विचार-वार्ता

सम्पादकीय

ती सादगी किसुनजी, यी सर्वहारी नेताजी

इकागज |
पुस ८, २०७८ बिहीबार १६:४९ बजे

आज नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औँ जन्मजयन्ती । निष्ठाको राजनीतिका लागि भट्टराई चर्चित थिए । उनकै प्रधानमन्त्रित्व कालमा नेपालमा २०४७ को संविधान जारी भयो । उनैले संसदीय आम निर्वाचन गराए, तर आफू पराजित भए । भट्टराईलाई हराउन आफ्नै पार्टीभित्र घात भयो । त्यहीँबाट नेपालको राजनीतिमा विकृति र विसंगति पैदा भए ।

दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि आफ्नै पार्टीभित्रको असहयोगले काम गर्न दिइएन, जबकि कांग्रेसले भट्टराई नै अबको प्रधानमन्त्री भनी घोषणा गर्दै चुनावमा होमिएको थियो । सन्त नेताको नामका कारण एकमना सरकार गठन गर्न पुग्ने गरी जनताले भट्टराईलाई आफ्नो मत दिए । तर आधा कार्यकाल पनि पूरा हुन नपाउँदै पार्टीकै अनेक जालझेल जारी रह्यो । भट्टराईले पार्टी फुट्न नदिन आफैँले संसद्‌मा घोषणा गरी राजीनामा दिए ।


भट्टराईले भारतसँग जहिले पनि समदूरीमा सम्बन्ध कायम राखे । सानो देशको प्रधानमन्त्री भनेर भारतले कहिले पनि उनको कार्यकालमा हेप्न पाएन । कहाँसम्म भने २०४६ सालको जनआन्दोलनपश्चात् गठित अन्तरिम सरकारका प्रधानमन्त्री रहेका भट्टराईको भारत भ्रमणका क्रममा टनकपुर सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको थियो भारतले ।

तर भट्टराईले आफू अन्तरिम प्रधानमन्त्री भएको र आम निर्वाचन गराउने मात्र दायित्व रहेकाले यस्ता द्विपक्षीय सम्झौता जननिर्वाचित सरकारले गर्छ भन्दै टारिदिए । यसको अर्थ उनले टनकपुरमा भारतले एकफर्ती ढंगले नेपाली भूमि मिचेर बनाएको एफलक्स बण्ड (बाँध) लाई मान्यता दिलाउन भारतले भरभग्दुर प्रयत्न गरेको थियो । तर निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जलस्रोत मन्त्रालयका प्रतिनिधिसमेत आफ्नो भ्रमण दलमा नलगी भारतले भनेबमोजिम टनकपुर सम्झौता गरिदिए ।

भट्टराईलाई नेपाली राजनीतिमा मात्र होइन, समाजले पनि अहिलेसम्म स्मरण गरिरहेका छन्, श्रद्धा गरेका छन् र सम्मान गर्छन् । कारण, उनको सादगी जीवनशैली र निष्ठापूर्ण राजनीति । नेपाली समाज र नेपालको राजनीतिमा अहिले पनि निष्ठाको ठूलो खडेरी छ ।

दुई, दुई पटक संसद् भंग गरेर पनि राजीनामा नदिने खड्गप्रसाद ओली, आफ्नै पार्टीको वरिष्ठ नेतालाई चुनावमा हराउने गिरिजाप्रसाद कोइराला, ‘जनयुद्ध’का सहयात्रीलाई कारबाही गर्ने, पार्टीबाट निकाल्ने पुष्पकमल दाहाल आदि राजनीतिक पात्रहरूको प्रवृत्तिले आज पनि सन्तनेता भट्टराईको त्यो आचरण, त्यो व्यवहार सम्झना गराएको मात्र होइन, आम नेपाली जनताले नेपाली राजनीतिमा अर्काे कृष्णप्रसाद भट्टराई खोजेका हुन् ।

राजनीति विशुद्ध व्यवसाय भएको छ । राजनीतिमा लागेकाहरूले तीन पुस्तालाई पुग्ने गरी धन कमाएका छन् । धन कमाउन राजनीति नै गर्नुपर्दाे रहेछ भन्ने आम रूपमा सन्देश गएको छ । तर भट्टराई बालुवाटारबाट निवृत्त हुँदा छाता, ट्यांका र सुराही लिएर निस्केको आम नेपालीको मानसपटलमा अद्यापि छ । भट्टराईले कहिल्यै काठमाडौंमा घर बनाएनन् ।

भट्टराईको सापेक्षमा नेपालका अरु नेताहरूको तुलना गर्ने हो भने संघीय गणतन्त्रको अभ्यास गरेको यो साढे चार वर्षको अवधिलाई हेर्न हो भने वडा सदस्य, वडा अध्यक्ष, पालिका प्रमुख वा नगर प्रमुखले समेत काठमाडौंमा घर बनाउन भ्याएका छन् भने प्रदेश र संघीय सरकारमा बस्नेहरू, तिनीहरूको दिनहुँ आरती उतार्नेहरूको समेत हैसियत एकाएक चम्केको छ । आज नेपाली जनताले तिनै भट्टराईले यिनीहरूको सापेक्षमा राखेर सम्झिरहेका हुन् ।

भट्टराई देशप्रेमी थिए, देशभक्त थिए । उनलाई आफू र आफ्नो परिवारका लागि केही गर्नु थिएन । सिंगो नेपाल उनको घर थियो, सारा नेपाली उनका परिवार थिए । यो त्यागको उच्चभाव मात्र होइन, व्यवहार पनि थियो । तर राजनीतिको फोहोरी र घिनलाग्दो खेलमा भट्टराईजस्ता सन्त नेता किन अड्न सक्थे ? त्यही भएर उनकै नाममा जितेको चुनावमा पनि उनले छाड्नु प¥यो । तर पार्टी फुटाउने, संसद् भंग गर्नेजस्ता अराजनीतिक, अनैतिक कृत्य गरेनन् । केपी ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याउने भए भन्ने आशंकाका भरमा प्रतिनिधि सभा विघटन गरिदिए ।

सर्वाेच्च अदालतले विघटनलाई गैरसंवैधानिक भन्दै पुनःस्थापना गरिदियो, फेरि दोस्रोपटक मध्यरातमा विघटन गरे । ओली पनि प्रधानमन्त्री थिए र भट्टराई पनि प्रधानमन्त्रीकै हैसियतमा पार्टी विभाजन नगरी र र संसद् विघटन गरी पदलाई तिलाञ्जलि थिए । यद्यपि ओली र भट्टराईको तुलना हुन सक्दैन । तर एउटा प्रधानमन्त्रीले पदका लागि कुन हदसम्म गिरेर अनैतिक काम गर्न सक्छ भन्ने ज्वलन्त दृष्टान्त ओलीले देखाइदिए । त्यही प्रधानमन्त्री पदमा विराजमान व्यक्तिले मुलुक र जनताका लागि पद तुच्छ हो भन्दै राजीनामा दिए । अझ ओलीको पालामा प्रदेश सरकारका मुख्य मन्त्रीहरूले पदमा टाँसिइरहन कुन हदसम्मका हर्कत गरे, त्यो नेपाली जनताले बिर्सेका छैनन् ।

देश र जनताका लागि बलिदान र त्याग गरेर उच्च आदर्श अनि नैतिकता कायम राखेका व्यक्ति देशका निधि हुन् । उनीहरूको पदचाप पनि आदर्शको मार्गदर्शक बन्न सक्छ । धमिलो राजनीति नै नेपाल र नेपाली जनताको दुर्भाग्य हो । राजनीति सङ्ग्लियो, इमान, आदर्श र नैतिकता छाडेन भने मात्र नेपाली जनताले सुख पाउँछन् । भ्रष्ट नेताकै कारण आज नेपाली जनताले दुःख पाएका हुन् । आशा गरौं, सन्तनेता भट्टराईको पदचाप पछ्याउने अरु नेताहरू पनि देखिउन् । सन्त नेता भट्टराईप्रति हार्दिक श्रद्धाञ्जलि ।


Author

थप समाचार
x