विचार-वार्ता

सम्पादकीय

सडक दुर्घटना अति भो : जिम्मेवारी कसको ?

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १७:१९ बजे

अस्ति आइतबार सल्यानमा भएको सडक दुर्घटनामा परी १२ जनाको दुःखद् निधन भयो भने दर्जनौँ घाइते भए । यसकै भोलिपल्ट सोमबार फेरि सल्यानमै अर्काे दुर्घटना भयो, एक जनाको ज्यान गयो, अरु यात्रु घाइते भए ।

सडकमार्ग कतिसम्म जोखिमपूर्ण छ, दुर्घटना कति बढेका छन् भनेर हेर्न टाढा जानै पर्दैन । नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक औसत ७ जनाको सडक दुर्घटनामा ज्यान गइरहेको छ । विगत १० वर्षसम्म चलेको माओवादी सशस्त्र द्वन्द्वकालमा जतिको ज्यान गयो, त्यो भन्दा बढीको ज्यान पछिल्लो १० वर्षमा सडकयात्रामा गएको छ । बाटोमा गुड्ने बसहरू ‘एम्बुस’ सरह भएका छन् ।  


यात्राकै क्रममा मृत्यु हुनेको संख्या भयावह छ । दुर्घटनामा परी बाँच्नेहरूले बेहोर्नुपर्ने समस्या झनै कहालीलाग्दो छ । आजीवन अंगभंग हुनुपर्ने अवस्था छ । परिवारमा कमाउने उमेर समूह परनिर्भर भएर बस्नुपर्ने, कमाउने सदस्य हेरचाहमा बस्नुपर्ने हुँदा यसले नित्याउने गरिबीको दुष्चक्रको पाटोबारे त खास अध्ययन भएकै छैन । सडकहरू जथाभावी बनेका छन् । घरी बनेका छन्, घरी बिगारिएको छ । सवारी साधनको गुणस्तर मापन छैन । यात्रुको चापअनुसार सवारी साधनको व्यवस्था छैन । यातायात महासंघहरूको सिन्डिकेट उस्तै छ । अनुगमन छैन । अनि मूल कुरो त यात्रुहरू नै चालकलाई छिटो कुदाउन दबाब दिन्छन् । सुरक्षितभन्दा पनि तीव्र गतिमा हाँक्न लगाउँछन् । 

यात्रु स्वयं सचेत हुने हो भने जोखिम धेरै कम हुन सक्छ । तीव्र गति, गाडीको स्थिति, चालकको मदिरापान जस्ता कुरामा यात्रुहरू पनि चनाखो हुनुपर्छ । सडकको अवस्था दिनानुदिन बिग्रँदो छ । सार्वजनिक विद्यालयजस्तै सार्वजनिक यातायात पनि गरिबको मात्र साधन बन्दै गए जस्तो छ । एकातिर सार्वजनिक क्षेत्र सुधार्ने, सुलभ र भरपर्दाे गर्ने गरी समाजवादको यात्रामा अघि बढ्नुपर्ने अर्काेतिर सार्वजनिक क्षेत्र मास्दै, कमजोर बनाउँदै निजी क्षेलाई बलियो बनाउने राज्यको नीति हँसिया आकारको प्रश्न चिह्नभित्र छ । 

 

दिनका दिन दुर्घटनाका खबर आउँदा कसैले जिम्मेवारी लिनु नपर्ने ? ‘दुःख व्यक्त’ गरे मात्र पुग्ने ? सुधारका लागि पहलकदमी लिनु नपर्ने ? कर चाहिँ असुलिरहने तर सुविधा भने शून्य, यो कस्तो कल्याणकारी समाजवादी राज्य हो ?

दिनका दिन दुर्घटनाका खबर आउँदा कसैले जिम्मेवारी लिनु नपर्ने ? ‘दुःख व्यक्त’ गरे मात्र पुग्ने ? सुधारका लागि पहलकदमी लिनु नपर्ने ? कर चाहिँ असुलिरहने तर सुविधा भने शून्य, यो कस्तो कल्याणकारी समाजवादी राज्य हो ? दुर्गम पहाडमा दुर्घटना भइसकेपछि शीघ्र उद्धारको व्यवस्था कति छ ? यात्रु बिमा कति लागू हुन्छ ? चालकलाई कति कारबाही हुन्छ ? अनुगमनमा खटिएका प्रहरी कति जिम्मेवार हुन्छन् ? 

योजना र अनुसन्धानविना जहाँतहीँ डोजर लगाउने, सामान्य ट्र्याक खोलेर गाडी हुलिहाल्ने चलन बढ्दो छ । अर्काेतिर किशोर उमेरका केटाहरूको बाइक दुर्घटना पनि बढ्दो छ । लामो दूरीको यात्रा बाइकमा गर्ने, हप्तौँ बाइक यात्रा गर्ने, आपसमा कुराकानी र प्रतिस्पर्धा गर्ने हुँदा धेरै युवाको ज्यान गएको छ । ठेकेदारले खाल्डा नपुर्ने, निर्माण कहिल्यै पूरा नगर्ने, कुनै संकेतविना बाटो खन्ने जस्तो लापरबाहीले पनि धेरैको निधन भएको छ । यी दुर्घटना नभई सरासर हत्या हुन् । कति ठेकेदारले ज्यान मुद्दामा सजाय पाएका छन् ?

सडक दुर्घटना कम गर्ने सरोकारवाला आजै लाग्नुपर्छ । यात्रा मान्छेको अत्यावश्यक विषय हो । यस्तो दैनन्दिनको विषयमा, अनाहकमा हजारौँले ज्यान गुमाउँदा पनि कानमा तेल हालेर बस्‍ने तालुकवालाहरूलाई अब त ब्युँझाउन जरुरी छ । 

हरेक उपभोक्ता, करदाता, मतदाता, जनता आफ्नो अधिकारका लागि सडकमै ओर्लन जरुरी भइसकेको छ । सडकले हाम्रो ज्यान लिइरहन्छ भने विरोधमा सडकमै ओर्ली सुधारको दबाब दिँदै सडक–संघर्ष गर्न बाँकी राख्नुहुन्‍न । सडक यात्रामा क्षति अति भो, सुधारका लागि दबाब दिन अब सडकमै भद्र प्रदर्शन गर्न विलम्ब नगरौँ ।


Author

थप समाचार
x