सम्पादकीय
पार्टीमा नीति र नेतृत्वको बहस किन हुँदैन ?
लोकतन्त्रमा प्रधान तत्व नागरिक । नागरिकका दुई खाले संगठन–सञ्जाल । एक, राजनीतिक दल । अर्काे, प्रेसर ग्रुप (दबाब समूह) । दोस्रोमा नागरिक समाज, सञ्चार, गैसस, पेसागत समूह, क्लब, अनौपचारिक सञ्जाल जो दलेत्तर छन् । आज पहिलो संगठन अर्थात् राजनीतिक दलबारे केही कुरा गरौँ ।
राजनीतिक दल यस्तो संगठन हो जसले निर्वाचनद्वारा शासनको वैधता प्राप्त गर्छ । नियम–कानुन बनाउनेदेखि तिनलाई कार्यान्वयन गर्नेसम्मको अधिकार राख्ने यति ठूलो शक्तिशाली संगठन राजनीतिक दलबारे यहाँ बहस नै नभएको त होइन, तर त्यो पर्याप्त छैन ।
दलभित्र त आफूबारे चर्चा नै हुँदैन भने पनि हुन्छ । कोही राजनीतिक दलले आफू लोकमा किन छु, कस्तो छु, कसका लागि छु ? के गर्नुपर्ने हो–के गरिरहेछु ? आफ्ना पहिचान र सामर्थ्य के हुन् ? समाजप्रतिको आफ्नो मूल प्रश्न के हो ? विचार र व्यवहारको सामञ्जस्य के हो ? यी र यस्ता विषयमा घोत्लिएको पाइँदैन ।
राजनीति मूल नीति हो । यही मूल नीतिबारेको हाम्रो चिन्तन भने चिन्ताजनक छ । नीतिसँग जोडिएर आउने भनेकै नेतृत्व हो । जसै नीतिबारे छलफल छैन, नेतृत्वबारे पनि छैन । नेतृत्वका योग्यता र अयोग्यता के हुुन् ? यस्ता प्रश्नमा पार्टीभित्र बहस भएको पनि पाइँदैन । हर पार्टीमा स्कुल विभाग छन्, तर ती कुल मिलाएर मौन छन् । हर पार्टीका लेखनदास, प्राध्यापक छन्, तर ती पार्टीका अँजुलीबाट चुहिने अमृत पिउन आँरत छन् । तिनले विचारबारे स्वस्थ र सृजनशील बहस कहिल्यै गर्दैनन् ।
पार्टीहरू आन्तरिक निर्वाचन अर्थात् महाधिवेशनको सँघारमा छन् । दलभित्रको आन्तरिक लोकतन्त्र कमजोर भइरहेको सन्दर्भमा बल्लतल्ल महाधिवेशन नामको बिरालो बाँध्ने काम भइरहेको छ । तर, पार्टी हाँक्ने, चुनावमार्फत सत्ता हाँक्ने व्यक्ति कस्तो हुनुपर्छ भन्ने चिन्ता पार्टीपंक्तिमा देखिँदैन ।
कांग्रेस, एमाले वा माओवादी, सबैको ओठ हो– समाजवाद या लोकतान्त्रिक समाजवाद । तर, तिनीहरुको हात–दिमाग–मन पुँजीवाद हो । यिनको महाधिवेशन आउँदै छ, जसमा पुँजीवादको प्रभाव प्रबल देखिन्छ । जोसँग पैसा छ, उही चुनिने सम्भावना छ । जोसँग इमान छ, त्यो बेइमान ठहरिन्छ ! जो चाकडी गर्छ, उही चुनिन्छ । जो सम्पत्तिवाल छ, उही सत्तावाल हुँदै छ ।
भोलि राज्यको डाडु–पन्यु हातमा लिने व्यक्ति आज कस्तो कस्तो छान्ने ? दलमा दलालीको आर्जनलाई कति महत्व दिने ? इमान, संघर्ष, मेहनत, लगन, जोस, होसका आधारमा रोल नम्बर तोक्ने कि शक्ति, घराना, धन–सम्पत्ति, अवैध आर्जनका आधारमा ? पार्टीमा वैचारिकलाई अघि बढाउने कि बिचौलियालाई ? पार्टीमा चरित्रवान्लाई अघि बढाउने कि चाकडीबाज या बिचौलियालाई ? पार्टीमा दागीलाई अघि बढाउने कि सादगीलाई ? पार्टीमा अवसरवादी चैतेलाई अघि बढाउने कि संघर्षशील स्वप्नजीवीलाई ? पटक–पटक अवसर पाएर केही गतिलो नगरेका गलित, थकित, पाकित, स्खलितलाई अघि बढाउने कि जोस–होससहितका सक्रिय युवालाई ?
राज्यको मूल नीति राजनीतिको संग्ल्याईविना राज्य सुध्रिने कुनै सम्भावना छैन । अनि राजनीति नामको गाडी चलाउने चालक लाइसेन्स पनि नभएको, सेन्स पनि नभएको हुँदा हुने दुर्घटना नै हो । लाइसेन्स र सेन्सविनाको चालकले पिच सडकमा त सवारी राम्ररी हाँक्न सक्दैन भने दलालीको दलदले हिलो बाटोमा हाँक्न त सक्दैन नै । महाधिवेशनका प्रतिनिधिहरूले छान्ने नेताको अनुहारमा भोलिका सांसद–मन्त्री–प्रधानमन्त्री–राष्ट्रपतिको विम्ब प्रस्ट देखिने हुँदा पहिला पार्टी नै शुद्धीकरणमा जानु जसरी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया