महाकवि देवकोटाको ११३ औं जन्मजयन्ती
महाकवि देवकोटा : गलत समाज, गलत संस्कृति, गलत भूभागमा जन्मेका प्रतिभा
यो शीर्षकले मेरा पाठकहरूका मनमा विस्मय मात्र होइन, रोष र विद्रोहको एक दावानल पनि जन्माउन सक्छ । शीर्षक मात्र हेरेर सर्वाङ्ग लेख पढ्नेहरू अथवा पढेका छौं भन्ने बानी परिसकेकाहरू मेरो गर्दन दबाउने पवित्र भावनाबाट पनि प्रभावित हुन सक्छन् ।
तर यो उपशीर्षक दिएर देवकोटाबारे केही भन्नु अति आवश्यक भइसकेको थियो– मेरो अस्थायी शान्ति र तुष्टिको लागि अथवा आक्रोश र प्रक्षालनको लागि । नेपाली समाजको लागि कसरी देवकोटा विसङ्गतिपूर्ण भए, एब्सर्ड भए, बेबुझ पहेली भए, म चित्तबुझ्दो ढंगले बुझाउन असमर्थ हुँला तर मेरो असमर्थता देवकोटाको अस्तित्वलाई अथवा अस्तित्व स्मृतिलाई नेपालको विपुल जनसमुदायको लागि विसंगतिपूर्ण हुनबाट रोक्न सक्तैन ।
जबसम्म नेपाली पाठकहरू देवकोटाको बहुआयामिक व्यक्तित्व र प्रतिभालाई बुझ्ने मैदानमा उभिन सक्दैनन् तबसम्म त्यो भीडको लागि देवकोटा विसङ्गत, असङ्गत एब्सर्ड बनी नै रहनेछन् । हाम्रो बौद्धिक र भावनात्मक पृष्ठभूमि र पर्यावरण हामीलाई त्यो भूमिमा निर्धक्क, निर्बन्ध उभिनबाट रोकिरहेको छ । नेपालीहरूको ठूलो जमात अत्यन्त सीमित काव्य–दृष्टि, अत्यन्त संकीर्ण काव्य–स्वाद, काव्यानुभूति आफ्नो रक्तकोषिकाहरूमा बोकेर आएको लस्कर हो, देवकोटा सीमाहीन आकाश, सीमाहीन कल्पना, सीमाहीन दृष्टि बोकेर आएका प्रतिभा हुन् ।
उनको सीमाहीनताभित्र दुई विपरीत दिशाबाट, विपरीत वातायनबाट आएका प्रभावहरू पनि छन् जो देवकोटालाई अरू बढी दुरूह बनाउनमा सहयोग पु¥याइरहेका हुन्छन् ः प्राचीन पूर्वीय प्रभाव एकातिर, कम प्राचीन, लगभग अर्वाचीन पाश्चात्य प्रभाव अर्कातिर । संवेदनशील पाठकले राम्रोसित देवकोटालाई बुझ्न चाह्यो भने वेद उपनिषद्, संस्कृत साहित्यको ज्ञानको साथसाथै अंग्रेजी साहित्य र प्रसंगहरूको ज्ञान हुनु अनिवार्य छ ।
संवेदनशील सूचनाग्राहीले त सूचनाहरूको विशाल राशि जम्मा गरे पनि केही अर्थ छैन । देवकोटा सूचनाको बलमा मात्र बुझिने कवि होइनन्; उनी हृदय मस्तिष्कको– मस्तिष्कभन्दा बढी हृदय–समुचित सन्तुलनको बलमा बुझ्ने प्रतिभा हुन् । ‘तिम्रो गिदी छ साथी, मेरो मुटु’ भने तापनि देवकोटा गिदीबाट एकदमै मुक्त छैनन् ‘मुटु’को प्राबल्य छ, जो स्पष्ट देखिन्छ । तर गिदीबिना हृदय पनि धेरै बेरसम्म शक्ति पाउन सक्तैन ।
महाकवि देवकोटा नेपाली साहित्य अथवा सांस्कृतिक इतिहासका सशक्त र मूर्धन्य प्रतीक थिए र अहिले पनि छन् र सदा रहनेछन् । कुनै पनि जीवन्त समाजको जीवन्तताका लक्षणहरू राजनीतिक खेलाडीहरू होइनन्, वैज्ञानिक, प्राविधिक कौशल लिएका व्यक्तिहरू मात्रै होइनन् न त सैनिक हुन् न त प्रहरी । यदि समाजको विशिष्ट व्यक्तित्व कसैबाट बनेको हुन्छ भने त्यो व्यक्तित्वको निर्माणमा कलाकारको अग्रीम, असंदिग्ध भूमिका रहन्छ । कलाकारहरू–साहित्यकार, चित्रकार, संगीतकार र चिन्तकहरू नभएका कुनै पनि समाजलाई सम्पन्न गतिशील भन्न मिल्दैन । हाम्रा आधारभूत आवश्यकताहरूको प्रयोजनको हिसाबले किसान, सिकर्मी, डकर्मी, कुचीकार, कसाई, प्रहरी, सैनिक, नाईहरू आदि सबै महत्त्वपूर्ण स्थान राख्दछन् ।
तर मानिस भौतिक चाहना र भौतिक स्थितिमा मात्र स्थिर भइरहने जीव होइन, मानिस त्यहाँभन्दा माथि, सतही दृष्टिले हेर्दा काम नलाग्ने, प्रयोजनहीन जगत्मा प्रवेश गर्न चाहन्छ । किनकि त्यो चाहना र त्यो प्रदेशमा मात्र मनुष्य जाति आफ्नो नियति भेटाउने प्रयास गर्छ । कुनै पनि सभ्य र सुसंस्कृत हुन खोज्ने व्यक्ति वा समाज भोजन, भवन र वस्त्रको आसपास रमाएर बस्न चाहँदैन ः त्योभन्दा क्रमिक रूपले माथि चढ्ने अभिप्सा राख्दछ– नैतिक, बौद्धिक र आध्यात्मिक आयामहरूको अनुभूति पाउन चाहन्छ । मनुष्य नियतिको प्रथम सोपान आधारभूत भौतिक, जैविक आवश्यकताहरू पूर्ति र अनुभूति हो भने अन्तिम शिखर बुद्धहरूको अनुभूति र स्थिति हो ।
अनि त्यसपछि कुनै उडान बाँकी रहँदैन । बुद्धहरू श्रेष्ठ मानवीय आकांक्षाका अन्तिम उचाइ हुन् । काव्यात्मक अस्तित्व वस्तुतः बुद्धहरूको हुन्छ । सामान्य अर्थमा बुझिने कविहरू– होमर, कालिदास, सेक्सपियर, आदिको अस्तित्व झुन्डिएको हुन्छ बुद्धहरूको अवस्था र सामान्य तौर तरिकाबीच । प्रत्येक प्रामाणिक, प्रतिभाशाली कलाकार आफ्नो कृतिहरूमा र साधनामा अज्ञात रूपले, अचेतन रूपले त्यही आनन्दको अनुभूति पाउन चाहन्छन् जो बुद्धले, जिसस क्राइष्टले, मीराले र कवीरले पाए– अन्तहीन समाधिको स्थिति । सिर्जनाको चरम विन्दुमा कलाकार केही समयको समाधिको मस्तीमा हुन्छ, सम्भोगको, प्रेमपूर्ण सम्भोगको चरम विन्दुमा अग्र्याजम्मा, क्लाइमेक्समा कामी पुरुष वा स्त्री क्षणिक समाधिको स्थिति हुन्छन्– कलाकारको समाधिभन्दा धेरै बढी क्षणभंगुर अवस्था ।
असली सन्त, रहस्यदर्शी, योगी सधैंभरि स्थायी समाधिमा रहिरहन्छन्, त्यसको अवस्थामा न समयको पीडा हुन्छ, न स्थानको सीमा हुन्छ– दिककालको अतिक्रमण हुन्छ । परम आनन्दको स्थितिमा रहन्छन् योगीहरू, रमण महर्षि र रामकृष्ण परमहंसजस्तै अनिर्वचनीय आनन्दको अवस्था । कवि–कलाकारहरू र सम्भोगीहरू कामीहरू सिर्जनात्मक आनन्द र सम्भोगात्मक आनन्दमा समाधिका झिल्काहरू पाउँछन् एकछिन पछि आफ्नो पुरानो अनुभव, पुरानो संसारमा फर्कन्छ जहाँ सीमाहरू छन्, पीडाहरू छन् मानसिक शारीरिक व्याधिहरू छन् । कलात्मक सिर्जनापछिको फर्काइलाई म ट्रयाजिक, धेरै कष्टदायी फर्काइ भन्न सक्तिनँ तर सम्भोगबाट फर्कनुलाई ट्रयाजिक, दयनीय, पश्चात्तापपूर्ण पुनरागमन सकिन्छ ।
पीडा छ, पश्चात्ताप छ, तैपनि नरनारीहरू आनन्दको खोजीमा त्यही कृत्यको यन्त्रवत पुनरावृत्ति गरिरहन्छन् । कामीहरूको लागि आनन्द केवल मृगमरीचिका हो । योगी, कवि र सम्भोगीमा केही सीमासम्म समानता पाइन्छ । अचेतन सतहमा कवि र सम्भोगी त्यही आनन्द पाउन चाहन्छन्, जो बुद्धले पाएका थिए । संसारका केही कविहरूमध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि अविष्ट थिए, पोजेस्ड थिए ः काव्यकी देवी सरस्वती अथवा म्युजले देवकोटालाई पनि चिनियाँ कवि लिपो, अंग्रेजी कविहरू, विलियम ब्लेक, रर्वट वर्नस, जोन किटस् र पी.वी. शेली जस्तै दैविक प्रेरणा अथवा दैविक पागलपनले अविभूत गरेको थियो, प्रेरित गरेको थियो । देवकोटा नेपाली साहित्यमा सबैभन्दा बढी उत्प्रेरित कवि हुन् ।
शिल्पको गणितीय हिसाबले उनले काव्यरचना गरेनन् दैविक प्रेरणाको आवाज र उद्बोधनबाट वशीभूत भएर देवकोटा काव्यसिर्जनामा आफ्नो जीवनभरि लागिरहे, जीवनको अधिकांश समयसम्म काव्यदेवीबाट आएको प्रेरणाध्वनि सुन्नुमा नै मस्त रहे । उनको त्यो क्रियटिव म्याडनेस (सिर्जनात्मक पागलपन), त्यो मस्तीलाई बहुपठित बुद्धिहीन भीडले एक ठूलो सङ्ख्याले बुझ्न सकेन । “देवकोटा पागल जस्तै छन्, होसहवास नै नभएका मान्छे हुन्, त्यस्ता उडन्ते कवि र कविताहरूले हाम्रो देश र हाम्रो समाजलाई केही पनि फाइदा हुँदैन ।’’
आदि टिप्पणीहरू देवकोटाको जीवनमा नै आउन थाले । महाकवि नेपाली समाजका लागि बेबुझ र विसङ्गत हुन थाले, निकै ठूलो अनुपातमा विसङ्गत हुन थाले । किनकि हाम्रो समाजमा केही धामी र केही झाँक्रीहरू छोडेर त्यसबेलासम्म कुनै बुद्धिमान् कलाकार– शायद योगी पनि प्रेरित भएको थिएन, अविष्ट भएको थिएन । देवकोटा एक महान् नियति बोकेका कलाकार थिए र हरेक व्यवधान र विपत्तिको बाबजुद पनि त्यो नियतिप्रति निष्ठा र व्यवहारप्रति प्रतिबद्ध रहे, इमानदार रहे ।
उनको नियति थियो जस्तै यातना, तिरस्कार अभाव र आपत्ति आए पनि नेपाली साहित्यलोकमा एक अमर विश्वव्यापकताको सम्भाव्यता बोकेको, नेपालको हिसाबले एक अभूतपूर्व ज्योत्स्ना फैलाएर जानु र समयभन्दा पहिले नै यो कठोर संवेदनाहीन समाजबाट सधैँको लागि प्रस्थान गर्नु र कुनै लोकमा ताराहरूभन्दा पर गएर अमरहरूको सामूहिक नृत्य र गीतमा सम्मिलित हुनु– जहाँ महाकवि लीपो, विलियम ब्लेक, रवर्ट वर्नस्, किट्स, शेली, सूर्यकान्त त्रिपाठी, निराला र मीर्जा गालिवहरूका आत्माहरू स्वच्छन्द, स्वतःस्फूर्त मस्तिष्कमा समूह गीत गाउँदै होलान् । अमरहरूको त्यो प्रदेशमा पृथ्वीको गुरूत्वाकर्षणको अनुभव भने छैन, नेपालका अधिकांश शिक्षितहरूको मूढता रहने छैन, शक्तिसम्पन्न धनसम्पन्न र कल्पनाशून्य कर्मचारीहरूको उपेक्षाको अनुभूति हुनेछैन, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा निर्णायक कर्ताहरूको ईर्ष्या, जलन र बरबरताको अनुभव पनि हने छैन । एक निर्मल, शुद्ध, शीतल, प्रकाशपूर्ण लोकका देवकोटा समयको क्रुरताभन्दा धेरै टाढा गइरहेका छन् ।
उनको मृत्युपश्चात्को वियोगविलापको आवाज दिनप्रतिदिन ठूलो हुँदै छ, गगनभेदी हुँदै छ । यहाँ पृथ्वीमा हामी महाकविको मृत्युपरान्त वियोगमा यान्त्रिक रूपले रुदैछौं, उहाँ महाकवि हाँस्दै होलान् हाम्रो बेवकुफी, हाम्रो मूढताका समाचार सुनेर । मूढहरू जीवित प्रतिभालाई पागल भन्छन्, तिरस्कार गर्छन्, मृत प्रतिभाको मूर्तिमा माला चढाउँछन् । यशोगान गाउँछन् र आफूलाई साहित्य, संगीत र कलाका मर्मज्ञ छौं भनेर देखाउँछन् । जब कुनै कवि, सच्चा कवि पृथ्वीमा जन्म लिन्छ तब आकाशमा चन्द्रमा प्रसन्न हुन्छ, जब कुकविहरू जन्म लिन्छन् तब आकाशमा चन्द्रमा व्यथित हुन्छ ।
प्रतिभासम्पन्न कवि, कलाकार, संगीतकार, हृदयपूर्ण प्रेमीप्रेमिकाहरू, आफ्नो मस्तीमा उर्लिरहेका समुद्र र महासागरहरू र चन्द्रमाबीच घनिष्ठ सम्बन्ध छ । सम्बन्धको तार्किक र वैज्ञानिक कारण म दिन सक्तिनँ, तर विश्वास गर्छु कि अनन्य सम्बन्ध छ । महाकवि लीपो, महाकवि देवकोटा, महाकवि कालिदास र महान् कलाकार व्यान गफ र लियोनार्दो दा भिन्ची र चन्द्रमा बीच एक प्रकारको अति गोप्यता चलिरहेको हुन्थ्यो जो सामान्य जगत्का लागि बुझ्न कठिन थियो, बुझ्ने प्रयास गरिहाल्यो भने पनि एक नितान्त पागलपन थियो ।
चन्द्रमाको गति र सौन्दर्यबाट संसारका महान् सर्जकहरूले अप्रतीम प्रेरणा पाएका छन्, परिष्कारवादी क्लासिकल, गैररोमान्टिक, एन्टिरोमान्टिक कवि कलाकारहरूले पनि प्रेरणा पाएका छन् । कला भन्छ, चिनियाँ कवि लीपो अत्यन्त उर्वरक कल्पनाका कवि थिए, जीवनभरि चन्द्रज्योतिको सुषमाबाट प्रेरित भइरहे, उनको मृत्युको कारण पनि चन्द्रसौन्दर्य भइरह्यो । कुनै पूर्णिमाको चन्द्रको रूप माधुर्यमा मस्त समाधिस्थ भएर हिँडिरहेको बेला लीपो एक इनार अथवा पोखरीमा खसेर दिवङ्गत भए । मस्तीमा, समाधिमा, बुद्धिहीन भीडको भाषामा उनी पागल थिए, पागल नै मरे । रोमन भाषामा चन्द्रलाई लूना भन्छन् । त्यसैबाट अपभ्रंश भएर लूनाटिक अंग्रेजी भाषाको विशेषण र संज्ञा बन्यो जसको अर्थ हुन्छ पागल ।
कुनै जमानामा लूनाटिक बन्दनीय शब्द थियो कालान्तरमा बहुसंख्यकहरूको बहुप्रयोगले गर्दा निन्दनीय शब्द हुनपुग्यो । महाकवि देवकोटा प्राचीन र अर्वाचीन अर्थान्तरन्यासलाई ध्यानमा राखेर नै आत्मस्वीकृतिसित गाउँछन् : “तिम्रो शुद्ध गणित सूत्र हरमेशा चलिरहेछ । मेरो गणितबाट एकबाट एक झिक । एकै रहन्छ । ... जरुर साथी । म बिल्कुल चन्द्राहत छु । चन्द्राहत । यस्तै छ मेरो हाल ।’
नेपाली समाजले उनलाई पागल उद्यत अर्थहीन, प्रयोजनहीन, जिम्मेवारीको ज्ञान नभएको भनेर गुन लगाएको बदलामा ऋण तिरेको छ, कृतज्ञताज्ञापन गरेको छ उक्त पंक्तिहरूमा; साथै पागलहरूको अर्तक्य आभार अस्तित्वको अत्यन्त नै प्रभावशाली तरिकाले गीत गाएको छ । कविताको–प्रवाह, लय, द्वन्द्व, छन्दहीनता र कविको तात्कालिक भावदशामा एक गहन सम्बन्ध, लयबद्धता छ । देवकोटाजस्तो सबै पागलहरूको– अस्कर वाइल्ड, एजरा पाउन्ड, वाल्ट बिटम्यान, डिलन टमस लगायत–जीवनचित्र हो उक्त कविता । ईशावास्थ उपनिषद्का महान्तम अज्ञात कविको प्रथम गीत ॐ पूर्णमदः पूर्णमिदम् पूर्णात् पूर्णमुदच्यते । पूर्णस्थ पूर्णमादय पूर्णमेवावशिप्यते । (ऊ पनि पूर्ण छ र यो पनि पूर्ण छः किनकि पूर्णबाट पूर्णको नै उत्पत्ति हुन्छ र पूर्णको पूर्णत्व लिएर पूर्ण नै बाँकी रहन्छ ।) उपनिषद्को यो महागीत, यो पहेली महाकवि देवकोटा “मेरो गणितबाट एकबाट एक झिक एकै बाँकी रहन्छ’मा प्रतिध्वनित भएको छ । यस्तो उट्पट्याङ तर्कहीन पहेलि राख्ने, कुरा गर्ने कवि चिन्तनहीन, कल्पनाशून्य नेपाली बुद्धिजीवीहरूको दृष्टिमा चन्द्राहत थिए, वातुल थिए, विसङ्गत थिए र अहिले पनि छन् ।
हेर्दा देवकोटाले पाएको श्रद्धा र सम्मान उनको मृत्युको प्राभावको कारण हो, केही मर्मज्ञहरू, विशेषतः विदेशी मर्मज्ञहरूले उच्चार गरेका विशेषणहरूको कारण हो । सामान्यतः नेपाली समाजका लागि देवकोटा एक विसङ्गति एब्सर्डिटी हुन्, गलत समाज, गलत संस्कृति, गलत भूभागमा जन्मेका प्रतिभा हुन् । देवकोटा प्रतिभाको उध्र्वगमन, लेविटेसन र सामान्य नेपाली नरनारीहरू बुद्धिजीवीहरूको पृथ्वीमा बसिरहने बान ग्राविटेसनबीच ठूलो खाडल मात्र होइन, ठूलो विसङ्गति पनि छ । किनकि महाकवि देवकोटा वातुल थिए, वायु लागेका कवि थिए, सामान्य नेपाली शिक्षित चलाकहरू बुद्धिमान् छन्, भ्रष्टाचार चाकरी, चोरी र भोगवादी जीवनको गणित मिलाउन जान्दछन् । दुवैको गणितमा मौलिक भेद छ ।
(डा. भण्डारी पनि अब हामीमाझ छैनन् । उनले ‘महाकवि देवकोटा : नेपाली समाजको एक ज्वलन्त विसङ्गति’ शीर्षकमा लेखेको लेख यहाँ प्रस्तुत गरियो । भोलि महाकवि देवकोटाको ११३औं जन्मजयन्ती, हार्दिक श्रद्धाञ्जलि ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया