एलिजाबेथ, चाउ-एन-लाई, नेहरुहरूबाट धाप पाउने नृत्याचार्यको रामकहानी
प्रथमतः २०७७ को जगदम्बा–श्रीद्वारा सम्मानित भएको समाचार सुन्न पाउँदाको बेला त्यो हर्षको बाछिटा थेग्न मलाई धौ–धौ पर्यो, राज्यले बिर्सेको बेला । दुई हप्ता नबित्दै मदन पुरस्कार गुठीबाट प्राप्त भएको त्यो अनमोल बधाई–पत्र जब मेरो ८९ वर्षको हत्केलामा पर्यो, त्यो हर्षको बयली झन् बेग्लै किसिमले थपियो, शरीरका रोम–रोम नै तरङ्गिने गरी । मन चङ्गा भएपछि अतीतका दिनमा मलायादेखि नाच्न थालेको कुरा सम्झिनु स्वाभाविक नै हो ।
त्यसबेला मलायामा भएको ब्रिटिस गोर्खा आर्मीको फर्स्ट सिक्स बटालिनमा नेपाली टार्जन, नेपाली बाबु र डान्सर तीन उपनामले चर्चित राइफलम्यान अफिस क्लर्क मलाई सन् १९५३ को जून २ तारिखका दिन बेलायतकी महारानी एलिजावेथको शुभराज्याभिषेकको उपलक्ष्यमा रातभरि नाच्नुपर्दा, अफिसरदेखि सबैले रमाइलो मानेर धन्यवाद दिएका थिए । फलस्वरूप ६ महिने घरछुट्टीको बिदासमेत मैले पाएँ । त्यसबेला म २२ वर्षको थिएँ ।
संयोगवश ६ असार २०१० का दिन मलायाबाट काठमाडौं पुगेको नौ दिनपछि १५ असारमा नेपाल नाटक संघका संस्थापक नाटककार भीमनिधि तिवारीजीले नेपाल नाटक संघको ‘प्रतिभाशाली कलाकार’ भनेर घोषित गर्नुभएको ती दिनका कुरा सबै बिर्सिसकेको बेला आज त्यो स्मरणशक्ति पनि जागृत भयो, जगदम्बा–श्रीको सम्मानले गर्दा । म कलाकार घोषणा भएको ७२ दिनपछि ३ असोज २०१० का दिन अखिल नेपाल किसान संघको वार्षिक सम्मेलनको अन्तिम दिन भुरुङखेलको चउरस्थित डबली मञ्चमा अकस्मात् आफ्नो एकल भाव लोक सांस्कृतिक नृत्य एक घण्टासम्म प्रस्तुत गर्नुपरेको दिन पनि सम्झिन थालेँ ।
त्यसबेला चउरभरि उपस्थित हजारौं जनसमूहबाट अविच्छिन्न रूपले गुन्जिएको करतल–ध्वनि पनि अचम्मकै जोशिलो थियो । अर्कातिर, मलाया डान्सर भनेर ‘भैरवबहादुर थापाको लोक सांस्कृतिक प्याखँस् उपत्यकाबासीले नै हेर्न पाउनुपर्छ’ भनी माग गरिएको एक हात लामो लिखित नेपाली कागज मञ्चका उद्घोषकको हातमा बुझाएको समेत सम्झना आयो ।
‘जनताको माग भएबमोजिम भोलिदेखि ६ दिनसम्म मलाया डान्सरको लोक सांस्कृतिक प्याखँस् हुने’ भएको निर्णय उद्घोषकका रूपमा साहित्यकार कृष्णचन्द्रसिंह प्रधानजीले मञ्चको माइकबाटै घोषणा गर्नुभएपछि मात्र जनताको होहल्ला शान्त भयो । साथै, मलाई वचनबद्ध गराएर आफ्नो घरमा जाने अनुमति दिएको त्यो दिनको समेत सम्झना आउनु भनेको जगदम्बा–श्रीकै शक्तिले हो ।
आखिर ६ दिनसम्म मलाया डान्सरको लोक सांस्कृतिक प्याखँस् हेर्न भुरुङखेलको चउरमा बास बस्ने गरी आएका जनसमूहको भीड भिन्नै थियो । मलाया डान्सरको लोक प्याखँस् सिक्न इच्छुक विद्यार्थीको हुल भिन्नै थियो । साथै ‘भैरव सरले लोक प्याखँस् जसरी भए पनि विद्यार्थीलाई सिकाइ दिनुपर्छ’ भनी अनुरोध गर्न आएका अभिभावकको झुण्ड पनि भिन्नै थियो ।
जीवनमा पहिलो पटक आफ्नो नृत्य कलाको प्रशंसकको नयाँ माहोल बढ्दै गएको देख्दा प्रत्येक दिन भुरुङखेलको डबलीमा हर्षले म फुर्तिले नाचेको पनि छु ।
जीवनमा पहिलो पटक आफ्नो नृत्य कलाको प्रशंसकको नयाँ माहोल बढ्दै गएको देख्दा प्रत्येक दिन भुरुङखेलको डबलीमा हर्षले म फुर्तिले नाचेको पनि छु । साथै ‘स्कूलमा नृत्य सिक्ने व्यवस्था मिलाउनुभएमा म आएर सिकाइदिन्छु’ पनि भन्दै छु विद्यार्थीलाई । तर, भोलिपल्ट विद्यार्थी आएर आँसु पुछ्दै भन्न थाले– गाईजात्रे नाच सिकाउन दरबार स्कूल खोलेको हैन, प्रजातन्त्र आयो भन्दैमा भाँडभैलो नाच गर्न पाइँदैन भन्नुभएर खूब झपार्नुभयो हाम्रा सरहरूले । हामी त बहुलाउने भयौं । अब के गर्ने भैरव, सर ?
त्यसबेला तीन महिना स्काउटको तालिम पाएका ज्यापू भनेर चिनिने एक सज्जनले विद्यार्थीका बिलौना सुनेर भने, ‘भैरव सरलाई थाहा छ कि छैन ? तपाईंको लोक सांस्कृतिक नृत्यलाई यहाँ गाईजात्रे प्याखँस् भनिन्छ । त्यस्ता प्याखँसहरू विना चाडपर्व जथाभाबी नाचिने चलन हुँदैन । स्कूलको मास्टरले झपारेर विरोध गर्नु स्वाभाविकै हो । एक त लोग्ने मानिसको नाच देखियो भने बिरालोले बाटो काटे झैैं अशुभको सङ्केत मानिन्छ । त्यसकारण गाईजात्राको पर्वमा मात्र पुरुष भेषमा पुरुषले नाच्न पाउँछन् । नत्र भने नारीको भेषमा नै मारुनी भएरै पुरुषले नाच्नुपर्छ, त्यो पनि पुर्ख्यौली पर्वको सन्दर्भमा पारेर । त्यस्तो पुरानो रीतिरिवाजको डबली मञ्चमा आज भैरव सरले पुरुषको भेषमा नाच्दा पनि प्रत्येक दिन हजारौं–हजार मानिसहरू विनाविरोध हेर्न झुम्मिरहेका छन् ।
रूढिवादी सोचमा नै अचानक परिवर्तन भएको देखिनु अचम्मलाग्दो भएको छ । वास्तवमा भैरव सरको लोक सांस्कृतिक नृत्य क्रान्तिकै रूपमा प्रकट भएको हुनाले यही मौकामा विद्यार्थीहरूको इच्छा पुर्याउन स्काउटको ट्रेनिङ गराउने भनेर भैरव सरले यही भुरुङखेलको चउरमा आर्मी ड्रिलको ट्रेनिङ सँगसँगै नृत्यको पनि तालिम गराउनुहोस् । विद्यार्थीहरू पनि खुसी हुन्छन् । भैरव सरको प्रचार पनि हुन्छ । यसरी स्काउट सँगसँगै परिचालन भएको सङ्गीत र नृत्यलाई स्काउटकै प्रचलन भएको अङ्ग ठान्दछन् । स्काउटको नाताले म पनि भैरव सरसित आबद्ध हुन पाउँछु । साथै, स्काउटको नाममा भुरुङखेलको चउर पनि उपयोग गर्न पाइन्छ ।’
उनका यी सुझावहरू सबैलाई चित्तबुझ्दो भएपछि स्काउटका लागि एकै नासे ड्रेस हुनुपर्छ भनी मैले आग्रह गर्दा अन्दाजी ५६ जना विद्यार्थी पोसाका सिलाउन तयार भए । चार जना असमर्थ विद्यार्थी रुन थालेपछि दुई जनाको पोसाका खर्च ज्यापूजीले व्यहोर्ने वचन दिनुभयो । अर्को दुई जनाको मैले व्यहोर्ने गरी इन्द्रचोकको दर्जीलाई सिलाउने अर्डर गरियो ।
काठमाडौंको भुरुङखेल चउरमा पहिलो पटक विदेशी ड्रम प्रयोग नगरेर केवल मगखींको तालमा स्काउट सँगसँगै नृत्यको तालिम पनि हुन थालेपछि हेर्न आउने बाल–वनिता, युवायुवती र वृद्धवृद्धाको हुल प्रत्येक दिन थपिँदै गएको चर्चा समेत सर्वत्र फैलियो । पोसाक तयार भएपछि २२ असोज २०१० का दिनदेखि २३ मिनेट आर्मी ड्रिल, २३ मिनेट नृत्य, फेरि २३ मिनेट आर्मी ड्रिल अनि २३ मिनेट नृत्यको मिश्रित तालिम शुभारम्भ भयो ।
यसरी काठमाडौंको भुरुङखेल चउरमा पहिलो पटक विदेशी ड्रम प्रयोग नगरेर केवल मगखींको तालमा स्काउट सँगसँगै नृत्यको तालिम पनि हुन थालेपछि हेर्न आउने बाल–वनिता, युवायुवती र वृद्धवृद्धाको हुल प्रत्येक दिन थपिंदै गएको चर्चा समेत सर्वत्र फैलियो।
त्यो चर्चाले गर्दा राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, हृषीकेश शाह, कामरेड पुष्पलाल श्रेष्ठ, कामरेड पीएन राणा, कामरेड निर्मल लामा, कामरेड तुलसीलाल अमात्य लगायत नेताका भाषण कार्यक्रममा पनि सर्वप्रथमः मलाया डान्सरको नामले (भैरवबहादुर थापा) को लोक सांस्कृतिक प्याखँ प्रस्तुत गर्नुपर्ने एक नियम जस्तै हुन पुग्यो, मानिसहरू भेला गर्नका निम्ति ।
कुनै बेला राजनीतिक नेताले राज्य व्यवस्थाविरुद्ध भाषण गरेको अवस्थामा अचानक पुलिसले झम्टिन खोज्दा मञ्चबाट भागेका नेता सँगसँगै आफूलाई पनि गल्ली–गल्ली लुकेर भाग्नुपरेको भोगाइ समेत खूब सहनुपर्थ्यो मैले ।
यसैगरी काठमाडौं र पाटनका विभिन्न टोल–टोलमा हुने आ–आफ्ना छुट्टै किसिमका स्थानीय धार्मिक पूजाहरूमा समेत मलाया डान्सरको लोक प्याखँ चोक–चोकको डबली मञ्चमा प्रस्तुत भएकै हुनुपर्थ्यो । त्यस्तै, कविगोष्ठी हुँदा समेत सर्वप्रथम भैरवबहादुर थापाको नृत्य प्रस्तुत भएपछि मात्र कविता वाचन हुने गर्थ्यो ।
प्रायःजसो दिनमा राजनीतिक मञ्च, धार्मिक मञ्च र साहित्यिक मञ्चमा आफ्नो नृत्य प्रस्तुत गरेपछि साँझपख भुरुङखेलको स्काउट तालिममा पुग्न भ्याएकै हुनुपर्थ्यो । यो दैनिक चर्या जस्तै थियो मेरो त्यसबेला । यसरी आफू नाच्दा र अरूलाई नचाउँदै जाँदा भुरुङखेलमा परिचय भएको प्रसिद्ध नाटककार बालकृष्ण समको ऐतिहासिक नाटक अमरसिंहमा समेत आबद्ध हुन पुगें म ।
आफू नाच्दा र अरूलाई नचाउँदै जाँदा भुरुङखेलमा परिचय भएको प्रसिद्ध नाटककार बालकृष्ण समको ऐतिहासिक नाटक अमरसिंहमा समेत आबद्ध हुन पुगें म ।
त्यसैबेला मबाट चार महिना स्काउट र नृत्यको तालिम लिएका विद्यार्थी मलाई बालसखा दलको अध्यक्ष पदमा राख्नका लागि सल्लाह लिन नाटककार बालकृष्ण समको निवासमा पुगेछन् । भैरवबहादुर थापा सरलाई नेपालमै रोकेर राख्न मनसाय भएको कुरा विद्यार्थीबाट बुझ्ने बित्तिकै त्यसबेला विद्यार्थी सँगसँगै बालकृष्ण सम मेरो निवास आउनुभयो र भन्नुभयो, ‘यी तपाईंका सागिर्दहरू भैरवजीलाई बालसखा दलको अध्यक्ष पदमा राख्नुपर्यो भन्न मकहाँ आउनुभयो ।
भैरवजीको नाम उठेपछि मेरो पनि चासोको विषय हुन पुगेकाले भैरवजीलाई भेट्न आएको हुँ । विशेष नृत्यको कुरा गर्दा खास गरी नाटकको दृश्य समाप्त भएपछि पर्दा लाग्छ र त्यही पर्दा अगाडि मात्र नृत्य देखाइने चलन हुन्छ, यदि राख्नुपरेमा । तर, लोक सांस्कृतिक नृत्यको प्रचारले गर्दा सांस्कृतिक कार्यक्रम भनेर छुट्टै नृत्य मात्र देखाउने चलन ल्याउनुभयो भैरवजीले । त्यसकारण भैरवजीकै नामबाट भैरव नृत्य दल संस्था किन नखोल्ने ? यो नाम नृत्य विधाका लागि उपयुक्त पनि हुन्छ । एक त भैरवजीको नृत्य सबैले मन पराएको बेला कसैबाट विरोध आउन सम्भव पनि छैन ।’
बालकृष्ण समका कुरा सुनेपछि ‘असाध्यै राम्रो लाग्यो’ भनेर सबैले समर्थन जनाए । मैले हुँदैन भन्न सकिनँ । किनकि, बालकृष्ण सम जस्ता प्रतिष्ठित व्यक्तिको आगमनले नै म गौरवान्वित भइसकेको थिएँ । छलफल हुँदै जाँदा बालकृष्ण समकै नेतृत्वमा नेपालमै पहिलो नृत्य विधाको संस्थाका रूपमा ‘भैरव नृत्य दल’ स्थापना भयो, १० फागुन २०१० का दिन ।
भैरव नृत्य दलको स्थापना भएपछि ब्रिटिस गोर्खा आर्मीको सम्झना हुँदाहुँदै पनि माया मार्नुपर्यो मैले । भविष्यमा सुविधास्वरूप आर्मीबाट पाउने अन्दाजी दुई लाख रुपैयाँ मासिक भत्ता समेत गुमाउन बाध्य भएँ । आफ्नो रहरले बाध्य भएँ वा कसैको आवश्यकताको खाँचो पूरा गर्न बाध्य भएँ, मेरो बयली उमेरले गर्दा मलाई थाहा नै भएन । गुनासो गर्ने फुर्सद पनि भएन ।
गीति–नाट्य, मूक नाट्य, वाणी नाट्य लगायत मयूर नृत्य, याक नृत्य, झाँक्री नृत्य, पद्मसम्भव नृत्य, प्रतिध्वनि (Echo) नृत्य, एकता नृत्य, विद्या धनम् नृत्य रोइला, मछुवा, टप्पा, झ्याउरे, सोरठी, खुकुरी, डम्फे, सेलो, ताजिया, किम्बु–सुँताँ जस्ता अनेक नृत्यहरू सिर्जना गरियो । जे भयो, आफूलाई चित्तबुझ्दो नै भयो । स्काउटमा बजाइने विदेशी ड्रम हटाएर मगखीं (मगर बाजा) अर्थात् मादलको तालबाट स्काउट र नृत्यको तालिम पनि मबाट नै सुरुआत भयो ।
गाउँ–गाउँका लोक नृत्यहरूलाई परिमार्जन गरेर विधिपूर्वक मञ्चनीय पद्धतिमा प्रस्तुत गर्ने काम पनि सुरुआत गरेँ । साथै, परम्परादेखि चल्दै आएको ‘डबली नाच’लाई समेत शिष्ट भाषामा ‘सांस्कृतिक कार्यक्रम’ भनेर सुरुआत गरेँ ।
गीति–नाट्य, मूक नाट्य, वाणी नाट्य लगायत मयूर नृत्य, याक नृत्य, झाँक्री नृत्य, पद्मसम्भव नृत्य, प्रतिध्वनि नृत्य, एकता नृत्य, विद्या धनम् नृत्य रोइला, मछुवा, टप्पा, झ्याउरे, सोरठी, खुकुरी, डम्फे, सेलो, ताजिया, किम्बु–सुँताँ जस्ता अनेक नृत्यहरू सिर्जना गरियो ।
मेरा यी सिर्जनामध्ये केही नृत्य आज राष्ट्रको सांस्कृतिक सम्पदा हुन पुगेका छन् । तर, सर्जकलाई सम्पदाको पङ्क्तिमा अङ्कित गर्न नसकेको देख्दा राज्यका सम्बन्धित फाँटहरू कागलाई बेल पाकेको जस्तै भयो सर्जकका लागि ।
जे भए पनि मेरो ‘किसान’ भाव नृत्यलाई चीनका प्रथम प्रधानमन्त्री श्री चाउ–एन–लाईले अत्यधिक मन पराउनुभयो । त्यस्तै, भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले मेरो प्रतिध्वनि नृत्यको प्रशंसा गर्नुहुँदै ‘नेपालके भैरव पार्टी ने इको नामक पोएटिक ब्याले डान्स कि सुरुआत करते हुए देखकर मेरी राय बदलदी’समेत भन्नुभयो । तर, नेपालका नेता र व्यवस्थापकले केवल उपयोग मात्र गरे ।
तापनि ६५ वर्षको तपस्याबाट विश्व उपयोगी नृत्य लिपिसम्बन्धी ‘नृत्याक्षर विज्ञान’ शास्त्रको समेत रचना गर्न भ्याएँ । भन्ने नै हो भने विदेशका विकसित नृत्यको दाँजोमा नेपाली नृत्यलाई प्रस्तुत गर्न सक्नु चानचुने विषय थिएन । साँच्चिकै भन्नुपर्दा मेरा योगदानहरू कला–साहित्यका न्यायालयरूपी श्रद्धेय मदन पुरस्कार गुठीको नाङ्लोमा चालिन पुगेकाले नै जगदम्बा–श्रीबाट सम्मानित हुन सफल भएँ । जसले गर्दा आज गङ्गा समानको सम्मान कार्यक्रममा आफ्ना अतीतका केही व्यथाहरू समेत बिसाउने मौका पाएको हुनाले आफूलाई धेरै–धेरै धन्य भएको ठानेको छु । (जगदम्बा–श्री सम्मान समारोहमा थापाको मन्तव्यको सम्पादित अंश ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया