सम्पादकीय
विज्ञ मौन, सर्वज्ञ मुखर
इतिहासको सम्यक अध्ययनविना अगाडिको बाटो गन्जागोल नै हुन्छ । व्यक्ति होस् वा राष्ट्र, आफू हिँडिआएको बाटो बेलाबेला पछि फर्केर हेर्नुपर्छ । अनि आफूलाई नपरे पनि अरुको यात्राबाट पाठ सिक्नुपर्छ । किताबी होस् वा सञ्चार दुनियाँ, इतिहासबारे चासो बढेको छ भन्न सकिन्छ । पुस्तकका रूपमा, अखबारी–अनलाइन लेखका रूपमा, अनि विभिन्न फोरममा हुने सार्वजनिक विमर्शमा, इतिहास वर्तमानको मूल मुद्दा पनि बनेको देखिन्छ । यो सुखद पक्ष हो ।
राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा केही विशेष योगदान दिएका व्यक्तिका जन्मजयन्ती अथवा स्मृति दिवसका सन्दर्भमा, प्रसंग इतिहासतिर मोडिइहाल्छ । एकातिर हाम्रा विद्यालय–विश्वविद्यालयमा इतिहासको औपचारिक अध्ययन कम हुँदै गएको छ, अर्कोतिर इतिहासप्रतिको आम चासो भने बढेकै देखिन्छ ।
इतिहासप्रतिको अति चासोमा वर्तमानप्रतिको असन्तुष्टि पनि कारण हो भन्ने एउटा तर्क छ भने अर्कोतिर इतिहासलाई सन्दर्भ सामग्री–टेको सामग्रीका रूपमा लिँदै आफ्ना आकांक्षालाई उकेरा दिने चलन पनि बढ्दो छ । पुराना ऐतिहासिक दस्तावेज खोतल्दै तिनलाई व्याख्या–विवेचना गर्ने संस्कृति बढेको छ तर धेरैजसो लेखकहरू सम्यक दृष्टि र सम्यक विवेचनाको पाटोमा भने चुकेको पनि देखिन्छ ।
इतिहासप्रतिको संख्यात्मक फड्कोलाई गुणात्मक फड्कोमा रूपान्तरण गर्नुपर्ने चुनौती छँदै नै छ । यसबाट आत्तिहाल्नु भने पर्दैन । प्रशंसा र स्तुति वा निन्दा र भर्त्सनाको लेखनबाट माथि उठेर सम्यक् विवेचनाको तलामा उक्लिन समय लाग्छ तर समय लाग्छ भनेर मात्र हुँदैन, त्यो समय ल्याउनेतिर पनि हाम्रो सोच–कदम हुनुपर्छ ।
आज ४६ औं मेलमिलाप दिवस । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक लेखक साहित्यकार बीपी कोइरालालाई साउन ६ गते, भदौ २४ गते, पुस १ गते, पुस १६ गते इत्यादि सन्दर्भमा बाक्लै सम्झना गरिन्छ । तर यी सबै सम्झना–श्रद्धा–श्राद्धहरूमा नयाँपन भने खासै भेटिँदैन । न नयाँ कुरा, न पुरानै कुरामा नयाँ दृष्टिकोण । दुवै छैन भने तिनलाई दोहो¥याइरहनुको अर्थ भने छैन । निरर्थ पनि छैन ।
कुनै पनि व्यक्ति अथवा विषयलाई सांगोपांगो रूपमा बुझ्ने संस्कृति बढ्न सकेको छैन । कुनै व्यक्तिले विभिन्न समयमा दिएका सानासाना अभिव्यक्ति अथवा क्षणिक ससाना कर्मलाई लिएर व्यक्तिको मूल पहिचान यही हो भन्नु उनीहरूप्रति अन्याय हुन्छ । हुन त विज्ञान, गणितमा जस्तो यही हो भनेर ठोकुवा गर्न सकिँदैन ।
समाज विज्ञानको विशेषता भनेकै खुलापन हो, लचिलोपन हो, तर्क–तराजु हो । उदाहरणका रुपमा, बीपीलाई महामानव भनेर पूजा गरिरहनु अथवा मेलमिलापको प्रसंग उप्काउँदै राजावादी भनिरहनु सम्यक समीक्षा होइन ।
आधारभूत रूपमा व्यक्तिको पहिचान र सामर्थ्यको गहिरो अध्ययनबिना आउने विवेचनाले क्षणिक रूपमा वाहवाही बटुले पनि समग्रतामा तिनको प्रभाव सकारात्मक हुँदैन ।
कुनै पनि विषयमा वर्षौं अध्ययन गरेर, त्यसविषयका विभिन्न मतमतान्तर पढेर–गमेर, ती विषयमा अनुसन्धान गरेर व्यक्तिले विज्ञता हासिल गर्छ । तर यो यस्तो उत्तराधुनिक समय हो, जहाँ विज्ञ मौन र सर्वज्ञ मुखर छन् । सञ्चारमाध्यममा पनि सर्वज्ञहरूकै बोलवाला छ । विज्ञ नेपथ्यमा छ, सर्वज्ञ मञ्चमा नाचिरहेको छ ।
यस्तोमा आम सर्वसाधारण के सही, के गलतको दोसाँधमा हुन्छ । दार्शनिक अर्थमा भन्दा सही र गलत भन्ने अवधारणा आफैँ सापेक्षिक होला । कसैलाई सही लागेको कुरा कसैलाई गलत लाग्ला भने कसैलाई गलत लागेको कुरा कसैलाई सही लाग्ला । तर विधागत विज्ञले आफ्नो दृष्टिकोण भने स्पष्ट रूपमा दिनैपर्छ ।
आज बीपी कोइरालासँग सम्बन्धित दिवस भएकाले मात्रै यो प्रसंग उठेको होइन । मूल्यांकन निरपेक्ष र वस्तुनिष्ठताको नजिक भए झनै राम्रो । मौन बस्नु वा उपेक्षा गर्नुभन्दा पक्षपाती भएरै सही, तर्क–वितर्क गर्नु पनि नाजायज भने होइन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया