विचार-वार्ता

२०१३ मा बीपीले लेखेको चिठी

काङ्ग्रेसीले जोगीजस्तो निष्काम प्रवृत्ति धारण गर्नुपर्छ

बीपी कोइराला |
पुस १६, २०७८ शुक्रबार १४:३६ बजे

प्रिय साथी ओमप्रसादजी,
देशको परिस्थितिका सम्बन्धमा मैले तपाईंलाई विशेष केही लेखिरहनु पर्दैन । नेपालको व्यवस्था अत्यन्त नाजुक छ । क्रान्तिपछि जुन शक्तिको उदय भएको थियो, त्यो शक्तिलाई कसैले अज्ञानताले र कसैले स्वार्थले दबाउने प्रयत्न गरिरहे, जसले गर्दा देशले जुन उन्‍नति गर्नुपर्थ्यो, त्यो गर्न सकेन । अहिलेको जमानामा क्रान्तिपछि आएको विचार र सिद्धान्तको आधारमा मात्र देशले अगाडि पाइलो चाल्न सक्छ । पुरानो दरबारिया स्वार्थको आधारमा उन्‍नति सम्भव छैन । 

नेपाली काङ्ग्रेस क्रान्तिको प्रतीक र क्रान्तिपछि उदय भएको प्रजातान्त्रिक शक्तिको प्रतीक हो । यो सङ्गठन कमजोर हुनुको तात्पर्य हुन्छ, नेपालको प्रजातान्त्रिक शक्तिको कमजोरी ! यस सत्यलाई हामी सबैले राम्ररी बुझ्नुपर्छ । सानोतिनो स्वार्थपूर्तिका लागि हामी लाग्न थाल्यौँ भने यो सानोतिनो स्वार्थका आधारमा बनेका विभिन्न पार्टीहरूलाई हामीले स्थान दिन थाल्यौँ भने देशले उन्‍नति गर्न सक्तैन । चुनावको दिन पनि आउँदै छ । चुनाव प्रजातन्त्रको मुख्य ध्यान हो । जनताले यस चुनावको राम्ररी प्रयोग गर्नुपर्छ, नत्र भने नेपालको भविष्य धमिलिने डर हुन्छ । यस सत्यलाई राम्ररी बुझेर चुनावको तयारी गर्नुपर्छ । 


तस्बिर स्रोत - विद्यामन्दिर माध्यामिक विद्यालय बाग्लुङको स्मारिका । 

प्रत्येक व्यक्तिले आफ्नो स्वार्थ छाड्नुपर्छ । देशको उन्‍नति हाम्रो लक्ष्य हो, काङ्ग्रेस संस्था हाम्रो साधन हो, हामी सेवक हौँ भन्ने भावना सबैको मनमा हुनुपर्छ । चुनावमा स्वार्थी व्यक्तिहरूलाई मौका दिनु हुँदैन । कति काङ्ग्रेसीको मुखबाट यो चिन्ताजनक कुरा सुनिन्छ, यदि चुनावमा काङ्ग्रेसले भाग लिने अनुमति दिएन (टिकट दिएन) भने स्वतन्त्र भएर लड्छौँ । यदि कसैले काङ्ग्रेसलाई एउटा व्यक्तिगत स्वार्थ साधनको साधन बनाउन खोज्छ भने हामीले त्यसलाई काङ्ग्रेसबाट टाढै राख्नुपर्छ । 

हामी सबैले निःस्वार्थी सेवाको व्रत लिनुपर्छ । गेरूवा रङको लुगा नलगाए पनि हामीले मनमा जोगीको जस्तो निष्काम प्रवृत्ति धारण गर्नुपर्छ । कुनै ठूलो पदमा पुगिन्छ भने पनि हामीमा अभिमान नभएर सेवाभाव हुनुपर्छ । यदि साधारण अवस्थामा रहनुपरे पनि दुःखी नभएर उही सेवाभाव मनमा हुनुपर्छ । यति कुरा गर्न सक्यौँ भने देशलाई हामीले माथि लैजान सक्छौँ । अरु के लेखौँ, साथीहरूलाई ? मैले प्रस्ट देखेको यस कुरालाई सबै साथीहरूलाई पनि सुनाइदिनुहोला ।

साथी, 
विश्वेश्वरप्रसाद कोइराला
श्री ओमप्रसाद थकाली, बाग्लुङ
२४ डिसेम्बर १९५६ (१० पुस २०१३)

‘प्रस्तुत चिठी ओमप्रसाद थकालीका नाममा डिल्लीबजार, मैतीदेवीको ठेगानाबाट १० पुस २०१३ का दिन लेखिएको भेटिन्छ । कोइराला नेपाली काङ्ग्रेसका कार्यकर्तालाई कुन रुपमा हेर्न चाहनुहुन्थ्यो भन्ने यस पत्रले प्रस्ट पारेको छ । आजको वातावरणमा पत्रको अतिरिक्त व्याख्या आवश्यक छैन’ सम्पादक प्रदीप गिरि । 

प्रदीप गिरिको सम्पादनमा बीपी कोइरालाका लेख, भाषण, अन्तर्वार्ता, चिठी, बयान समेटी हालै प्रकाशित पुस्तक 'विश्वेश्वरप्रसाद कोइराला : आधारभूत संकलन'बाट साभार । यो पुस्तक फिनिक्स बुक्सले बजारमा ल्याएको हो । 


Author

थप समाचार
x