेरै व्यापारघाटा व्यहोरिरहेका नेपाली उत्पादनलाई उसको बजार प्रवेशमा अवरोध गर्ने थिएन । बरु भारतीय बजारमा निर्यातका लागि प्रोत्साहित गर्थ्यो । हाम्रो मानसिकता पनि त्यस्तै छ, हिमालयको चियालाई हामीले विश्व बजारमा बजारीकरण गर्नै सकेका छैनौं । हाम्रा नीति निर्माता तदर्थवादमा चल्छन् ।
राजनीतिक नेताहरू देश र जनताको हितभन्दा विदेशीका भरिया, मतियार र हतियार हुनै व्यस्त छन् । जलस्रोतमा ठूलो सम्भावना भएर पनि वार्षिक २२ अर्ब रुपैयाँभन्दा धेरै मूल्यको बिजुली हामी भारतबाट आयात गरेर बाल्छौं । किनकि यो नै हाम्रो राष्ट्रवादको अनुपम नमुना हो । चिया उत्पादनमा नेपालमा १४ हजारभन्दा धेरै साना किसानहरू संलग्न छन् ।
चिया निकासी केन्द्रित गरेर उद्योगहरू खुलेका छन् । अचानक भारतीय बजारको सुविधा कटौती (प्रिफरेन्स इरोजन) का कारण विगतमा पनि धेरै उद्योगहरू नेपालबाट पलायन भएका छन् । नेपालको व्यापारको (आयात र निर्यात) मा ६५ प्रतिशत हिस्सा ओगट्ने भारतबाट नेपाली मौलिक उत्पादनमाथि भएका र हुँदै आएका यस्ता व्यवहार दुःखद् छन् । तसर्थ भारतले यो अवस्थाको तत्काल अन्त्य गर्नुपर्छ । यसका लागि परराष्ट्र मन्त्रालयले आवश्यक पहल थाल्न ढिला गर्नु हुँदैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया