सम्पादकीय
निर्यात मात्र होइन, स्वदेशीलाई सस्तो बिजुली
लामो र अथक प्रयासपछि नेपालको बिजुली लिन भारत राजी भएको छ । भारत आफैँले बनाइदिएको त्रिशुली र देवीघाटको बिजुली उसको खुला बजार ‘इण्डियन इनर्जी एक्सचेञ्ज’ (आईईएक्स) मा प्रतिस्पर्धामा सहभागी हुन पाउने अनुमति दिएको छ । भारतको यो निर्णयले पहिलो पटक दुई देशबीच विद्युत्को व्यापारिक तवरमा कारोबार हुने भएको छ । यसअघि भारतले नेपाललाई आयात मात्र गर्न दिएको थियो भने लामो समयदेखि नेपालले निर्यात गर्ने प्रस्ताव गरेको थियो ।
खुला बजार भएकाले बिजुलीको भाऊ रणनीतिक र राजनीतिक तवरले तय हुँदैन । बजारले नै तोक्छ । भारतीय बजारमा ऊर्जाको औसत मूल्य नेपालको भन्दा सस्तो छ । तर नेपालको बिजुली महँगो छ । नेपालले पनि हिउँद याममा भारतबाट आयात गर्ने हुँदा सम्झौताकारी समन्वयन (ट्रेड अफ) हुने देखिन्छ । तर भारतलाई दिने मूल्यमा नेपालका उद्योगहरूले बिजुली पाउनुपर्ने माग पनि उठेको छ । भारतलाई सस्तो बिजुली निर्यात गरेर स्वदेशका उद्योगहरूलाई औसत १० रुपैयाँ प्रतियुनिट लिँदा न्याय हुँदैन कि भन्ने प्रश्न पनि जीवन्त छ ।
यद्यपि भारतीय बजारमा भाउ तल–माथि भइरहन्छ । खुला बजारमा माग र आपूर्तिले नै मूल्य निर्धारण गर्ने हुँदा यो रणनीतिक विषय बनेन । रणनीतिक विषय के हो भने अब भारतमा ऊर्जाको चरम संकट पर्दैछ । दुई वर्षसम्म कोभिड–१९ का कारण लकडाउन गरेको भारतले आवश्यक मात्रामा कोइला उत्खनन गर्न सकेन । त्यसमाथि बाढी पहिरोको चपेटमा परेको भारतले आन्तरिक तवरबाटै कोइला उत्पादन गर्न असमर्थ रह्यो । यसैबीच अन्तर्राष्ट्रिय बजारमा कोइलाको भाउ ८० प्रतिशतले बढ्यो । भारतले अष्ट्रेलिया र इण्डोनेशियाबाट कोइला उत्पादन गर्दै आएको थियो । कोइला आयात ठप्प छ, भाउका कारण ।
अर्काेतर्फ भारतले राष्ट्रसंघीय मौसम परिवर्तनका विभिन्न सम्मेलनमा सन् २०३० सम्ममा कार्बन सघनता उसको अर्थतन्त्रमा ४५ प्रतिशतले घटाउने वाचा गरेको छ । यो लक्ष्य हासिल गर्न उसले कोइला बालेर बिजुली उत्पादन गर्ने कार्य कटौती गर्दै लैजानुपर्ने बाध्यता छ । उसलाई नवीकरणीय ऊर्जामा जान ठूलो दबाब छ, बाह्य र आन्तरिक दुवै । यो कोणबाट हेर्दा भारतले आफ्नो परम्परागत मानसिकता र रबैया त्याग गर्न पनि चाप पर्ने देखिन्छ ।
भलै, चार लाख मेगावाटभन्दा बढीको जडित क्षमता भएको भारतमा नेपालबाट उत्पादन हुने बिजुलीले नथेग्ला त्यो अर्कै विषय हो । तर कम्तीमा बिहार र उत्तर प्रदेश जस्ता राज्यको माग भने नेपालले सम्बोधन गर्न सक्ने हैसियत राख्छ । भोलिका दिनमा भारतलाई आन्तरिक रूपमै पनि नेपालको बिजुली जरुरत पर्ने देखिन्छ । मौसम परिवर्तन र कार्बन घटाउने भारतको बाचाका कारण पनि उसलाई नवीकरणीय ऊर्जामा जानैपर्छ ।
अब नेपालले भारतको पर परेर मात्र पनि हुँदैन । सकेसम्म सस्तो बिजुली स्वदेशमै खपत गराउनुपर्छ । विद्युतीय परिवहन, विद्युतीय रेल्वे, रोपवे, ट्रली बस आदिमा विद्युत उपयोग गर्न सकियो भने धुँवा उडाएर सकाउने पेट्रोलियमको ठूलो मात्रा विस्थापित गराउन सकिन्छ । नेता र सरकारमा बस्नेहरूको सोच र दूरदृष्टि कसरी हुन्छ सस्तो बिजुली उत्पादन गर्ने र यहीँ खपत गराउने भन्नेमा केन्द्रित हुनुपर्छ । नेपालले एक वर्षमा खर्च गर्ने विकास बजेट बराबरको तेल आयात हुन्छ । यही तेल उडाएर नेपालले पनि कार्बन उत्पादनमा मद्दत पु¥याइरहेको छ । यसलाई घटाउन पनि हामी बिजुलीमा जानैपर्छ । यसका लागि सर्वप्रथम स्वदेशका उद्योगहरूले सस्तोमा बिजुली पाउनुप¥यो । भारतलाई चार रुपैयाँमा बेच्ने दाममा एक रुपैयाँ बढी अर्थात् प्रतियुनिट पाँच रुपैयाँमा स्वदेशका उद्योगहरूले बिजुली पाए भने तिनले उत्पादन गर्ने सामान प्रतिस्पर्धी हुन्छ । निर्यातयोग्य हुन्छ । अझ कृषि प्रशोधनमा बिजुलीको ठूलो माग हुन्छ । अठोट र दृढ निश्चयका साथ लागि पर्ने हो हामी कृषिमा एकाध वर्षमै आत्मनिर्भर हुन सक्छौँ ।
निश्चय पनि ऊर्जा संकट भारतमा पनि आउँदैछ । नेपालले विगत लामो समयसम्म यस्तो संकट झेल्यो र अझै पनि बिजुलीमा आत्मनिर्भर भइसकेको छैन । अझ सन् २०२६ को हिउँद यामसम्म भारतबाटै आयात गर्नुपर्ने अवस्था छ । नेपालमा बिजुली छेलेखेलो भएका बखत भारतमा यसको माग उत्कर्षमा पुग्छ । नेपालमा माग बढेको बेला भारतमा माग घट्ने गर्छ । प्रकृतिले पनि दुई देशबीच ऊर्जामा सहकार्य गर्न तादाम्य मिलाएको देखिन्छ । दुई असल र घनिष्ठ छिमेकीका नाताले एकको आवश्यकता अर्काेले पूरा गरिदिने र दुवै देशका जनताको कल्याण हुने दिशातिर लाग्न नेपाल र भारतलाई आवश्यक छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया