मनीषा–शृंखला कुराकानी
मैले कुनै पनि रिलेसनसिपबाट पूर्ण सन्तुष्टि पाइनँ
अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को नेपाली अनुवाद ‘जिजीविषा’ फाइनप्रिन्टले प्रकाशन गरेको छ । क्यान्सरसँगको लडाइँसँगै जीवन बुझाइमा आएको परिवर्तनको कथा प्रस्तुत गर्ने ‘जिजीविषा’लाई स्वरूप आचार्यले नेपालीमा अनुवाद गरेका हुन् । यही पुस्तकको सेरोफेरोमा पूर्वमिस नेपाल शृंखला खतिवडा र मनीषा कोइराला चन्द्रागिरि पुगेर गफिएका थिए । आआफ्नो कर्मले उचाइमा रहेका यी दुवै ‘सुन्दरी’को वार्तालापको सार यहाँ प्रस्तुत छ ।
शृंखला : किताबको रचनागर्भको कुरा गर्दा यहाँले अमेरिकामा रहँदा एक जना रिम्पोचेले आफ्ना भावना लेख्दै गर्नू भनेर दिएको सुझावपछि यहाँले लेख्न सुरु गर्नुभएको कुरा गर्नुभएको छ । यसबारे अझै चर्चा गरिदिनु हुन्छ कि ?
मनीषा : वास्तवमा मैले यो किताब लेख्छु भनेर सुरु गरेको होइन । रिम्पोचेले मलाई के भन्नुभाको थियो भने अहिले जे अनुभव छ, त्यसलाई नोट गरिराख्नू । किनभने तिमी निको भइसकेपछि यी सबै अनुभव बिर्सन पनि सक्छौ ।
त्यसैले अहिले यो बेलाको यो परिस्थिति, यो कठिनाइबाट सिकेको कुरा लेखेर राख्नू ताकि पछिसम्म यसले तिमीलाई केही सिकाओस्, देखाओस् । नभन्दै निको हुँदै जाँदा मलाई के लाग्यो भने साँच्चै मैले अनुभव गरेका कुरा, मैले सिके–बुझेको कुरा किताबमा राखेर अरूलाई बाँड्न सकेँ भने उपयोगी हुन्छ । अप्ठ्यारो परेको बेलामा पाठकलाई सानो भए पनि बाटो देखाउन सक्छु कि भन्ने आसले मैले यो किताब लेखेको हुँ ।
शृंखला : हजुरको यो किताब पढ्दै गर्दा मलाई अर्को कुरा पनि एकदमै घत लागेको थियो । त्यो के भने यहाँले क्यान्सरले सिर्जना गरेको अफ्ठ्यारो परिस्थिति मात्र नभएर त्योभन्दा पहिलेका अप्ठेराहरूको पनि खुलस्त कुरा गर्नुभएको छ । बाहिरबाट हेर्दा बलिउडको एउटा चमकधमकको संसार र टप सेलिब्रेटी । पैसा, प्रसिध्दि र सुन्दरता यी सबै कुरा हुँदाहुँदै पनि आफू अझै पनि दुःखी रहेको कुरा यहाँले उल्लेख गर्नुभएको छ । जीवनमा खुसी हुन के चाहिँदो रहेछ नि ?
मनीषा : अब यस्तो धेरै कुरा छ है, बहिनी । जस्तो कि धेरै जनाले के सोच्छन् भने एउटा ग्ल्यामरस लाइफमा दुःख हुँदैन । हामीले त्यो देखाइरहेका पनि हुन्छौं । बाहिरबाट हेर्दा सब कुरा मिलेको देखिन्छ पनि । तर सधैं त्यस्तो हुँदैन । हामी सधैं लाइमलाइटमा पनि हुन्नौं । जीवन आफैंमा गञ्जागोल हुन्छ । जीवनमा तपाईं लड्नु पनि हुन्छ र उठ्नु पनि हुन्छ । सेलिब्रेटीको होस् कि सामान्य मानिस, सबैको जीवन यही प्रक्रियामा चलिरहेको हुन्छ ।
ग्ल्यामरस लाइफमा पनि दुःख हुन्छ, गञ्जागोल हुन्छ । सेलिब्रेटीको जीवन पनि यही प्रक्रियामा चलिरहेको हुन्छ ।
किताबमा मैले यही साँचो कुरा राखेको हो । म छलावरण गर्न चाहन्नथेँ । त्यसलाई ‘सुगरकोट’ गर्न चाहन्नथेँ । तीतो सत्य भन्छन् नि, त्यस्तै खाले । एउटा साधारण मान्छे जुन अप्ठ्यारोबाट गुज्रन्छ, सेलिब्रेटीले पनि त्यस्तो अफ्ठेरो पार गर्नुपर्छ । खालि हाम्रो धारणा के छ भने सेलिब्रेटीलाई चैं सजिलो हुन्छ । तर त्यस्तो रियालिटीमा हुँदैन । धेरै हार्डवर्क हुन्छ । धेरै फेलर, धेरै हार्टब्रेकिङ, फलिङ डाउन, मिस्टेक हुन्छ । तपाईं झरेर टुक्रा, टुक्रा हुनुहुन्छ तर तपाईं उठेर त्यो टुक्रा जम्मा गर्नुहुन्छ र आफूलाई सग्लो बनाउनु हुन्छ । जीवन यही हो । यो कुरा मैले जति इमानदारीसाथ भन्न सक्थेँ त्यति भनेकी हुँ ।
शृंखला : किताब पढिरहँदा मलाई तपाईंको अहिलेको जीवनपध्दति सायद हजुरलाई मृत्युले सिकायो कि जस्तो लाग्यो । जीवनमा पहिलाभन्दा के फरक पाउनु हुन्छ ?
मनीषा : आई फिल । तिम्रो यो प्रश्नमा धेरै कुरा छन् । जस्तो कि मृत्युको नजिकै जाँदा मैले जीवनको महत्व बुझेँ । पहिले म हेल्थमा एकदमै केयरलेस थिएँ । वास्ता गर्दिनथेँ । स्वस्थ रहन कति गाह्रो हँुदो रहेछ बुझेँ । रोग लाग्यो भने आफूलाई मात्र हैन कि आफूलाई माया गर्ने फेमिली, साथीहरू, फ्यानहरू सबैलाई दुःख हुँदो रहेछ । आफ्नै जीवन बचाउनलाई पनि कति मिहिनेत गर्नुपर्दो रहेछ । खुसी भन्ने कुरा एक्साइटमेन्टमा मात्र हुने होइन रहेछ । सानासाना कुरामा पनि हुँदो रहेछ । हरेक दिन सुन्दर हुन्छन् । त्यो हेर्न चाहिँ हामीले आँखा खुल्ला राख्नुपर्दो रहेछ ।
शृंखला : अब म तपाईंलाई किताबको एउटा च्याप्टरमा लैजान चाहन्छु । जहाँ तपाईंले सेतो सिगलको झुन्डमा सानो बच्चालाई टिपेर लगेको कथाको कुरा गर्नुभएको छ । एउटा चराको जीवनसँग यहाँले आफूलाई सँगै तुलना गरेर हेरिरहनुभएको थियो सायद । त्यो एउटा होल जर्नीलाई संक्षेपमा कसरी बयान गर्न चाहनुहुन्छ ?
मनीषा : त्यो बेला यस्तो थियो कि म चिन्तित थिएँ । एउटा नयाँ कुरा, नयाँ रोग र त्यस्तो रोग जसमा त्यति धेरै पोजेटिभ न्युज आउँदैनथ्यो । उपचार कहाँ गर्नेभन्दा मेरो आमाले बेस्ट डाक्टर खोज्नुभयो । उहाँ न्युयोर्कमा बस्नुहुन्थ्यो । अनि अमेरिका जाने भएपछि अब कति खर्च लाग्ने हो ? न्युयोर्कमा बस्दाखेरि कति लामो बस्ने हो ? अनि यो रोग लागेपछि जीवनले जित्छ कि मृत्युले जित्छ भन्ने जस्तो पनि मनमा आइरहन्छ ।
केही कथाहरूभन्दा म मेटाफोरलाई धेरै महत्व दिन्छु । मेटाफोरबाट बुझाउन सजिलो हुन्छ । हाम्रा कतिपय फिलिङका लागि शब्द काफी हुँदैनन् । यस्तोमा म मेटाफोर प्रयोग गर्न रुचाउँछु । अनि त्यसैले चराको कथा जोडेको हुँ ।
शृंखला : यहाँको साथीले मुम्बईबाट जाने बेलामा यहाँलाई एउटा कोट दिएर पठाउनुभएको थियो । अनि तपाईंले यो कोट फिर्ता दिनुपर्छ भन्ने एउटा सानो कुराले पनि बाँच्ने प्रेरणा पाउनुभएको थियो । यस्ता कुराले जीवनमा कत्तिको महत्व राख्छ ?
मनीषा : असाध्यै ! किनभने ससाना कुराले नै जीवन बनेको रहेछ । पहिला म धेरै ग्रेन्जरतिर भाग्थें । अर्कै दृष्टिकोण थियो । तर जीवन भनेको नै ससाना कुरा रहेछ । हामीलाई भीड चाहिँदैन । माया गर्ने चार, पाँच जना मानिस भए पुग्छ । पहिला मेरा साथी अथाहा हुन्थे । ग्रुप नै हुन्थ्यो । तर बिरामी भएको बेला दुई–तीन जना मात्र मसँग हुन्थे । फेमिली पनि अथाहा थियो तर बिरामी भएको बेला दुई–तीन जना मात्र थिए ।
रियालिटीमा सेलिब्रेटीलाई पनि सजिलो हुँदैन ।
त्यतिको माया पाए पुग्दो रहेछ, जीवनमा । मुमाको कुरा गर्छु म । जस्तो किमो लिएपछि मेरो बोन्स असाध्यै दुख्यो । अनि मैले एकचोटि आमालाई भनेँ कि यसरी बाँच्नु सट्टा बरू मर्नु नै बेटर होला । आमा रिसाउनु भयो । अनि भन्नुभयो कि यस्तो कुरा नराख । तिमीलाई केही भयो भने हामी कसरी बाँच्ने ? यस्तो कुराले मलाई मोटिभेट गर्यो । मेरो बुबा, साथी, मेरा डाक्टर सबैले मलाई मोटिभेट गरे । त्यस्तो बेला के हुँदो रहेछ भने एकदम माइन्युट्ली जीवनलाई हेरिँदो रहेछ । त्यो दृष्टिकोण नै फरक हुँदो रहेछ । जस्तै पार्कमा जाँदा एउटा हरियो पातमा जीवन पाइरहेको देख्थेँ । सुकेको पत्ता देख्दा चाहिँ जीवन खसेको जस्तोे लाग्ने । परेको बेलामा यस्तै हुँदो रहेछ ।
शृंखला : यो किताबको सबैभन्दा सबल पक्ष के पनि छ भन्दा यो एउटा कलाकारको कथा होइन । यहाँ तपाईंले म सेलिब्रेटी भएर यो उपचार पाएँभन्दा पनि आमाको माया, मेरो साथीभाइको साथ अथवा प्रकृतिबाट पाएको इन्स्पिरेसनको कुरा गर्नुभएको छ जुन संसारको हरेक व्यक्तिका लागि उपब्लब्ध छन् । भन्नुको मतलब जीवनमा दुःखपर्दा ती कुरा काम लाग्नै रैछन् जुन हरेक व्यक्ति आफैँसँग हुन्छन् । संसार त बराबर रहेछ । त्यसरी हेर्दा तपाईंको जर्नी इन्स्पायरिङ महसुस भयो । हजुर एउटा एकदमै ठूलो साहित्यकार बीपी कोइराला कि नातिनी त्यो प्रभाव पनि परेको जस्तो लाग्छ आफूमा ?
मनीषा : सायद होला । थापा नपाउँदो गरी होला । तर, थाहा पाइकन चैं भए जस्तो लाग्दैन । त्यस्तो मलाई थाहा छैन । म चैं सक्षेपमा हेर्छु कुराहरू । तिमीले एउटा राम्रो कुरा भन्यौ बहिनी । हरेक कुरा प्रकृतिले बराबर दिएको हुन्छ तर त्यसलाई हामीले भ्यालु गरेका हुन्नम् । जस्तै सनराइज, सन सेट । यसमा ब्युटी छ नि । हामी कति इन्जोय गर्छम् होइन ? र मैले चैं त्यतिबेला आकाश हेर्थें । खोला हेर्थें । चरा हेर्थें । जीवन सुन्दर छ तर हामी सधैं यो कुरा ख्याल गर्दैनौं किनभने हामी बिजी हुन्छौं । एउटा प्रोब्लेमबाट अर्को प्रोब्लेम । हामी आफ्नो चियोचासो गर्दागर्दै यो कुरालाई बिर्सिन्छौं । त्यसैले मैले अलिकति मेरो किताबमा यसको व्याख्या गरेको छु । ती कुराहरू जुन सजिलै पाइन्छ, त्यसको आनन्द लिनुपर्छ । त्यसका लागि ग्रेटफुल हुनुपर्छ ।
म थुप्रै कन्ट्रोभर्सी खेपेको मान्छे हुँ । साँचो कुरा लेखेँ भने मलाई फेरि जोख्ने–तौलने काम हुन्छ ।
शृंखला : यहाँले जीवनको ठूलो हिस्सा बलिउडमा बिताउनु भयो । तर आफ्नु करिअर त्यहाँ विकास गरे पनि, जीवन त्यहाँ बिताए पनि यहाँको धेरै झुकाव नेपालप्रति देखिन्छ । किताबमा पनि आफूलाई अप्ठ्यारो पर्दा हजुरले नेपालका सेता हिमाल, नेपालको हावापानी, असनमा हिँड्दाको त्यो जिम्बुको बास्ना आदि कुराको वर्णन गर्नुभएको छ । नेपालको माया असाध्यै छ है दिदी ?
मनीषा : हुन त मलाई मुम्बई सहरले धेरै दियो । मलाई त्यो ठाउँको माया पनि असाध्यै छ । मेरा साथीहरू पनि टन्नै छन् । कामको वातावरण राम्रो छ । तर बच्चा हुँदा हामी बनारसमा पनि बस्यौँ । दिल्ली पनि गयौँ । तर जहाँ गए पनि नेपाली भाषा चैं घरमा बोलिराख्यौं । मुम्बईमा पनि मैले साथी घरमा बोलाएर टीकासिका लगाउने, नेपाली खाना खुवाउने गर्थें । यसमा आमा पनि खुसी हुने ।
अमेरिका नै गए पनि नेपालै त बिर्सिन्नँ नि । दसैँमा टीका लगाइहाल्छम्, नेपाली खाना खाइहाल्छम् । हामी जतिसुकै विदेशमा बसे पनि देशको कुरा आइहाल्छ । इन्डियामा पनि हेर्छु । जस्तै : प्रियंका चोपडा । सी इज प्राउड इन्डियन । विवाह गर्यो अमेरिकामा स्थापित पनि भइसक्यो तर उसलाई भारतीय हुनमा गर्व छ । म पनि त्यस्तै महसुस गर्छु ।
शृंखला : थोरै चैँ म यहाँको पर्सनल जीवनतिर लान चाहन्छु । किताबमा यहाँले धेरै सम्बन्धका कुरा, अल्कोहोलिजमजस्ता समस्या र आमा बन्न नपाउनुको पीडाको कुरा गर्नुभएको छ । एकदमै आन्तरिक कुराहरू पनि निर्धक्क प्रस्तुत गर्नुभएको छ । किताब निस्किँदा थोरै नांगिएको अनुभव भयो कतै ?
मनीषा : मलाई त आफैँसँग प्रमिस के थियो भने मैले किताब लेखेपछि इमानदारीसाथ लेख्छु र आफ्नो गल्तीको जिम्मेवारी लिन्छु । किनभने, हामी जहिले पनि आफूलाई पर्फेक्ट देखाउन गल्ती नै गर्दैनौँ भन्छौँ तर त्यो सत्य हुँदैन । हाम्रो गल्ती सबैले थाहा पाइसकेका हुन्छन् । जतिसुकै प्रिटेन्ड गरे पनि त्यो लुकाउन सक्दैनौँ । र क्यान्सरबाट गुज्रिसकेपछि मनुष्यले लुकाउनुपर्छ जस्तो लाग्दैन ।
मलाई थाहा छैन, म के बाटो लिन्छु, कुन बाटो लिन्छु । मैले त्यसलाई ओपन राखेको छु ।
म तपाईंले भने जस्तो थुप्रै कन्ट्रोभर्सी खेपेको मान्छे हुँ । अलिकता सचेत थिएँ । साँचो कुरा लेखेँ भने मलाई फेरि जोख्ने–तौलने काम हुन्छ । साथीलाई सोध्थेँ । फेरि रुन पर्छ मनीषा ! भन्ने चाहिँ लाग्थ्यो । तर, जति जे भए पनि इमानदार चैं हुनपर्छ भन्ने थियो ।
शृंखला : हजुरले किताबमा आफू सबै कुरामा भाग्यमानी हुँदाहुँदै प्रेम सम्बन्धमा चैँ अभागी भएको कुरा गर्नुभएको छ । अभागी सायद सही टर्म नहोला । तर यसबारे केही भन्न चाहनुहुन्छ ?
मनीषा : डेफिनेट्ली । मेरो अन्टीले नै मलाई के भन्नुभाको थियो भने, यु आर भेरी लकी इन योर वर्क बट भेरी अनलकी इन् योर लभ लाइफ । (you are very lucky in your work but very unlucky in your love life.) एक्चुअल्ली उहाँको अब्जर्वेसेन सही लाग्छ मलाई । यसरी पछाडि फर्केर हेर्दा लाग्छ, आइ वाज चेजिङ लभ टु मच विदाउट रियल्ली लभिङ माइसेल्फ । (I was chasing love too much without really loving myself.) मैले धेरै सिकेँ । सुरुमा म रिलेसनसिपबाट फुलफिलमेन्ट खोज्थेँ । यो साथी पाइन्छ कि त्यो साथी पाइन्छ कि भन्ने थियो । तर धेरै पछि सिकेँ कि फस्ट यु निड टु लभ योरसेल्फ एन्ड लुक अफ्टर योरसेल्फ एन्ड बी रेस्पोन्सिबल टुवार्डस् योरसेल्फ । (first you need to love yourself and look after yourself and be responsible towards yourself.)
म बाथरुमको ऐनामा आफ्नो अनुहार हेर्थें अनि बिस्तारी बिस्तारी आफ्नु अनुहार नै एलियन जस्तो लाग्थ्यो ।
शृंखला : धेरै महिला दिदीहरू विवाहलाई एउटा फाइनल कन्ट्र्याक्ट जसरी लिएर आफ्नु जीवनमा पेलिएर दुःख पाएर पनि विवाहलाई चाहिँ लास्ट थिङ बनाउनुपर्छ भनेर दुःखी भइरहेका देख्छु । हजुर विवाहपछि डिभोर्सको जर्नीमा गई सक्नुभएको व्यक्तिको हिसाबले के सन्देश दिनु चाहनुहुन्छ ?
मनीषा : पहिलो कुरा त के छ भने हामी टाइमअनुसार चेन्ज हुनुपर्छ भन्दिनँ, इभल्भ चैँ हुनुपर्छ । विवाह भन्ने संस्थालाई म धेरै महत्व दिन्छु तर दुःख सहँदै त्यसैमा बसी राख्नुपर्ने, दुनियाँले देखेर के भन्ला, दुनियाँले मलाई जज गर्ला, अफ्ठेरो होला, यस्तोे डरले टिकाएको विवाह राम्रो मान्दिनँ म । केटाकेटीदेखि नै हामीलाई के सिकाइएको हुन्छ भने, पछि गएर विवाह गर्ने र बच्चाबच्ची हेर्ने ।
अहिले त्यो टाइम हैन । अहिले चाहिँ पढ्नुपर्छ । आफ्नु करियर बनाउनुपर्छ र कसैले विवाह गरेर आफ्नो श्रीमान्, परिवारलाई हेर्नुहुन्छ र त्यही कुरामा उहाँहरू खुसी पनि हुनुहुन्छ । तर डर र दबाबमा विवाह टिकाएको राम्रो होइन । एउटा जीवन हो, त्यसलाई राम्ररी जिउनुपर्छ । यो बुझ्नुपर्छ कि मलाई के गर्दा राम्रो लाग्छ अनि मेरो परिवार पनि खुसी हुन्छ । हामीले आफूले चाहेका कुरा भन्यौं भने समाजले पनि बुझ्छ । हामी खुसी छौं, जीवनमा अगाडि बढिरहेका छौं भने कसले नाइँ भन्छ ।
शृंखला : यहाँले मातृत्व, आमा बन्न पाउनु चैं ठूलो भाग्य भन्नुभएको छ । आमा बन्न नपाउने धेरै महिला हुनुहुन्छ । पुस्तकमा तपाईंले म त प्रेग्नेन्सी पो जँचाउन आउनुपर्ने, कहाँ क्यान्सर जचाउन आएँ भन्ने कुरा गर्नुभएको छ । यसमा केही चर्चा गर्नु चाहनुहुन्छ ?
मनीषा : यसमा दुईतीन वटा कुरा छ बहिनी, एउटा चाहिँ म एउटा प्राउड फेमिनिस्ट हुनको कारणले धेरै बहिनीहरूसँग धेरै साथीहरूसँग भन्छु कि आमा बन्नु सौभाग्यको कुरा हो, उहाँहरू रिसाउनु हुन्छ । फेमिनिजमले यो कुरामा धेरै महत्व दिँदैन । तर म चाहिँ के फिल गर्छु भने यो नेचरले दिएको गिफ्ट हो । आमा बन्नु पाउनु भनेको गिफ्ट हो । हामी आमा बन्न पाए धेरै राम्रो हुन्थ्यो भने सोच्छौं र सायद यो कुरा त्यसैबाट पनि निस्केको हुनुपर्छ । र जब मेरो पाठेघरको क्यान्सर भयो आमा नबन्ने भएपछि असाध्यै पीडा भयो । त्यो सपना मेरो क्रस भयो ।
शृंखला : तर मातृत्व अरू कुरामा पनि भेटाउन सकिन्छ नि ?
मनीषा : सकिन्छ । त्यो प्रेम अरू धेरै माध्यमबाट पनि अभिव्यक्त गर्न सकिन्छ । म एडप्सनमा पनि विश्वास गर्छु ।
शृंखला : एउटा अभिनेत्री भएसँगै यहाँको आफ्नु पहिचानको ठूलो हिस्सा यहाँको सौन्दर्य पनि थियो । जीवनभर नेपालको सुन्दरी विश्वकै सबैभन्दा सुन्दरीका रूपमा परिचित हजुरको क्यान्सरपश्चात् कपाल झर्यो, आफ्नु आँखीभौं झर्यो । आफ्नु अप्ठेरो बडी इमेजको एउटा जर्नीबाट हजुर गुज्रिनु भयो । क्यान्सरले यहाँलाई सुन्दरताबारे के सिकायो ?
मनीषा : जब मेरो कपाल झर्न थाल्यो, अलिअलि अचम्म चैँ लाग्यो । म बाथरुमको ऐनामा आफ्नो अनुहार हेर्थें अनि बिस्तारी बिस्तारी आफ्नु अनुहार नै एलियन जस्तो लाग्थ्यो । तैपनि त्यो दुःख त्यो पीडा एकान्तमा बसेर सहनु चाहिँ सजिलो हुँदोरहेछ । तर अमेरिकाबाट यता फर्कने बेलामा थुप्रै विचार आउँथ्यो । मुम्बईमा अब के भन्ने हुन् मान्छेहरूले ? त्यहाँको प्रेसमा फेरि के भनेर आउने हो फोटोग्राफीमा ? मेरो मजाक उडाउने हो कि ? मलाई फेरि कठै बिचरा भन्ने हो कि ? मलाई कठै बिचरा भनेको चैँ मन पर्दैन ।
डर र दबाबमा विवाह टिकाएको राम्रो होइन ।
धेरै दिनसम्म यो कुरा मनमा खेल्यो । तर, अमेरिकाबाट मुम्बई फर्कंदा सेम फ्लाइटमा हृतिक रोशन परे । म चैँ उनले देख्लान् कि भनेर हुडी लगाएर अर्कोतिर हेरिरहेँ तर उनले चिनेर ‘मनीषा यु आर लुकिङ सो ब्युटिफुल’ भने । इन्करेज गरे । अनि म त जिल्ल परेँ । मलाई त जज गरेनन् । मलाई त यो कस्तो भई भनेर भनेनन् । म मान्छेहरूको आँखामा हेर्न डराउँथेँ । त्यो आँखामा मैले के पढाैला, मैले के देखूँला भनेर मान्छेहरुका आँखा हेर्नबाट भाग्थेँ ।
म मर्निङ वाक गर्दा पनि भुइँमा हेरेर हिँड्ने मान्छे हुँ । मान्छेले नचिनून् भनेर टोपी लगाउँछु । मान्छेहरूले तैपनि चिन्थे अनि भन्थे, ‘मनीषा, यु आर डुइङ गुड वर्क, किप इट अप ।
त्यतिखेर त्यो खालको प्रतिक्रियाले मलाई के महसुस गरायो भने मानवीयता भन्ने कुरा अझै जिउँदो छ । यो झन् फैलिँदै छ । म आत्तिनुपर्ने जरुरी छैन । खालि यो मेरो डर रैछ, मेरो चिन्ता रैछ । त्यही कुराले मलाई यो किताबमा साँचोसाँचो लेख्न साहस पनि दिएको हो । मैले मानवतामा विश्वास गर्न थालेँ । पीडा भाको मान्छेले चाहिँ अरू पीडा दिँदैन । उनीहरूले प्रोत्साहन गर्छन्, सहयोग गर्छन् । अनि बिस्तारैबिस्तारै आफूलाई पनि सम्झाएँ कि हैन जीवन राख्यो भने, ठीक भयो भने म फेरि सौन्दर्य फिर्ता पाइहाल्छु नि । त्यतातिर ध्यान दिन थालेँ ।
जब मेरो पाठेघरको क्यान्सर भयो आमा नबन्ने भएपछि असाध्यै पीडा भयो । त्यो सपना मेरो क्रस भयो ।
शृंखला : अब म हजुरको जर्नीलाई क्यान्सर जितिसकेपछिको अनुभवतर्फ लग्न चाहन्छु । यहाँले क्यान्सर जितिसकेपछि पनि धेरै कठिनाइ सामना गर्नुभयो । एउटा सेल्फ रिफ्लेक्टिभ जर्नीबाट यहाँ ग्रुज्रिनु भयो । अध्यात्म सिक्न–बुझ्न युनिभर्सिटी पनि जानुभयो । यो सबैमा आफू धेरै फरक भएको पाएँ भनेर बारम्बार भन्नुभएको छ । आफ्नु जीवन वा शरीरको उपचार सजिलो कि आत्माको ?
मनीषा : मैले आध्यात्मिकता चैं धेरै पहिला सुरु गरेको थिएँ । यो जर्नी अलि छोटकरीमा भन्छु म । म सुरुमा यतातिर वास्ता गर्दिनथेँ । म १२ कक्षामा हुँदासम्म एकदमै र्याडिकल थिएँ । आएन र्यान्डको फ्यान थिएँ । अलि एउटा कोर्स गर्याे, फेरि बिस्र्यो । एउटा गुरुबाट अर्को गुरुकोमा सर्ने । त्यसको जड पक्डन सकेको थिइनँ । अनि क्यान्सरपछि मैले बुझ्न खोजेँ कि जीवन के रहेछ ?
आफ्नु मुखको अगाडि नै यत्रो ठूलो भएर उभिदिन्छ सबै कुराहरू । म बाध्य भएँ त्यसलाई हेर्न । अनि त्यतातिर मेरो ध्यान बढी गयो र अहिले चैँ मेरो हरदिन आध्यात्मिक विकास, आपसी समझदारी बढेको र गहिरो भएको छ । एक वर्ष युनिभर्सिटी गएँ, विपश्यना पनि गरेँ । ओशो आश्रम गएँ, रजनीशकोमा गएँ । धेरै ठाउँ चहारेँ तर आजभोलि म घरमै बसेर अभ्यास गर्न रुचाउँछु । मनुष्यको शरीर आत्माको हिलिङको कुरा गर्नुभो तर आत्मा चाहिँ पवित्र नै हुन्छ । हाम्रो मन, हाम्रो मस्तिष्क, भयको कारण हाम्रो दुःख, पीडा त्यसले हामीलाई के लाग्छ भने हाम्रो आत्मालाई प्रदूषित गरेको होला भनेर सोच्छौँ तर आत्मा सधैँ शुद्ध छ, आत्मिक छ । जस्तो कि गर्भवती महिलालाई भन्छन् कि उनी खुसी छिन्, किनकि आमा हुँदै छिन् ।
शृंखला : एउटा ताजा कुरा गर्न चाहन्छु । नेपाल र भारतबीचको सीमा विवादको एउटा सवाल चर्किराख्दाखेरि यहाँले गर्नुभएको रिटुइटले ठूलै तरंग मच्यायो । त्यसलाई राजनीतिक रङ पनि दिन खोजियो । फेमली हिस्ट्रीमै एउटा ठूलो राजनीतिक परिवारबाट आउनु भएको तपाईंलाई के हामी छिट्टै राजनीतिमा देख्न सक्छौं होला ?
मनीषा : (लामो हाँसो) । सत्य हो कि म राजनीतिक वातावरणमा हुर्केको हो । अहिले पनि साँझदेखि बिहानसम्मै राजनीतिको कुरा भइरहन्छन् । म राजनीतिलाई करिअरका रूपमा हेर्न सक्दिनँ । म त्यसलाई एउटा सेवाको रूपमा हेर्नसक्छु । सेवा गर्नु नै हो भने चैँ राजनीतिमा आउनुपर्छ भन्ने मान्दिनँ । मलाई थाहा छैन, म के बाटो लिन्छु, कुन बाटो लिन्छु । मैले त्यसलाई ओपन राखेको छु । हुन त मलाई यो पनि थाहा छ कुनै कुरा राम्रोसँग चेन्ज गर्नुलाई पोलिसीमा नै चेन्ज गर्नुपर्छ । नत्र केही पनि चेन्ज हुन्न । राजनीतिमा धेरै माइन्ड गेम खेल्नुपर्ने हुन्छ । त्यसबाट म अलिकति पर बसम् कि भनेर सोचिराछु । हेरौँ ।
सेम फ्लाइटमा हृतिक रोशन परे । म चैँ उनले देख्लान् कि भनेर हुडी लगाएर अर्कोतिर हेरिरहेँ तर उनले चिनेर ‘मनीषा, यु आर लुकिङ सो ब्युटिफुल’ भने ।
शृंखला : आगामी दिनमा हामी मनीषा दिदीलाई कहाँ देख्न सक्छौं ?
मनीषा : मलाई क्यान्सरले दिएको एउटा गिफ्ट पनि ‘सेवा नै सबैभन्दा ठूलो कुरा रहेछ’ भन्ने हो । आफूलाई, आफ्नु हेल्थलाई हेर्नु त हामी सबैको कर्तव्य नै हो । तर जबसम्म हामी आफू मात्र बाच्छौँ, एकदम अधुरो हुन्छ जीवन । जस्तो : मलाई परेको बेला धेरै जनाले आएर आफ्नु बहुमूल्य समय दिए, मलाई आशीर्वाद दिए, माया दिए, कति सहयोग दिए । म त्यही फर्काउन चाहन्छु ।
(नेपाल लिटरेचर फेस्टिभलको भिडियाेबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया